बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : प्रचण्ड-माधव मिलन

जनयुद्धकालबाट सुरु भएको मित्रता पार्टी एकतामा बदलिएला ?

बिहीबार, २२ साउन २०८२, १० : २२
बिहीबार, २२ साउन २०८२

सारांश

  • माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको सम्भावना टरेको छ, तर ढिलोचाँडो एकता हुने संकेत छ।
  • दुवै पार्टीका नेताहरूले एकताका लागि कार्यदल बनाए पनि ठोस प्रगति हुन सकेन र २०७९ को निर्वाचनपछि दुरी बढेको छ।
  • एकीकृत समाजवादीमा तीन धार र आन्तरिक द्वन्द्व रहेकाले एकता कठिन भएको र दुवै पार्टीमा विशेष महाधिवेशनको माग उठेको छ।

काठमाडौँ । ‘नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरिहाल्ने निष्कर्षमा हामी पुगेका छैनौँ,’ नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै भने, ‘तर विभिन्न दबाब बढ्दै गएकाले पहिला प्रदेशस्तरका नेताहरूबिच द्विपक्षीय संवाद बढाउनुपर्छ, जसले एकताको आधार तय गर्नेछ ।’

बैठकअघि (साउन ११ र १२ गते) माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सिंहदरबार र खुमलटारमा लगातार दुई दिन भेटवार्ता भएको थियो ।

त्यो भेटवार्तामा प्रचण्डले नेपाललाई पार्टी एकताका लागि निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए । तर, नेपालले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउँदै पहिले सामान्य आधारहरू तयार पार्नुपर्ने जवाफ दिए । नेपालको यस्तो जवाफपछि प्रचण्डले पार्टी बैठकमा एकीकृत समाजवादीभन्दा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पार्टी एकता निकट रहेको ब्रिफिङ गरे । र सोहीअनुसार नेकपासँग एकता गर्ने निर्णयसमेत गराए । 

प्रचण्डले पार्टी बैठकमा गरेको ब्रिफिङ र बैठकले गरेको निर्णयलाई आधार मान्दा तत्काल यी दुई पार्टीबिचको एकताको सम्भावना टरेको देखिन्छ । त्यति मात्र होइन, दुवै पार्टीका नेताहरूले पनि औपचारिक संवादमा यसबारे खासै उपलब्धिमूलक प्रगति नभएको स्वीकार गरेका छन् । यद्यपि, उनीहरू वैचारिक–राजनीतिक स्पष्टतासहित ढिलोचाँडो एकताकै बाटोमा जाने देखिन्छन् ।

यी दुई पार्टीबिच एकताको प्रसङ्ग चलेको झण्डै चार वर्ष भयो । २०७९ को निर्वाचनअघि माओवादीभन्दा पनि एकीकृत समाजवादी एकताका लागि तयार देखिएको थियो ।

‘चार वर्षअघि नै दुवैतर्फ कार्यदल बनेका हुन्,’ माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल भन्छन्, ‘एकताका सम्भावना कहाँ–कहाँ र के–के छन् भनेर छलफल भएका हुन्, तर विभिन्न कारणले थप प्रक्रिया अघि बढ्न सकेनन् ।’

नेता पोखरेल आगामी २०८४ को चुनावअघि नै वैचारिक, राजनीतिक र साङ्गठनिक कार्यदिशामा छलफल गरेर ध्रुवीकरणको दिशामा जानुपर्ने मान्यतामा माओवादी अडिग रहेको बताउँछन् ।

‘२०८४ को चुनावअघि वैचारिक, राजनीतिक, सांगठनिक र कार्यदिशासम्बन्धी विषयहरूमा छलफल गरेर चाँडोभन्दा चाँडो ध्रुवीकरणमा गई एकता होस् भन्ने हामी चाहन्छौँ,’ पोखरेलको भनाइ छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला पनि विगतमा माओवादीसँग पार्टी एकता गर्ने भनेर दुई पार्टीबिच केही गृहकार्य भए पनि त्यसले पूर्णता पाउन नसकेको स्वीकार गर्छन् । ‘एकताका लागि हाम्रो सचिवालय बैठकले पार्टी एकता संयोजन समिति पनि बनायो । वार्ता टोली पनि बन्यो । त्यो वार्ता टोलीलाई डकुमेन्ट ड्राफ्ट गर्ने जिम्मा पनि दिइयो,’ नेता ज्वाला त्यस वेलाको अवस्थाबारे बताउँछन्, ‘ड्राफ्ट पनि भयो । त्यहाँसम्म औपचारिक प्रक्रिया अघि बढेको हो ।’

ज्वालाका अनुसार त्यो प्रक्रिया २०७९ को निर्वाचनअघिको थियो । ‘त्यो चुनावको वेलाको कुरा थियो । माओवादीका तर्फबाट ‘हामीले नेपाली कांग्रेससँग चुनावी तालमेल गरेका छौँ, अहिले नै एउटै पार्टी बनाएर जानुभन्दा अलग–अलग पार्टीको रूपमा चुनावमा जाऔँ र चुनावपछि एकता गरौँ’ भन्ने प्रस्ताव आएपछि त्यसवेला हुने भनिएको एकता रोकियो,’ ज्वालाको भनाइ छ । दुई पक्ष तयार नभई एकता सम्भव नहुने र माओवादी तयार भइनसकेकाले त्यस वेलाको एकता रोकिएको ज्वाला स्मरण गर्छन् ।

‘दुवैले आ–आफ्नो तर्फबाट एकता संयोजन समिति गठन गरेर वार्ता कमिटी पनि बनायौँ । डकुमेन्ट ड्राफ्ट पनि भयो । तर अन्तिममा उहाँहरूबाट नै त्यस्तो प्रस्ताव आयो र स्थगित भयो,’ त्यसवेला एकता हुन नसक्नुको कारणबारे ज्वालाको भनाइ छ । तर, ज्वालाको यो भनाइमा माओवादी केन्द्रका सचिवसमेत रहेका लीलामणि पोखरेल सहमत छैनन् । उनी भन्छन्, ‘२०७९ को चुनावअघि एकता गरौँभन्दा माओवादीले नमानेको भन्ने कुरा गलत हो, यसमा कुनै सत्यता छैन ।’

  • चुनावबाटै बढेको दूरी घट्न सकेन

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबिच गठबन्धन बन्यो । त्यही गठबन्धनका आधारमा स्थानीय र संसदीय चुनाव लडे पनि सोचेअनुसार नतिजा नआएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीमा एकले अर्कोलाई पूर्णतया साथ नदिएको र धोखा दिएको जस्ता टिप्पणीहरू भए । खासगरी एकीकृत समाजवादीले ती निर्वाचनमा गठबन्धनमा भर परेर सबै स्थानमा आफ्ना उम्मेदवार नउठाउँदा धेरै घाटा बेहोर्नुपरेको विश्लेषण गर्‍यो । 

माओवादीले आफूहरूको भोटले समेत कांग्रेस ठुलो दल बन्न पुगेको बतायो । उक्त निर्वाचनमा माओवादी ३२ र नेकपा एकीकृत समाजवादी १० सिटमा सीमित रहँदा कांग्रेस ८९ सिट ल्याउन सफल भयो । चुनावपछि गठबन्धन फेरियो र एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । तर, एमाले–माओवादी सत्ता सहकार्य धेरै समय टिकेन । पुनः कांग्रेस र माओवादीको सत्ता सहकार्य हुन पुग्यो । त्यो पनि धेरै नटिकी २०८१ असारमा कांग्रेस–एमाले गठबन्धन बनेर सरकार बन्ने अवस्था आएपछि प्रचण्ड सरकारबाट हट्नुपर्‍यो ।

 

प्रचण्ड सरकारबाट बाहिरिएपछि फेरि नेकपा माओवादी र एकीकृत समाजवादीसहित अन्य वामपन्थी शक्तिबिच पार्टी एकताको प्रसङ्ग तीव्र बन्यो । यसबिच प्रचण्डले गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाको एक समूहलाई पार्टीमा समाहित पनि गराए । 

सत्ताच्युत भएपछि माओवादी अध्यक्ष प्रचण्डले वामपन्थीबिच ध्रुवीकरण आवश्यक रहेको भन्दै विभिन्न पार्टीसँग एकताको प्रयत्नस्वरूप श्रेष्ठ समूहलाई पार्टीमा भित्र्याएका थिए । 

यस क्रममा विप्लव र नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता गर्न प्रचण्डको जोडबल रहँदै आयो, तर २०७९ को चुनावी नतिजापछि माओवादी र एकीकृत समाजवादीबिच बढ्दै गएको तिक्तता एकीकृत समाजवादीमा कम भइसकेको थिएन । सोही क्रममा एक वर्षअघि तत्कालीन एकीकृत समाजवादीका उपमहासचिव र हाल पार्टी उपाध्यक्ष रहेका जगन्नाथ खतिवडाले माओवादीसँग पार्टी एकता गर्ने कुनै सम्भावना नरहेको धारणा सार्वजनिक गरे, जसले माओवादीलाई थप चिढ्यायो । 

त्यसअघि सो पार्टीको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालले राजनीतिक प्रतिवेदनमार्फत तत्काल पार्टी एकताको साटो आफ्नै पार्टी मजबुत बनाउने प्रस्ताव अघि सारेका थिए ।

‘२०८१ साउनमा पनि दुई पार्टीबिच पार्टी एकताको बहस चर्को भएको हो,’ माओवादीका एक केन्द्रीय पदाधिकारी भन्छन्, ‘तर एकीकृत समाजवादीका प्रवक्ताले पार्टी एकता हुनै सक्दैन भनेपछि आपसमा दूरी बढ्यो र सम्बन्ध थप चिसिँदै गयो ।’ त्यसपछि दुवै पार्टी आ–आफ्नै पार्टी विस्तारमा लागे । ती नेताका अनुसार एकीकृत समाजवादीमा तीन धार रहेका कारण पनि एकता गर्न कठिन भएको हो । ‘एकीकृत समाजवादीमा तीन धार छ: कोही एमालेसँग नजिक, कोही माओवादीसँग र कोही आफ्नै पार्टी बलियो बनाउनुपर्छ भन्ने छन्, जसले गर्दा हाम्रो पार्टी एकताको प्रयास अघि बढ्न सकेन ।’

एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडा हतारमा पार्टी एकता गरेर केही समयपछि फुट्नुभन्दा अलग–अलग बसेर नै मित्रतालाई दरिलो बनाउनु उचित हुने बताउँछन् । ‘पार्टी एकता नै गरेर जानुपर्ने स्थिति आए थुप्रै राजनीतिक, सैद्धान्तिक विषयमा एकरूपता कायम हुनुपर्छ,’ उनी तर्क गर्छन् ।  

भुसालले टाउकामा मात्र एकता गर्दा असफल हुने भन्दै एमाले–माओवादी एकताको उदाहरणसमेत आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

मजबुत एकताका लागि व्यवहारमा समेत भावनात्मक एकता जरुरी रहेको खतिवडाको भनाइ छ । ‘त्यसका निम्ति प्रगाढ सम्बन्ध र सुमधुर व्यवहारको पनि जरुरी पर्छ,’ खतिवडाले रातोपाटीसँग भने, ‘नेतृत्वसहित कार्यकर्ता तहमा पहिला मन माझामाझ गर्दै एकताको आधार तयार गर्नुपर्छ ।’

  • नेकपाबाट सिक्न भुसालको सुझाव

पार्टी एकताबारे बहस चलिरहँदा र नेताहरूले आ–आफ्नै दाबी गरिरहँदा ०८१ साउन अन्तिम साता बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा महासचिव भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा जुनसुकै पार्टी एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख थियो ।

‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो, तर व्यावहारिक रूपमा त्यो सम्भव छैन,’ भुसालले पेस गरेर पारित प्रतिवेदनमा भनिएको थियो, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ ।’ तर, आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउने र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्न सक्ने भुसालको निष्कर्ष थियो ।

माओवादीका उपमहासचिव पोखरेलको भनाइ पनि दुई पार्टीबिचको एकता प्रक्रिया आत्मगत र वस्तुगत परिस्थितिको विश्लेषणका आधारमा मात्रै हुन सक्छ भन्ने छ ।

भुसालले टाउकामा मात्र एकता गर्दा असफल हुने भन्दै एमाले–माओवादी एकताको उदाहरणसमेत आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

 ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण ०७५ सालमा भएको एमाले र माओवादीबिचको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ भुसालको प्रतिवेदनमा लेखिएको थियो, ‘त्यस घटनाबाट हामीले धेरै कुराको पाठ सिक्नुपर्नेछ ।’

माओवादीका उपमहासचिव पोखरेलको भनाइ पनि दुई पार्टीबिचको एकता प्रक्रिया आत्मगत र वस्तुगत परिस्थितिको विश्लेषणका आधारमा मात्रै हुन सक्छ भन्ने छ । ‘आत्मगत कोणबाट हेर्दा दुवै पार्टीका नेता–कार्यकर्ता बसेर संवादको शृङ्खला सुरु गरिरहेकाले एकताको विषय सकारात्मक नै छ भनेर मान्नुपर्छ,’ पोखरेल भन्छन्, ‘यस्तो अवस्थामा सम्भावनालाई ठिक ढङ्गले पक्रिएर लैजाने काम नेतृत्वको हुन्छ ।’

यसो गर्दा सैद्धान्तिक–वैचारिक मन्थन पनि जरुरी रहेको उनको भनाइ छ । ‘यसो गर्दै जाँदा जब हामी सघन ढङ्गले अघि बढ्छौँ, त्यसपछि सैद्धान्तिक–वैचारिक पाटोको मन्थन पनि हुन्छ,’ पोखरेलले भने, ‘अहिले एक ठाउँमा पुगिनसकेको अवस्थामा सैद्धान्तिक–वैचारिक एकरूपता सघन संवादबाटै हुन सक्छ ।’

दुई पार्टीबिचको एकताका लागि कार्यदिशा महत्त्वपूर्ण हुने पोखरेलको बुझाइ छ ।

‘नेपाली विशेषताको समाजवादका सवालमा छलफल गर्दै एक ठाउँमा पुग्नुपर्छ भन्ने लगभग समान बुझाइ छ, तर पथप्रदर्शकजस्ता विषयहरूमा हाम्रो छलफल प्रवेश नै गरेको छैन,’ उनले भने, ‘पार्टी निर्माणको मोडेलका सन्दर्भमा पनि छलफलहरू बाँकी छन् । यसको अर्थ जनआधारित पार्टी निर्माणमा समानता भए पनि क्याडरबेस्ड पार्टी कि मासबेस्ड क्याडरबेस्ड पार्टी ? भन्ने महत्त्वपूर्ण विषय छ, जसमाथि हामीले छलफल गर्नुपर्ने हुन्छ ।’

  • कार्यदल बने, तर काम गरेनन्

मोर्चा नै बनाएर अघि बढेका माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा सम्मिलित ‘समाजवादी मोर्चा नेपाल’ले एक वर्षअघि, अर्थात् २०८१ साउन १ मा पार्टी एकता गर्न भन्दै कार्यदल गठन गरेको थियो । 

उक्त कार्यदलमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेसपा अध्यक्ष महेन्द्र यादव थिए । चारवटै पार्टीबिच एकता गर्ने भनिए पनि त्यो सम्भव भएन । 

यो कार्यदलले माओवादीका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ सम्मिलित अर्को कार्यदललाई दस्ताबेज तयार पार्न खटाएको थियो, तर उक्त कार्यदलले अहिलेसम्म चार पार्टीबिच एकताका लागि ठोस दस्ताबेज तयार पार्न सकेन । यद्यपि, श्रेष्ठ माओवादी केन्द्रमा समाहित भइसकेका छन् । 

त्यसअघि २०७९ भदौ १ मा एकीकृत समाजवादीले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरेको थियो । सोही वर्षको पुस २१ गते एकीकृत समाजवादीले समितिलाई पूर्णता दिँदै नेता वेदुराम भुसाल, गंगालाल तुलाधर र विजय पौडेललाई समावेश गराएको थियो । त्यसको दुई दिनपछि पुस २३ मा माओवादी केन्द्रले पनि एकता कार्यदल गठन गर्‍यो । माओवादीले नेता कृष्णबहादुर महराको संयोजकत्वमा देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेलसहितको कार्यदल बनाएको थियो ।

  • आन्तरिक द्वन्द्वमा दुवै दल

एकताको चर्चा चल्दै र सेलाउँदै गरे पनि माओवादी र एकीकृत समाजवादीका दुई नेता, अध्यक्ष प्रचण्ड र माधव नेपालबिचको मित्रता पुरानै हो । जनयुद्धकालमै मित्रता कायम गरेका यी दुई नेताले २०७५ पछि एमाले र माओवादी मिलेर बनेको नेकपाकालमा पनि पुरानो मित्रतालाई कायमै राखेका थिए ।

नेकपामा रहँदा केपी ओलीसँगको अन्तर्द्वन्द्वमा पनि प्रचण्ड–नेपाल एकै कित्तामा उभिए । नेकपा विभाजनलगत्तै प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै पार्टीको हैसियतमा पुग्यो भने माधव नेपालले २०७८ भदौमा नेकपा (एकीकृत समाजवादी) गठन गर्न पुगे । 

त्यसपछि २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेका प्रचण्ड र माधव नेपालले पछिल्ला वर्षहरूमा पार्टी एकताका लागि पटक–पटक गरेका प्रयास भने सफल हुन सकेनन् । अहिले प्रचण्ड नेतृत्वको माओवादी र नेपाल नेतृत्वको एकीकृत समाजवादीभित्र केही विषयमा समान अन्तद्र्वन्द्व पनि देखिन्छन् । दुवै दल प्रतिपक्षमा छन् भने सँगसँगै उनीहरू आन्तरिक किचलोको सामना पनि गरिरहेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीमा आन्तरिक लोकतन्त्रको प्रश्न उठाउँदै टक्कर दिइरहेका छन् भने एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालले पार्टी नेतृत्व गर्न नेपाल असफल भइसकेको टिप्पणी गर्न थालेका छन् । 

अर्कोतिर, अध्यक्ष नेपालले प्रधानमन्त्री रहँदा गरेको निर्णयका कारण पतञ्जलि जग्गा खरिद प्रकरणमा भ्रष्टाचारको मुद्दा झेलिरहेका छन् । यसले पनि उनीमाथि नैतिक सङ्कट थपिँदै गएको छ । 

अर्को समान विशेषता भनेको दुवै पार्टीमा विशेष महाधिवेशनको माग पनि उठेको छ, तर प्रचण्ड र नेपाल यो माग पूरा गर्न तयार छैनन् । बरु दुवैलाई आइपरेको सङ्कट टार्न पार्टी एकता गरिदिए आधा समस्या समाधान हुने दुवैको समान बुझाइ देखिन्छ । 

तर, प्राविधिक र लाभ–हानिको विषय मिल्न नसक्दा उनीहरूको मित्रता पार्टी एकतामा परिणत हुन नसकेको दुवै पार्टीका नेताहरू अनौपचारिक कुराकानीका क्रममा बताउँछन् । प्रचण्डलाई एकीकृत समाजवादीसँग पार्टी एकता नगर्न अर्थपूर्ण दबाब नभए पनि नेपालले भने माओवादीको साटो एमालेसँग एकता गर्नु उचित हुने भन्दै एकथरी नेता–कार्यकर्ताबाट चर्को दबाब झेलिरहेका छन् । 

‘हामीले पार्टी गठन गरेपछि माओवादीसँग एक प्रकारको सहकार्य भए पनि त्यो भरोसायोग्य हुन सकेन,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘स्थानीय र आम निर्वाचनमा भएको सहकार्यले एक–अर्कालाई नजिक बनायो, माधव नेपाल र प्रचण्डको मित्रता पनि सम्झनयोग्य रह्यो ।’ जनयुद्धकालदेखिकै प्रचण्ड–नेपालबिचको सम्बन्धले विगतमा सहकार्य भए पनि २०७९ को निर्वाचनपछि आफूहरूलाई अवमूल्यन गराएको अनुभव रहेको एकीकृत समाजवादीका धेरै नेताहरू बताउँछन् । 

‘माओवादीले हामीलाई एमाले ताछ्न प्रयोग गर्ने तर अघि बढ्न सहयोग नगर्नेजस्तो महसुस भयो,’ ती नेताले भने, ‘स्थानीय निर्वाचनमा गठबन्धनका नाममा धेरै पालिकामा उम्मेदवारी दिन पाएनौँ, त्यसको असर आज पनि भोगिरहेका छौँ ।’ यस्ता धेरै कारणले माओवादीसँग एकता गर्न उत्साहित नभएको ती नेताको भनाइ छ ।

‘एकताको आवश्यकता छ भन्ने कुरा हामीले पनि महसुस गरेका छौँ, तर विगतका घटनाक्रम र व्यवहार हेर्दा हामी उत्साहित हुनै सकेका छैनौँ,’ उनले रातोपाटीसँग भने, ‘एकताको हात बढाइहाले पनि प्रत्युत्पादक हुने हो कि ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप