१० बजे १० समाचार : घुसकाण्डले गुप्ताको राजनीतिक जीवनमै धक्का, भगवतीको भाग्य चम्कियो
सारांश
- मन्त्री राजकुमार गुप्ताले घुस काण्डमा नाम आएपछि राजीनामा दिए, भगवती न्यौपाने नयाँ मन्त्री नियुक्त भइन्।
- सर्वोच्च अदालतले कोशी प्रदेश सभाको ऐनको उपदफा खारेज गर्यो, भिजिट भिसा प्रकरणमा छानबिन जारी छ।
- रास्वपाले रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान चलायो, गृह मन्त्रालयले कर्मचारी सरुवा गर्यो, र पेट्रोलियम पदार्थको मूल्य घट्यो।
काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको ३१ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ–
१. गुप्ताको राजीनामा
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए । घुसकाण्डमा मुछिएर मन्त्री पद गुमाएका उनको राजनीतिक जीवनमै धक्का लागेको छ ।
२. न्यौपानेको भाग्य चम्कियो
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोकेका हुन् । गुप्ताको राजीनामा सँगै उनको भाग्य चम्किएको हो ।
३. कोशी प्रदेश
कोशी प्रदेश प्रदेश सभाले बनाएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८०’ को एउटा दफाको दुई वटा उपदफा नै खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २५ गते उक्त ऐनका दुई उपदफा बदर गर्ने फैसला गरेको हो ।
४. भिजिट भिसा प्रकरण
भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दैछ ।
भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला भिजिट भिसा प्रकरणमा अनुसन्धानको दायरामा छन् ।
५. रातोपाटी सर्वेक्षेण
नेपालको ‘जेन–जी’ पुस्तामा १५ प्रतिशतभन्दा बढीले आफूलाई राजनीतिमा रुचि रहेको बताएका छन् ।
रातोपाटीले केही अघि गरेको मत सर्वेक्षणमा जेन–जी पुस्ताका एक हजार १९ जनालाई प्रश्न सोधिएको थियो– राजनीतिप्रति तपाईंको रुचि कति छ ?
६. रास्वपा
संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधका आधारमा थुनामा राखेको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
विभिन्न सहकारीका बचत रकम अपचलन गरेको आरोपमा लामिछाने अहिले भैरहवा कारागारमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा परेको छ । लामिछानेविरुद्ध काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा परेको हो ।
७. कर्मचारी सरुवा
गृहमन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको हो भने एक सहसचिवको पदस्थापन गरेको हो । यस्तै गृहले मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई प्रवक्ताबाट हटाएको छ ।
८. निगमको निर्णय
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।
९. अवैध कारोबार
अवैधरुपमा किशोरीहरूबाट डिम्ब सङ्कलन गरेर बच्चा जन्माउने प्रयोजनका लागि निःसन्तान दम्पतीलाई बेचबिखन गरेको आरोपमा काठमाडौँका दुई वटा क्लिनिकमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
१०. अध्ययन समितिको सुझाव
सोमबार नेपाल राष्ट्र बैंकले गठन गरेको सुझाव समितिले सोमबार गभर्नर डा विश्वनाथ पौडेललाई प्रतिवेदन बुझायो । रेवतबहादुर कार्की संयोजक र पूर्व बैंकर भुवन दाहाल तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य रहेको सुझाव समितिले करिब एक महिना लामो अध्ययनपछि उक्त प्रतिवेदन बुझाएको हो ।
१३७ पृष्ठ लामो उक्त प्रतिवेदनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमन गर्न अवलम्बन गर्दै आएको विधिमा व्यापक परिमार्जन गर्न सुझाइएको समितिका एक अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण