वर्षौँदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

समाचार सारांश
- कञ्चनपुरमा समयमै निर्माण हुन नसकेका चार वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। यी पुलहरुमा ओदाल खोला, दोदा नदी, मलेरिया नाला र मुसेपानी खोलाका पुलहरु रहेका छन्।
- पुल निर्माणको काम पटक-पटक म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको थिएन, जसका कारण निर्माण कम्पनीलाई हर्जाना तिराइएको छ।
- सडक डिभिजन कार्यालयका अनुसार, असार मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ र बजेट अभाव भएकोले थप रकम माग गरिएको छ।
कञ्चनपुर । जिल्लामा समयमा निर्माण हुन नसकेका चार वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् ।
पटक–पटक म्याद थप भएर पनि समयमा निर्माण हुन नसकेर वर्षौँदेखि अधुरा रहेका चार वटा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार तीन पटक म्याद थप हुँदा पनि निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल निर्माण अन्तिम चरणमा छ ।
“म्याद थप गरेको समयमा समेत निर्माण कम्पनीले काम नगरेपछि १० प्रतिशत हर्जाना तिराएका छौँ”, उनले भने, “यस पटक उक्त पुल निर्माणको काम पनि अन्तिम चरणमा छ।” उक्त पुल निर्माणका लागि २०७३ साल भदौ १७ मा अठार महिनामा सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभिसँग रु पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो ।
समयमा निर्माण नभएपछि उक्त निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालयले दश प्रतिशत हर्जाना तिराएको हो । त्यसै गरी सम्झौताको नौ वर्षपछि कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुली–पर्सिया जोड्ने दोदा नदीको पुल निर्माणको काम पनि अन्तिम चरणमा छ । उक्त पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ । “पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, उनले भने, “यो आर्थिक वर्षभित्र उक्त पुल निर्माणको काम पनि सम्पन्न गर्ने गरी काम भइरहेको छ ।”
त्यसै गरी पाँच पटक म्याद थप भएर पनि निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालापुल निर्माणको काम पनि ५५ प्रतिशत सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीले बताए । उनका अनुसार उक्त पुल निर्माणका लागि २०७४ वैशाख १४ गते अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी शंकर मालि एकेला जेभिसँग रु चार करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो ।
त्यसैगरि बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुल पनि पाँच पटक म्याद थप भएको हो । विसं २०७४ जेठ १० मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी राजेन्द्र लुम्बिनी जेभीसँग रु १५ करोड ४३ लाखमा ठेक्का सम्झौता भएको थियो । “पटक पटक म्याद थप भएर पनि निर्माण हुन नसकेका पुल यस पटक निर्माण सम्पन्न हुँदै छन्”, सूचना अधिकारी जोशीले भने, “असार मसान्तसम्ममा आवतजावत हुने गरी काम भइरहेको छ ।”
उक्त पुल निर्माणको ९२ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । पुलको पहुँच मार्ग निर्माणको काम मात्रै बाँकी छ । पहुँच मार्ग निर्माणका लागि बजेट अपुग भएकाले थप रु चार करोड रकम माग गरिएको उनले बताए । “दोदा नदी र मुसेपानी खोला पुलमा बजेट अभाव भएको छ त्यहीअनुसार हामीले थप बजेट माग गरेका छौँ”, जोशीले भने, “दुवै पुलमा काम चलिरहेको छ असारसम्म सक्ने लक्ष्य छ ।” उनले दोदा पुलका लागि रु १० करोड र मुसेपानी खोला पुलका लागि रु चार करोड बजेट माग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)