शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

माओवादीमा ‘सिज फायर’

सोमबार, १९ साउन २०८२, १९ : ३०
सोमबार, १९ साउन २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)भित्रको अन्तरसंघर्ष तत्कालका लागि हल भएको छ । साउन १६ गतेदेखि तीन दिनसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीलाई एकताबद्ध र सदृढ बनाएर लैजाने विषयमा नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । 

सोमबार बैठक सम्पन्न गरेर बाहिरिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएको र सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएको दाबी गरे ।

‘पार्टी एकताबद्ध भएको छ । सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौं,’ उनले भने ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै पार्टीभित्र देखिएको गुटबन्दी र स्वार्थ समूह विघटन भएको जिकिर गरे । पार्टी निर्णयविपरीत गुटबन्दी गर्नेलाई कारबाही हुने उनले बताए । 

‘पार्टी रूपान्तरणको महाअभियानमा छ । पार्टीमा सबै स्वार्थ समूह, गुट/उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णय विपरीत जान्छ भने कारबाहीको दायरमा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउन निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै उनले भने ।

पार्टीको निर्णय कार्यान्वयन भए नभएको अनुगमनका लागि केन्द्रीय कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तल्ला तहका समितिको अनुगमन गर्ने सापकोटाले जानकारी दिए । 

साउन ६ गते नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवसको अवसरमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता मात्रै बाँचेको, एमालेका नेता मनमोहन अधिकारी बाहेक बाँकी नेताहरू असुली धन्दामा लागेको सार्वजनिक अभिव्यक्तिले माओवादीभित्र ठुलै तरंग उत्पन्न भयो ।  

शर्माको अभिव्यक्तिलाई लिएर चिढिएका प्रचण्डले साउन ७ गते आफूले कसैलाई पनि कारबाही नगरेको भन्दै ‘पार्टीभित्र प्रशस्त मात्रामा सिँगौरी खेल्न दिएको’ जवाफ फर्काएका थिए । पार्टीभित्रको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएपछि बैठकको पहिलो दिन प्रचण्डले आत्मालोचना गर्न सचेत नै गराए । 

आन्तरिक मतभेदलाई बाहिर सार्वजनिक गरेकोमा अधिकांश सदस्यहरूले आत्मालोचना गर्न शर्मालाई सुझाव दिए । स्थायी समितिका एकाध सदस्य बाहेक सबै नेतृत्वको प्रतिरक्षामा उत्रिए । तर आइतबार बसेको बैठकमा शर्माले पार्टी निर्माणको सम्बन्धमा प्रश्न उठाउँदा कारबाही भोग्नुपर्ने भए तयार भएको बताए ।

‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ । अरूले भित्रभित्रै यो पार्टी बन्दै–बन्दैन भन्दै हिँडेका छन् । तर पार्टी निर्माणमा मैले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ म तयार छु,’ उनले भने, ‘पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु । जति धकेल्न खोजेपनि म पार्टीमा अडिइरहन्छु । ३१ लाखबाट ११ लाखमा मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । होइन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ ।’

विगत दुई वर्षदेखि उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र प्रश्न उठाउँदै आएका थिए । पार्टी विधि, विधान र पद्धतिभन्दा पनि नेतृत्वको तजबिजीमा चल्ने गरेकाले माओवादी आन्दोलन कमजोर बन्दै गएको उनको आरोप थियो । पछिल्लो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन बोलाउने निर्णय कार्यान्वन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब बढाउँदै लगेका थिए । बैठकको अन्तिम दिनसम्म पनि शर्मा आफ्नो अडानमा कायमै रहे । 

आफू आत्मलोचना गरेर अगाडि बढ्न तयार भएको तर पार्टी कमजोर भएकोमा मूल नेतृत्वले पनि आत्मालोचना गर्नुपर्ने स्पष्ट अडान कायमै राखेको एक नेताले बताए । पार्टीको निर्णय सुनाउने क्रममा अध्यक्ष प्रचण्डले पार्टी र नेतृत्वलाई कमजोर बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा शर्मालाई आत्मालोचना गर्न निर्देशन दिएका थिए । तर उनको निर्देशनलाई शर्माले गोलमटोल जवाफ दिएको ती नेताको भनाइ छ । 

‘अध्यक्ष प्रचण्डले जनार्दनजीले पार्टी र नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर अभिव्यक्ति दिनुभयो । त्यो ठीक छैन भनेर आत्मालोचना गर्न निर्देशन दिनुभयो । विगत चार वर्षदेखि पार्टीको माइन्युटमा हस्ताक्षर नगरेकोमा असन्तुष्टि जनाउँदै आजकै मितिदेखि हस्ताक्षर गर्न निर्देशन दिनुभयो । जनार्दनजीले माइन्युटमा हस्ताक्षर गर्छु भन्नुभयो,’ ती नेताले भने, ‘आत्मालोचनाको विषयमा गोलमटोल जवाफ दिएर टार्नुभयो । त्यसपछि अध्यक्षले आइन्दा पार्टीको आन्तरिक विवाद बाहिर नलैजान निर्देशन दिनुभयो । सबै खलका गुट, उपगट, स्वार्थ समूह विघटन भएको घोषणा गर्नुभयो । अबदेखि पार्टीको निर्णय नमानेमा कारबाहीको दायरामा ल्याउने निर्णय सुनाउनुभयो ।’

प्रवक्ता सापकोटाले पनि आत्मालोचनाको विषयमा शर्माले स्पष्ट जवाफ नदिएको तर माइन्युटमा हस्ताक्षर गर्छु भनेको जानकारी दिए । बैठकको दोस्रो दिन स्थायी समिति सदस्य तथा केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले पार्टीभित्र विधि र पद्धतिको कुरा उठाउने शर्माले नै चार वर्षदेखि माइन्युटमा हस्ताक्षर नगरेकोमा आलोचना गरेका थिए । 

उपमहासचिव हरिबोल गजुरेलले स्थायी समिति बैठकले अन्तरसंघर्ष सापेक्षित रुपमा हल गरेको जिकिर गरे । पार्टीभित्र देखिएका विभिन्न गुट, उपगुट, स्वार्थ समूह विघटन गर्ने निर्णय माइन्युटमै हस्ताक्षर भएकाले निर्णय कार्यान्वयन हुनेमा विश्वस्त देखिए ।

‘स्थायी समिति बैठकको निर्णय राम्रो भएको छ । यसले सापेक्षित रुपमा अन्तरसंघर्ष हल गरेको छ । जहाँसम्म पार्टीभित्र देखिएका गुट, उपगुट, स्वार्थ समूह विघटन गर्ने निर्णय माइन्युटमा हस्ताक्षर भएको छ । यसले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजाने विश्वास छ,’ उनले भने ।

निर्णय कार्यान्वयनका लागि अनुगमन समिति नै बनाउने भनिएकाले आगामी दिनमा समस्या नआउने उनको भनाइ छ । गजुरेलले बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा लचिलो भएको र सामूहिक रुपमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने उच्चस्तरीय संकल्प गरिएकाले सकारात्मक परिणाम आएको जिकिर गरे । आगामी दिनमा निर्णय कार्यान्वयन गरी पार्टी बलियो भएर जाने बताए ।

‘कसले जित्यो वा हार्‍यो भन्दा पनि पार्टी निर्माण गर्न सकैले सामूहिक प्रतिबद्धता वा संकल्प गरेका छन् । पार्टीलाई कमजोर बनाउने गुट, उपगुट, स्वार्थ समूह विघटन गर्न एक मतले प्रतिबद्धता जनाएका छन् । यो पार्टी निर्माणका लागि सुखद पक्ष हो,’ उनले भने ।

सचिव चक्रपाणि खनालले पार्टीभित्र तीन समूह रहेकाले विघटन गर्नुपर्ने प्रस्ताव बैठकमा प्रष्टसँग राखेका थिए । एक नेताले दिएको जानकारी अनुसार खनालले एउटा वैचारिक समूह, दोस्रो स्वार्थ समूह र तेस्रो सुषुप्त समूह सक्रिय रहेकाले पार्टी कमजोर भएको धारणा राखे ।

‘पार्टीभित्र तीन गुट वा समूह छन् । पहिलो वैचारिक समूह छ । जसले मालेमावाद, संगठनको व्यवस्थापन, नीति तथा कार्यक्रममा बहस गर्छ । यस समूहले महाधिवेशनमा विभिन्न फोरमबाट विचार, दर्शन, व्यवस्थापन लगायत विषयमा प्रस्ताव ल्याउँछ । महाधिवेशन सकिएपछि समाप्त हुन्छ ।

दोस्रो, स्वार्थ समूह छ । त्यसले अध्यक्षबाट फाइदा लिन स्वार्थ समूह बनाउँछ । गुट-उपगुट बनाएर बार्गेनिङ गर्छ । तेस्रो, सुषुप्त समूह छ, जुन मौन रहन्छ । कुनै एक नेताले फाइदा हुने कुरा गर्‍यो भने त्यसकै पछि लाग्छ । आ–आफ्ना स्वार्थ पूर्तिका लागि दबाब दिन्छ । यस्ता गुट-उपगुटले पार्टीलाई फाइदा पुग्दैन । त्यसलाई विघटन गर्नुपर्छ भनेर प्रस्ताव राखेका थिए । जुन विषयमा पार्टीले निर्णय गरेको छ । यसले पार्टी बन्छ भन्ने विश्वास पैदा भएको छ,’ ती नेताले भने ।

उपमहासचिव शर्माले बैठकमा उच्चस्तरीय छलफल भएको बताए । वैचारिक, राजनीतिक, सांगठानिक र विधिमा गम्भीर बहस भएकाले निष्कर्षमा पुगेको बताए ।  

‘पार्टीमा गम्भीर छलफल भयो । वैचारिक, राजनीतिक, संगठनात्मक र विधि सबै सन्दर्भमा छलफल भए । ती छलफलको उच्च निष्कर्ष निस्केको छ,’ शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप