बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जोगिन्दर पानवालासँग संवाद

‘व्यङ्ग्य गर्नुअघि कलाकारले राजनीति चाहिँ बुझ्नुपर्छ’

शनिबार, १० साउन २०८२, ०९ : ४५
शनिबार, १० साउन २०८२

सारांश

  • लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल 'जोगिन्दर पानवाला'को नामबाट परिचित छन् र उनले दुई दशकदेखि दर्शकलाई हँसाउँदै आएका छन्।
  • रिजालले यस वर्षको गाईजात्रामा 'मिसन नौटङ्की' लिएर आएका छन्, जसमा उनले राजनीतिमा बढ्दो चुनावमुखी नौटङ्कीलाई व्यंग्य गरेका छन्।
  • उनले हास्य कलाकारितामा राम्रो स्कोप रहेको र नयाँ पुस्ताका लागि अवसर रहेको बताएका छन्, तर आफू चुनावमा उठ्ने सोचमा नरहेको उल्लेख गरे।

काठमाडौँ । शिवशंकर रिजाल लोकप्रिय हास्य कलाकार हुन् । तर उनलाई शिवशंकरको नामबाट होइन, दर्शकले ‘जोगिन्दर पानवाला’को नामबाट चिन्छन् । यही चरित्रबाट दुई दशकभन्दा लामो समयदेखि उनले दर्शकलाई हँसाइरहेका छन्, राजनीति र सामाजिक विकृतिमाथि तिखो व्यंग्य गरिरहेका छन् ।

हास्य कलाकारका लागि गाईजात्रा विशेष पर्व हो । हास्य-व्यंग्यले भरिएका गाईजात्रे कोसेली लिएर उनीहरु दर्शकमाझ विभिन्न माध्यमबाट पुग्छन् । त्यो माध्यम भौतिक होस् वा भर्चुअल । उनीहरुको एक मात्र ध्येय हुन्छ, राजनीति र समाजका विकृतिमाथि व्यंग्य गर्दै दर्शकलाई हँसाएर मनोरञ्जन दिनु । 

शिवशंकर रिजाल पनि गाईजात्राको अवसरमा ‘मिसन नौटंकी’ लिएर आएका छन् । उनको यो २२ औं गाईजात्रे कोसेली हो । उनले यसपटक राजनीतिमा बढ्दै गएको चुनावमुखी नौटङ्कीलाई आफ्नो प्रस्तुतिको मुख्य विषय बनाएका छन् । 

यसै सन्दर्भमा रातोपाटीले कलाकार शिवशंकर रिजालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश : 

‘गाईजात्रा’ नजिकिँदै छ । कार्यक्रमको तयारी कस्तो चल्दैछ ? 

‘गाईजात्रा’का लागि भनेर केही दिनअघि मैले गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गरेको छु । त्यसका साथै साउन २४ देखि ३१ गतेसम्म राष्ट्रिय नाचघरले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्दैछ । त्यसमा कलाकार सुरेन्द्र केसी (मुलाको साग) र म जोडीको रुपमा एउटा प्रहसन दिने तयारी गर्दैछौँ ।

तपाईंहरुको प्रस्तुति चाहिं के विषयमा हुँदैछ नि ? 

यस वर्षको प्रहसनमा एउटा डाक्टर (म)ले ‘जोगिन्दर मेडिकल हल’ खोलेको छ भने अर्कोतिर सुरेन्द्र केसीले राज्यले खोल्न नसकेका फाइल खोल्ने ‘प्राइभेट प्रहरी चौकी’ चलाएको छ । 
वीर अस्पतालका डाक्टरले प्राइभेट क्लिनिक खोलेजस्तै प्रहरीले पनि बाँकी समयमा प्राइभेट चौकी चलाउन किन नहुने भन्ने तर्क छ । अन्तिममा यो प्राइभेट चौकीले मदन भण्डारी दासढुंगा काण्ड, राजा वीरेन्द्रको वंशनाश जस्ता फाइलहरु जनताको साथ लिएर खोल्नेछ भन्ने सन्देश दिएर प्रहसन टुङ्गिन्छ । अहिलेलाई यति भनें । 

Shiva Shankar Rijal1

हरेक वर्ष कार्यक्रम गर्दा कत्तिको चुनौती हुन्छ ?

गाईजात्रामा व्यङ्ग्य मात्र गरेर हुँदैन, दर्शकलाई हँसाउनु पनि पर्छ । व्यङ्ग्यमा हास्य मिश्रित हुनुपर्छ । अहिलेका जल्दाबल्दा सामाजिक र राजनीतिक विकृतिलाई व्यङ्ग्यमा ढालेर हँसाउनु फलामको चिउरा चपाउनुजस्तै गाह्रो हो ।

कार्यक्रम गर्दै हुनुहुन्छ त, ‘मिसन नौटङ्की’ चाहिँ किन ल्याउनुभयो ?

मैले २०५९ सालबाट दर्शकका लागि गाईजात्रे कोसेली ल्याउँदै आएको छु । ‘मिसन नौटङ्की’ मेरो २२ औँ कोसेली हो । पहिलो ‘पराध्य’ थियो, जसमा तत्कालीन पाँच पार्टीहरुको आन्दोलनमाथि व्यङ्ग्य गरिएको थियो । बीचमा दुई वर्ष ग्याप भयो । एकपटक ७२ सालको भूकम्पले गर्दा र अर्कोपटक लकडाउनका कारण निकाल्न सकिएन । नत्र त अहिले २४ औँ प्रस्तुति भइसक्थ्यो । पहिले पहिले गाईजात्रे कोसेली हास्य क्षेत्रमा लागेका धेरै कलाकारले निकाल्नुहुन्थ्यो । पछिल्लो समय थोरैले मात्रै निरन्तरता दिएका छन् । तीमध्ये म पनि एक हुँ । 

हरेक वर्ष गाईजात्रे कोसेली ल्याउँदा आर्थिक हिसाबले फाइदा, घाटा के  हुन्छ ?

यस्तो छ, एउटा गीत निकाल्दा त्यो २० औँ वर्षसम्म चल्न सक्छ । तर गाईजात्राको सिजन भनेको एकदम थोरै समय बढीमा एक–डेढ महिनाको हुन्छ । यही सिजनमा केही भ्युअर्स बढ्यो भने लगानी उठ्छ, नत्र लगानी बालुवामा पानी हो । यसमा फाइदा नदेखेर र उल्टै घाटा हुने अवस्थाले गर्दा पनि अहिले धेरैले निकाल्न छाड्नुभएको हो । 

गाईजात्रे कोसेलीमा ७० देखि ९० प्रतिशत राजनीतिक व्यङ्ग्य हुन्छ । यो वर्षको गाईजात्रा  कोसेली अर्को वर्ष सुन्दा मजा आउँदैन, किनकि विषयवस्तु पुरानो भइसकेको हुन्छ । यही कारण पनि पछिल्लो समय यस्ता कोसेली कम आउने गरेका छन् ।

घाटाको बिजनेस किन गर्नुहुन्छ त ?

म हास्य कलाकार हो । मेरो पहिलो धर्म भनेको अरुलाई हँसाउनु हो । यो विषय मैले नाफा र घाटासँग तुलना गर्नुहुँदैन । त्यसरी नियमित कोसेली आइरहेको छ र त म यहाँ छु । दर्शकले चिन्नुहुन्छ, खोज्नुहुन्छ । कोसेलीकै आधारमा कतिपय ठाउँबाट कार्यक्रमका लागि बोलावट आउँछ । कार्यक्रमबाट आम्दानी हुन्छ । प्रत्यक्ष रुपमा फाइदा नदेखिए पनि अप्रत्यक्ष रुपमा फाइदा नै भएको हुन्छ ।

1-IMG_1507

‘मिसन नौटङ्की’को प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

‘मिसन नौटङ्की’ दुई दिनअघि मात्र ओएसआरबाट रिलिज भएको हो । यो धेरैले हेरिसक्नुभएको छ । दर्शक महानुभावबाट ज्यादै राम्रो माया पाएको छु । यसपालि हरेक विषयवस्तुलाई व्यङ्ग्य गरिएकाले पनि विगतमा भन्दा अझै राम्रो प्रतिक्रिया मिलेको छ । कोसेलीमा एउटा प्यारोडी गीत पनि छ, ‘ठूलो दल मिली मिली सानो दललाई जेलमा, बूढाखाँडा नेताहरु चौरासीको खेलमा... नलगाऊ है फुई, सबै नेता उही ।’ यो गीतले झन् सबैको मन छोएको छ ।

‘मिसन नौटङ्की’ नाम किन राख्नुभयो ?

२०७९ को आम निर्वाचन सकिन नपाउँदै राजनीतिक दलहरुले ‘मिसन चौरासी’ भन्न थाले । उनीहरुले चुनावलाई टार्गेट गर्ने बाहेक मिसन असी, एकासी, बयासी, त्रियासीमा देश विकासका लागि यस्ता नीति, भिजन र एजेन्डा ल्याउँछौं भनेर कोही आएनन् । खाली चुनावमुखी टार्गेट मात्रै भयो । जनताको जनादेशबाट आएपछि देशको समृद्धि, उन्नति र प्रगतिका लागि भिजन लिएर आउनुपर्‍यो । जो चुनावको मात्रै टार्गेट गर्छ, त्यो ‘मिसन चौरासी’ होइन, त्यो ‘मिसन नौटङ्की’ हो भनेर मैले यो नाम जुराएको हो । यो नाम सबै रुचाएका छन् । 

‘मिसन नौटङ्की’ सन्देश कडा र यथार्थपरक छ । तर जसलाई व्यङ्ग्य गरियो, उनीहरुले यसलाई गम्भीर रूपमा लिन्छन् त ?

हामीले पहिलेदेखि नै व्यङ्ग्य गर्दै आयौं । सुरुमा लाग्थ्यो, अब राजनीति सुध्रिन्छ र व्यङ्ग्य गर्ने विषय कम हुँदै जाला । तर त्यसको उल्टो भयो । यो साल जति गाली गर्‍यो, अर्को साल त्योभन्दा डबल र चौबर गाली गर्नुपर्ने अवस्था आयो । हिजो १० प्रतिशत राजनीतिक दललाई गाली गर्थ्यौं भने आज १०० प्रतिशत गाली गर्ने अवस्था छ । माहोल झन् बिग्रँदै गयो, जसले गर्दा हामी जनता धेरै दु:खी छौँ ।

देशको राजनीति र नेता पूरै खराब बाटोमा हो भन्ने लाग्छ ? 

देशमा विकास नभएको होइन । राजमार्ग बनेका छन्, गाउँगाउँमा पिच र स्वास्थ्य, शिक्षाको अवस्था राम्रो भएको छ । तर तपाईंले चार लेनको बाटो बनाउनुभयो, त्यो बाटोमा हिँड्ने गाडी र मान्छे नै भएनन् भने त्यसको के अर्थ ? सबैभन्दा पहिला नेपालीहरुलाई देशमै रोजगारी सिर्जना गर्नुपर्छ । वर्षमा ८ देखि १० लाख युवा विदेशिन्छन् र दिनमा चार–पाँचवटा बाकसमा लास फर्किन्छन् । छोरो आउला भनेर पर्खिएका बाआमाले बाकसमा उसको लास देख्नुपर्छ । 

हाम्रो देशमा सबैले रोजगारी पाएर, परिवारसँगै बसेर बिहान-बेलुकाको छाक खान पाउने अवस्था सिर्जना होस् भन्ने सबैको आकांक्षा छ ।

2-IMG_1501

सर्वसाधारणले व्यङ्ग्य प्रस्तुतिलाई कसरी लिन्छन् ?

उहाँहरु भन्नुहुन्छ, ‘तपाईंहरुले जति नै व्यङ्ग्य गरे पनि नेताहरु सुध्रिनेवाला छैनन्, यो दुःखको कुरा हो । तर तपाईंहरुले मनोरञ्जन दिलाउनुभयो । हामी हामी खुसी छौं, धन्यवाद’ भन्छन् ।

नेताहरु पनि कार्यक्रम हेर्न आउँछन् । उनीहरुमाथि गरिएको व्यङ्ग्यले उनीहरुको मनमा छुँदैन ?

आजसम्म कुनै पनि नेताले ‘यस्तो व्यङ्ग्य किन गरेको ?’ भनेर भन्नुभएको छैन । बरु कैयौं नेताहरु गाईजात्रा हेर्न आफैँ टिकट मागेर वा पास मिलाएर आउनुहुन्छ । सायद उहाँहरुले पचाउन सक्ने हुनुभयो वा समग्र प्रवृत्तिमाथिको व्यङ्ग्य भएकाले व्यक्तिगत रूपमा लिनुहुन्न होला । 

हास्यव्यङ्ग्य क्षेत्रमा नयाँ पुस्ताका लागि कत्तिको ‘स्कोप’ देख्नुहुन्छ ?

अहिले कलाकारितामा स्कोप ज्यादै राम्रो छ । नेपालीहरु संसारभरि छरिएकाले हाम्रा फिल्म र कार्यक्रमहरु विदेशमा पनि चल्छन् । अहिले पनि दर्जनौं कलाकार कार्यक्रमको सिलसिलामा विदेशमा हुनुहुन्छ । म आफैं पनि ३१–३२ देश पुगिसकेँ । राम्रोसँग लाग्ने कलाकारले देश–विदेश घुमेर, आफ्नो प्रस्तुति दिएर परिवार पाल्न सक्ने अवस्था छ, यो खुसीको कुरा हो ।

तपाईं राजनीतिमा पनि संलग्न हुनुहुन्छ । ८४ चुनावमा उठ्ने विचार छ कि ?

चुनावमा उठ्ने कुनै सोच छैन । म कुनै संगठनमा लागेको छु भने त्यसलाई आफ्नो कलामार्फत सहयोग गर्नु मेरो कर्तव्य हो । तर कलाकारिता गर्दा आफ्नो धर्म निभाउनुपर्छ । मेरो दल राम्रो, अरु खराब भनेर पक्षपात गर्नुहुँदैन । जसले गल्ती गर्छ, त्यसलाई व्यङ्ग्य गर्न सक्नुपर्छ । कलाकार दलमा लागुन् वा नलागुन्, तर राजनीति चाहिँ बुझ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप