महोत्तरीमा जताततै डढेलो
महोत्तरी । महोत्तरीका वन क्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ मात्र नभएर चुरे पर्वत श्रेणीका वन क्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हेर्यो डढेका ठुटा र खरानी मात्र देखिन्छ ।
दिनहुँको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन् । डढेलोले वयस्क र पुराना रुख पनि मरेका छन् । वन क्षेत्रका सुकेका रुख समयमा कटान व्यवस्थापन हुन नसक्दा ती पनि डढेर ठुटा बनेका छन् । बर्दिबास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोले रुख, बुटा खरानीमा परिणत भएका छन् ।
डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने तथा वयस्क रुख आगो लागेर सुक्दै गएपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो । ‘अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ’, विपी राजमार्गसँगैको बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्छन्, ‘वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।’
चुरे पहाडी क्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्छ । सागरनाथ वन विकास परियोजनाका प्लट भने बर्दिबासभन्दा गौशाला नगर क्षेत्रमा बढी छ । पूर्वपश्चिम राजमार्ग उत्तर सामुदायिक (राष्ट्रिय) वन र दक्षिणमा धेरैजसो परियोजनाका प्लट छन् । अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्रफल उल्लेख रहे पनि विभिन्न समयमा भएका फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा खुम्चिएको छ ।
बाँकी रहेको वन पनि बर्सेनिको डढेलो र चोरी कटानले अब काटिएका र डढेलोले डढाएका रुखका ठुटा बढी देखिन्छन् । डढेलोले दुई/तीन वर्षयताका बिरुवा डढेपछि पुराना रुख धोद्रिउर बुढिदै जाने र नयाँ बढ्न नपाएपछि वन पातलिँदै गएको वन क्षेत्र नजिकको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउँछन् ।
चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि करिब यतिकै सङ्ख्याका बस्ती छन् । ‘वनकै छेउको बसाइँ छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन’, वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्छन्, ‘बर्सेनि फागुन लागेपछि डढेलोको चिन्ताले कहिल्यै छाडेन ।’
वनका पतिङ्गर खङ्रेर एकैछिनमा डढेलो बढ्ने गरेको लामा बताउँछन् । हिउँदे वर्षाले रुख बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि भने डढेलोले विकराल रूप लिएको बताउँछन् ।
पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर लम्बाइको छ । यसभित्र चार वटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँ जति वन सुरक्षा पोस्ट रहे पनि यो जनशक्ति डढेलो नियन्त्रणमा भने उदासीन देखिएको सर्वसाधारणको गुनासो छ ।
सागरनाथ वन विकास परियोजना प्लटसँगै जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्छन्, ‘वन क्षेत्रमा लाग्ने डढेलो कम मात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासले आगो झोसेरै लगाउने गरेका छन् ।’ बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै नदेखिएको र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई सम्झना नभएको शर्माको भनाइ छ ।
फागुनदेखि नै डढेलो देखिन थाल्छ । ठूलठूला रुखको घर्षणले यदाकदा वनमा आगो सल्के पनि खासमा चाहिँ घाँसे, दाउरे र गोठालाहरूले डढेलो लगाउने गरेका वन सम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउँछन् । फागुन/चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका सहायक वन अधिकृतको सेवाबाट अवकाश लिएका यादवको अनुभव छ ।
जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । अतिक्रमण गरेर घर ठड्याउने र खनजोत गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षाको कुरा निकै चुनौतीपूर्ण बनेको नाम नबताउने वन सम्बद्ध कर्मचारी बताउँछन् ।
वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवर्द्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक हुने डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दास बताउँछन् ।
‘हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन’, उनी भन्छन्, ‘वन क्षेत्र सम्बद्ध स्थानीय तहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र स्थानीय बासिन्दाको पहलकदमी हुन सके डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ ।’
यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण