शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खेलाडीलाई दैनिक ज्यालादारी मजदुरजस्तो व्यवहार

सोमबार, २३ असार २०८२, १० : ०७
सोमबार, २३ असार २०८२

सारांश

  • सुदूरपश्चिममा क्रिकेटको पूर्वाधार र खेलाडीको अवस्था दयनीय छ, राज्यको उपेक्षाले खेलको भविष्य जोखिममा परेको छ।
  • यू-१६ टोलीको सफलतापछि पनि खेलाडीलाई उचित अवसर र सुविधाको अभाव छ, जसले गर्दा क्रिकेटको विकासमा समस्या आएको छ।
  • प्रशिक्षण शैली र पदाधिकारीहरूको उदासीनताका कारण नेपाली क्रिकेटले प्रगति गर्न सकेको छैन, जसले गर्दा खेलाडीको क्षमता पूर्णरुपमा विकास हुन सकेको छैन।

सुदूरपश्चिमलाई नेपाली क्रिकेटको ‘उर्वर भूमि’ मानिन्छ । यहाँका क्रिकेट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाइरहेका छन् । यद्यपि राज्यले पूर्वाधार निर्माणमा चासो देखाएको छैन । राज्यको उपेक्षाका कारण क्रिकेटको भविष्य नै धरापमा परेको छ ।

हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली युवा टोली स्वदेश फर्कियो । यो विजयले नेपाली क्रिकेट प्रेमीमाझ खुसीको लहरमात्र ल्याएको छैन, एउटा गहिरो चिन्ता पनि जोडिएको छ । उपाधि जितेर फर्किने खेलाडीहरूलाई खादामाला लगाएर, केही हजार रुपैयाँ हातमा थमाएर घर पठाउने प्रवृत्ति छ । यस्तो प्रवृत्तिले नेपाली क्रिकेटको जग बलियो हुँदैन ।

खेलाडीलाई दैनिक ज्यालामा काम गर्ने मजदुरजस्तो बनाइएको छ । काम परेको वेला बोलाउने, प्रतियोगितामा खेलेबापत पैसा दिएर पठाउने, तर त्यसपछि उनीहरू कुन अवस्थामा छन् भनेर राज्यले सोधखोजसमेत गर्दैन । देशका लागि खेल्ने खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन् कि छैनन् भनेर कसैले सोध्दैन ।

यू–१६ टोलीका यी प्रतिभावान् खेलाडीहरूलाई अबको दुई–तीन वर्षसम्म एउटा राम्रो एकेडेमीमा राखेर उनीहरूको पढाइ र खेलको सम्पूर्ण जिम्मेवारी क्रिकेट सङ्घ (क्यान) र सरकारले लिने हो भने नेपालले हालको सिनियर टोलीभन्दा पनि बलियो राष्ट्रिय टोली पाउनेछ । तर, यसतर्फ राज्यले ध्यान दिएको पाइँदैन । प्रतियोगिता जितेर आउने खेलाडीहरूलाई एक–दुई दिन सम्मान गरिन्छ । त्यसपछि घर पठाइन्छ । अर्को प्रतियोगिता नआएसम्म उनीहरूको वास्ता हुँदैन ।

पदाधिकारीहरू धनगढी आउँछन्, आफ्नो भत्ता बुझ्छन् र फर्कन्छन् । खेलाडी र खेल विकासमा उनीहरूको ध्यान शून्य छ ।

यहाँसम्म कि, धूमधामका साथ सम्मान गरेर पठाइएका खेलाडीहरू घर पुगे कि पुगेनन् भन्ने पनि कसैले चासो राख्दैन । उनीहरूको आर्थिक अवस्था कस्तो छ, ब्याटसहित विभिन्न खेल सामग्री किन्न पैसा छ कि छैन भनेर कसैले सोध्दैन । यो लथालिङ्ग अवस्थाले हामी कहिल्यै माथिल्लो स्तरको क्रिकेट खेल्न सक्दैनौँ ।

सुदूरपश्चिमलाई नेपाली क्रिकेट खेलाडी उत्पादनको खानी मानिन्छ, तर यहाँको अवस्था सबैभन्दा दयनीय छ । सुदूरपश्चिमलाई क्रिकेटको उर्वर भूमि भन्छौँ, तर यहाँ एउटा पनि स्तरीय प्रतियोगिता हुँदैन । मधेस प्रदेशमा आफ्नै लिग हुन्छ, अन्यत्र पनि प्रतियोगिता भइरहन्छन् । सुदूरपश्चिम प्रदेशमा त्यस्ता प्रतियोगिता नै हुँदैन । घरेलु प्रतियोगिता हुँदा खेलाडीले सोही अनुसार अभ्यास गर्छ, खेललाई निरन्तरता दिन्छ । सुदूरपश्चिमका खेलाडीहरूले प्रधानमन्त्री कपबाहेक अन्य प्रतियोगिता खेल्न पाएका छैनन् । न यू–१६, न महिला, न सिनियर स्तरमा कुनै व्यवस्थित खेल तालिका छ ।

पदाधिकारीहरू धनगढी आउँछन्, आफ्नो भत्ता बुझ्छन् र फर्कन्छन् । खेलाडी र खेल विकासमा उनीहरूको ध्यान शून्य छ । यही कारणले कुनै वेला राष्ट्रिय टोलीमा चार जना खेलाडी पठाउने सुदूरपश्चिमबाट अहिले त्यस्तो प्रतिनिधित्व दुई जनामा झरेको छ र यो सङ्ख्या शून्य हुन बेर लाग्दैन ।

सुदूरपश्चिममा पूर्वाधारको अवस्था झनै दर्दनाक छ । धनगढीको फाप्ला क्रिकेट मैदानको नाममा बर्सेनि करोडौँको बजेट आउँछ, तर त्यो मैदान कहिल्यै बन्दैन । बजेट बारम्बार फ्रिज हुन्छ । फाप्ला पछिल्लो समय क्रिकेट मैदान कम, पार्किङ स्थल बढी लाग्छ । एउटै मैदानको भरमा क्रिकेट कसरी विकास हुन्छ ? हरेक जिल्लामा कम्तीमा एउटा खेल्न योग्य मैदान हुनुपर्छ । मैदानविना नेटमा मात्र अभ्यास गरेर खेलाडी खारिँदैनन् । जबसम्म खेलाडीले खुला मैदानमा खेल्ने अवसर पाउँदैन, तबसम्म उसको वास्तविक प्रतिभा बाहिर आउँदैन ।

नेपाली क्रिकेटमा अर्को ठुलो समस्या भनेको प्रशिक्षण शैली हो । प्रशिक्षकले फिल्डमा प्राविधिक कुरा सिकाउनुभन्दा पनि मुखले निर्देशन दिन्छन् ।

खेलाडीलाई नगद पैसा दिनुभन्दा उनीहरूको भविष्यका लागि लगानी गर्नुपर्ने खाँचो देखिन्छ । खेलाडीहरूका लागि कम्तीमा चार कुरा आवश्यक छन् । पहिलोमा खेलाडी बीमा । चोटपटक लाग्दा उनीहरूको उपचारको ग्यारेन्टी हुनुपर्छ । दोस्रो विषय भनेको निःशुल्क शिक्षा । खेलसँगै पढाइ नबिग्रियोस् भनेर उनीहरूको शैक्षिक जिम्मेवारी राज्यले लिनुपर्छ । यसैगरी तेस्रोमा एकेडेमीको व्यवस्था हुनुपर्छ । खेलाडीलाई एक वर्षसम्म निःशुल्क एकेडेमी र होस्टेलको सुविधा दिनुपर्छ । चौथो आधारभूत आवश्यकता भनेको यात्रा खर्च हो । प्रतियोगितामा भाग लिन जाँदा लाग्ने खर्च खेलाडीले व्यहोर्नु हुँदैन ।

सरकारले तलब नदिए पनि यी सुविधामात्र दिने हो भने खेलाडीहरू आर्थिक चिन्ताविना खेलमा ध्यान दिन सक्छन् । अहिले खेलाडीले बेहोर्नुपर्ने खर्चको दायित्व उनीहरूको अभिभावकको काँधमा जान्छ । आर्थिक रूपमा सबै अभिभावक सम्पन्न नहुन पनि सक्छन् । गरिब परिवारमै जन्मिएको किन नहोस्, ऊसँग प्रतिभा छ भने देशका लागि खेल्ने मौका पाउनुपर्छ । यसका लागि खेलाडीलाई आर्थिक दायित्वबाट मुक्त राख्न सक्नुपर्छ ।

नेपाली क्रिकेटमा अर्को ठुलो समस्या भनेको प्रशिक्षण शैली हो । प्रशिक्षकले फिल्डमा प्राविधिक कुरा सिकाउनुभन्दा पनि मुखले निर्देशन दिन्छन् । विद्यार्थीलाई ‘क’ लेख्न सिकाउन पहिला शिक्षकले लेखेर देखाउनुपर्छ, मुखले ‘क’ भनेरमात्र हुँदैन । हामी अझै पनि पुरानो शैलीमा छौँ । नयाँ प्रविधि, भिडियो विश्लेषण र आधुनिक फिटनेस तालिमको अभाव छ ।

क्यान र सरकारी पदाधिकारीहरू काठमाडौँको कुर्सीमा बसेर योजना बनाउनुको सट्टा जिल्ला–जिल्लामा गएर धरातलीय यथार्थ बुझ्न जरुरी छ । ‘बजेट सकाउने औपचारिकता’का लागि नभई साँच्चिकै खेलाडीहरूलाई दक्ष बनाउन र खेल विकासका लागि प्रतियोगिता गराइयोस् । जबसम्म पुरानो पुस्ताले नयाँ खेलाडीका लागि ठाउँ छाड्दैन र जबसम्म खेलाडीलाई दैनिक ज्यालादारी मजदुरको रूपमा हेरिन्छ, तबसम्म नेपाली क्रिकेटले टेस्ट राष्ट्र बन्ने सपना देख्नु निरर्थक हुनेछ ।

(सुरेन्द्र सिंहसँग रातोपाटीका लागि सविता बुढाले गरेको कुराकानीमा आधारित । सिंह बझाङ क्रिकेट संघका सचिव एवं प्रशिक्षकसमेत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र सिंह
सुरेन्द्र सिंह
लेखकबाट थप