शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती कांग्रेसमा किचलो

लामाविरुद्धको अविश्वास प्रस्ताव सहमतिमा टुङ्ग्याउने प्रयास, आज छिनोफानो !

मङ्गलबार, १३ साउन २०८२, ०७ : ३५
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
  • अविश्वास प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरूप, मुख्यमन्त्री लामालाई राजीनामा गराउने प्रयास गरिएको छ।
  • सहमति नभए मतविभाजन हुने र सोमबारको छलफल मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित भएको थियो।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेस संसदीय दलको नेताबाट हटाउन दर्ता भएको अविश्वास प्रस्ताव सहमतिमा नै टुङ्ग्याउने प्रयास भएको छ । अविश्वासको प्रस्तावमाथि सोमबार दिनभर छलफल भए पनि कुनै टुङ्गोमा नपुगेपछि मंगलबार छिनोफानो गर्ने निष्कर्षमा नेताहरू पुगेका थिए । 

सोमबार अबेरसम्म भएको संसदीय दलको छलफलले संसदीय दलको विवाद सहमतिमा नै टुङ्ग्याउने गरी लामालाई राजीनामा गराउन प्रयास भएको थियो। राजीनामा नदिए मतविभाजन गर्नेगरी सोमबारको छलफल मंगलबार बिहान १० बजे बस्ने गरी स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि राजेन्द्र केसीले सोमबारको छलफलले अविश्वासको प्रस्तावलाई सहमतिमा टुङ्ग्याउने निष्कर्ष निकालेको बताए । प्रक्रियागत विषय टुङ्गो लगाउन भने बाँकी रहेको उनले बताए । 

‘वर्तमान संसदीय दलका नेताले मार्ग प्रशस्त गर्ने भन्ने कुरा सहमतिको आधार हो, त्यसको प्रक्रिया के हुने भन्ने कुरा मिलाउन बाँकी छ,’ उनले भने ।

छलफल सोमबार राति अबेरसम्म चले पनि निष्कर्ष ननिस्किएपछि मंगलबार बिहान १० बजे पुनः छलफल जारी राख्ने गरी बैठक स्थगित गरिएको छ । नेता केसीले यदि सहमति कायम भयो भने अविश्वासको प्रस्तावमा मत विभाजनको अवस्था नआउने स्पष्ट पारे । 

उता, मुख्यमन्त्री लामा पक्षका उपनेता रामकृष्ण चित्रकारले पनि सहमतिको प्रयास भइरहेको र प्रस्तावको प्रक्रियाबारे केही असमझदारी रहे पनि छलफलबाटै टुङ्ग्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘सहमतिको मोडालिटीबारे अन्तिम निष्कर्ष निकाल्न नसके पनि वर्तमान नेताले मार्ग प्रशस्त गर्न सक्नेबारे गम्भीर छलफल भएको छ ।’

शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा बहादुर सिंह लामा तामाङविरुद्ध २१ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । संसदीय दलका ३७ मध्ये १९ जना सांसदको समर्थन भए परिवर्तन सम्भव हुनेमा २१ जनाले हस्ताक्षर गरेपछि राजनीतिक सङ्कट चुलिएको थियो ।

सोमबार भएको छलफल र सहमतिको प्रयासले दलभित्रको विवाद टुङ्ग्याउने सकारात्मक सङ्केत देखिएको छ । दलको नेतृत्व सहमतिमै हस्तान्तरण गरी गठबन्धन व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा अधिकांश नेता सकारात्मक देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप