शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एमाले बैठकमा ‘तमासा’, १३ दिनदेखि ठप्प रसुवागढी सडक कहिले आउँछ सञ्चालनमा ?

बिहीबार, २९ साउन २०८२, ०० : ००
बिहीबार, २९ साउन २०८२

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एमाले बैठकमा ‘तमासा’

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक केही विवाद र भनाभनका बिच सम्पन्न भएको छ । बैठक सहभागी कतिपयले पार्टीको केन्द्रीय समिति बैठकले पठाएको अन्तरपार्टी निर्देशन (अपानि)को ६ नम्बर बुँदा सच्याउनु पर्ने माग गरेका थिए ।

२. ७२ जना सहसचिवको सरुवा

सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उक्त संख्यामा सहसचिवहरूको सरुवा गरको हो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

३. मल वितरणको नयाँ कार्यविधि

‘गोदाममा मल छ भन्छन्, हाम्रो खेतमा कहिल्यै आइपुग्दैन । पहुँचवालाले मात्रै पाउँछन्, हामीले त लाइन लागेर रित्तै फर्किनु हो । कालोबजारीमा दोब्बर–तेब्बर मूल्य तिरेर किन्नुपर्छ, नत्र बाली नै बिग्रिन्छ ।’ यी शब्दहरू नेपालका लाखौँ किसानका लागि वर्षौंदेखिको साझा पीडा र नियति हो । 

४. रसुवागढी सडक

बाढीले पुनः क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक १३ दिनदेखि ठप्प छ । चीनतर्फबाट भोटेकोसीमा आएको बाढीले बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै दुई साता लाग्ने देखिएको छ । 

५. काठमाडौँ प्रहरीको पत्रकार सम्मेलन

प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ विश्व अधिकारी ६ महिनादेखि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख छन् । २०८१ माघ १५ मा उनले काठमाडौँ प्रहरीको कमाण्ड समालेका थिए । मुलुकको राजधानी काठमाडौँको अपराध नियन्त्रण गर्न र अपराधीसम्म पुग्न उनले नयाँ ढङ्गले सूचना सङ्कलन गर्ने गरेको बताएका छन् । काठमाडौँ प्रहरी प्रमुखको रूपमा ६ महिना काम गरेपछि बुधवार उनले पत्रकार सम्मेलन गरेर मोटरसाइकल वर्कशपका सञ्चालक र र कामदारहरूबाट सूचना लिएर काम गर्ने गरेको बताए ।

६. संसद्मा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे संसद्मा उनले  फेहरिस्त प्रस्तुत गरे । 

७. सुनकोशी–मरिण आयोजना 

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कम्पनी  रमण कन्स्ट्रक्सनको चरम लापरबाहीको कारण बाँध अलपत्र बनेको छ । आयोजनाको सबैभन्दा महत्त्वपूर्ण मानिएको बाँध र विद्युत् गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरले काम गर्न नसकेको कारण आयोजनाको कामले गति लिन नसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । 

८. कर्णालीमा किचलो

कर्णालीको सत्तामा एउटा अनौठो घम्साघम्सी छ । यहाँ सरकारमा रहेकै दल कहिले सरकार छाड्ने धम्की दिन्छ, कहिले संसद् अवरुद्ध गर्छ । एउटै मन्त्रिपरिषद्को बैठकमा रहे पनि सहयात्री दल मन्त्रिपरिषदकै निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै हिँड्छ ।

९. ‘डिजिटल नेपाल फ्रेमवर्क’ 

देशको डिजिटल पूर्वाधार र सेवा प्रवाहमा कायापलट गर्ने भन्दै छ वर्षअघि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ नामक कार्यक्रम अघि सार्‍यो । पाँच वर्षभित्र कार्यान्वयन सक्नेगरी ल्याएको उक्त फ्रेमवर्कको कार्यान्वयन यो अवधिमा लगभग शून्यप्रायः रह्यो । कुल १ खर्ब ७ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको उक्त फ्रेमवर्क कार्यान्वयनमै गएन ।

१०. वैकल्पिक वित्त परिचालन

वैकल्पिक वित्त परिचालनका लागि सरकारले ल्याएको विधेयक यतिवेला प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा छ । र यसलाई समितिबाट फास्ट ट्रयाकमा पास गर्नेगरी सरकार लागिपरेको छ । दफावार छलफल भइरहेको बाफियासम्बन्धी विधेयकलाई छाडेर समिति ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पहिला पास गर्ने दाउमा छ । 

११. अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन

नेपालको इन्धन आपूर्तिमा रणनीतिक महत्त्व राख्ने अमलेखगञ्जस्थित पेट्रोलियम डिपोको दोस्रो चरणको पाइपलाइनमा प्राविधिक समस्या देखिएको छ । नेपाल आयल निगमले यसलाई ‘सामान्य’ समस्याको रूपमा व्याख्या गर्दै इन्धन आपूर्तिमा कुनै असर नपर्ने दाबी गरेको छ । 

१२. जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता घोषणा हुँदै

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच कार्यगत एकता हुने भएको छ । दुई दलबिचको कार्यगत एकताको बिहीबार घोषणा हुने जसपाका एक नेताले रातोपाटीलाई जानकारी दिएका हुन् ।

  • थप समाचारहरुः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप