बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानमाथिको आक्रमणपछि अमेरिकी राजनीतिमा गहिरो ध्रुवीकरण

डेमोक्रेटिक पार्टीका सांसदको दाबी : ट्रम्पको कदम असंवैधानिक
आइतबार, ०८ असार २०८२, ०९ : ५७
आइतबार, ०८ असार २०८२

सारांश

  • अमेरिकाले इरानका आणविक क्षेत्रहरूमाथि आक्रमण गरेपछि अमेरिकी राजनीतिमा ध्रुवीकरण भएको छ। डेमोक्र्याटहरूले आलोचना गरे, रिपब्लिकनहरूले समर्थन जनाए।
  • डेमोक्र्याट नेताहरूले ट्रम्पको निर्णयको आलोचना गर्दै युद्धको जोखिम बढेको र संसद्को स्वीकृति बिना सैन्य शक्ति प्रयोग गरेको आरोप लगाए।
  • रिपब्लिकन सिनेटरले ट्रम्पको कदमको समर्थन गर्दै इरानलाई आणविक हतियार बनाउन नदिने निर्णयलाई उचित ठहराए, भने डेमोक्र्याट सिनेटरले अनावश्यक युद्धको खतरा औंल्याए।

वासिङ्टन डिसी । इरानका आणविक क्षेत्रहरूमाथि अमेरिकाले गरेको आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई लिएर अमेरिकी राजनीतिमा गहिरो ध्रुवीकरण देखिएको छ। ट्रम्पको कदमको डेमोक्र्याट पार्टीले तीव्र आलोचना गरेको छ भने रिपब्लिकन सांसदहरूले ट्रम्पको कदमको समर्थन गरेका हुन् ।

अमेरिकी संसद्का अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक्समा लेख्दै भने, ‘इरानमाथिको आक्रमणले युद्धको जोखिम निकै बढाएको छ। राष्ट्रपति ट्रम्पले देशलाई आफ्नो नियतबारे झुक्क्याए, संसद्बाट स्वीकृति नलिईकन सैन्य शक्ति प्रयोग गरे र अब सम्भावित विनाशकारी युद्धतर्फ देशलाई तान्ने जोखिम बढाएका छन्।’

उनले थपे, ‘ट्रम्पले एकलौटी निर्णयबाट भएका सबै नकारात्मक परिणामहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ।’

त्यस्तै, डेमोक्र्याट सिनेटर बर्नी स्यान्डर्सले आक्रमणलाई ‘गम्भीर रूपमा असंवैधानिक’ भनेका छन्। ‘अमेरिकालाई युद्धमा लैजाने अधिकार केवल अमेरिकी संसद्लाई मात्र छ। राष्ट्रपतिसँग त्यो अधिकार छैन,’ उनले प्रस्ट पारे।

अर्कोतर्फ, रिपब्लिकन सिनेटर मिच म्याककोनेलले भने ट्रम्पको कदमको समर्थन गरेका छन्। उनले भने, ‘इरानलाई आणविक हतियार बनाउन नदिने ट्रम्पको निर्णायक कदम उचित र साहसिक हो। यो युद्धको उक्साहट होइन, तेहरानका युद्धप्रेमीहरूलाई दिइएको ठोस चेतावनी हो। अमेरिकाको दृढ नीतिलाई इरानले गलत नबुझुन्।’

तर, डेमोक्र्याट सिनेटर मार्क वार्नरले भने ट्रम्पको कदमले अमेरिका अर्को ‘अनावश्यक र दीर्घकालीन युद्ध’मा तानिने खतरा बढाएको बताए। अमेरिका अनावश्यक द्वन्द्वमा नफसोस् भनेर वार्नरले ट्रम्पलाई संसद्मा आएर आफ्नो उद्देश्य र योजना स्पष्ट गर्न आह्वान गरेका छन्।

इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप