बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

सत्ताको चाबी अर्कै हातमा जाने स्थिति देख्छु : सुदन किराती

सोमबार, ०२ भदौ २०८२, १७ : ००
सोमबार, ०२ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रको स्थायी समिति बैठकले गुट, उपगुट तथा स्वार्थ समूह विघटन गर्ने निर्णय गर्यो, तर कार्यान्वयनमा आशंका छ।
  • पार्टीभित्र विधि र विधानको अभाव रहेको र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।
  • नेता सुदन किरातीसँगको कुराकानीमा पार्टीभित्रको समस्या, चुनौती र समाधानका उपायबारे चर्चा गरिएको छ।

नेकपा माओवादी केन्द्रको साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले गुट, उपगुट तथा स्वार्थ समूह विघटन गर्ने निर्णय गर्‍यो । बैठकले निर्णय नमान्नेलाई कारबाहीको दायरामा ल्याउने गरी अनुगमन समिति गठन गर्ने निर्णय समेत गर्‍यो ।

स्थायी समिति बैठकका निर्णयलाई नेताहरूले ऐतिहासिक भएको दाबी गरेका छन् । यद्यपि निर्णय कार्यान्वयन हुनेमा नेताहरू नै विश्वस्त देखिँदैनन् । बैठकले गरेका निर्णयको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल गर्न मंगलबार पार्टीको पदाधिकारी बैठक बस्दैछ ।

आगामी केन्द्रीय समिति बैठकबाट समेत पार्टीभित्रको अन्तरविरोध हल नहुने देखिएको छ । यसै वर्ष महाधिवेशन हुनेमा आशंका कायमै छ । आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै २०८४ मा हुने आम निर्वाचनमा पार्टीले अपेक्षाकृत उपलब्धि हासिल गर्न सम्भव छ ? यस विषयमा माओवादीका सांसद तथा केन्द्रीय सदस्य सुदन किरातीसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, किरातीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • माओवादी केन्द्रको पछिल्लो स्थायी कमिटी बैठकले पार्टीभित्र देखा परेका स्वार्थ समूह, गुट–उपगुट विघटन गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयन कत्तिको सम्भव छ ?

यो अपरिपक्व ढंगले कोसिस गरिएको देखिन्छ । स्वार्थ समूह कुन हो र कुन होइन भन्ने यकिन छैन । भित्र एउटा र बाहिर अर्को कुरा गर्ने, अनि बाहिरको पावर लिएर भित्र पद भजाउने स्वार्थ समूह हो । भित्र र बाहिर एउटै कुरा गरेर समग्र पार्टीलाई रूपान्तरण गर्नुपर्छ भन्नेचाहिँ विचार समूह हो । कुन विचार समूह हो र कुन स्वार्थ समूह हो, त्यो यकिन भएन । तर, स्थायी समितिको बैठकले पार्टी फुट्छ भन्ने हल्लाको अन्त्य भयो । यो एउटा नयाँ सन्देश दियो ।

  • तपाईंहरूले नेतृत्वलाई घेराबन्दी गर्नुभयो, भित्रको कुरा बाहिर छताछुल्ल पार्नुभयो, पार्टीलाई कमजोर पार्नुभयो र नेतृत्वलाई खुइल्याउनुभयो भन्ने आरोप छ, के हो खासमा ?

स्थायी समितिको बैठकको सर्कुलर बाहिर दिने को हो ? तलको कार्यकर्ताले दिएको होइन होला । यो केही प्रश्न उठाउने मान्छेमात्रै त होइन होला । स्थायी समितिको निर्णयको सर्कुलर हुबहु जसरी मिडियामा गयो, त्यो त पार्टी विधि, पद्धतिविपरीत नै होला नि ! भनेपछि गडबडी कहाँबाट छ भन्दा गडबडी मुहानबाट छ भन्ने बुझिन्छ ।

  • तपाईंले मुहानबाट समस्या आएको भन्नुभयो तर संस्थापन पक्षले ‘एक समूह पार्टी बनाउनुभन्दा पनि गुटबन्दी गर्ने र कमजोर पार्ने खेलमा मात्रै लाग्यो’ भन्ने आरोप लगाउँदै आएको छ नि ?

त्यस्तो होइन । एउटा विधिसम्मत चल्ने पार्टीले मात्रै विधानसम्मत देश चलाउन सक्छ । विधिसम्मत र अनुशासित पार्टीले मात्रै जनताको विश्वास लिन सक्छ, तर आज हाम्रो पार्टीमा विधि छैन, विधान छैन । विधि र विधानको आधारमा चलाउँ भन्ने कुरा मात्रै हो । सहज ढंगले बुझ्न सकिन्छ कि माओवादी पार्टी शान्ति प्रक्रियासँगसँगै संसदीय निर्वाचनमा भाग लिएर आउँदा ३१ लाख भोट थियो । त्यो आज ११ लाखमा झर्‍यो । १२० सिट प्रत्यक्षमा जितेको पार्टी आज कांग्रेससँग गठबन्धन गर्दा पनि १८ सिटमा किन अड्किनुपर्‍यो ? निरन्तर रकेटको गतिमा ओरालो झर्ने यात्रा जारी छ भने हाम्रो पार्टीभित्रको रोग पहिचान गरेर त्यसको निदान गर्नुपर्दैन ? प्रश्न यो हो ।

  • माओवादीभित्र एउटा विचार समूह, अर्को स्वार्थ समूह र तेस्रो प्रतिक्रिया नजनाउने तर आफ्नो स्वार्थ र फाइदाका लागि कुनै व्यक्ति वा पक्षतिर दौडिने सुसुप्त समूह छ भन्ने सुनिन्छ, के यो सत्य हो ?

प्रवृत्तिको हिसाबले विश्लेषण गर्दाखेरि सायद तपाईंले भनेको जस्तो तीनवटा प्रवृत्ति होला । यसको नेतृत्व गर्ने हिसाबले हेर्नुहुन्छ भने समूह, गुट र उपगुटको नाममा धेरै वटा छन् । यो फेरि हाम्रो पार्टीमा मात्रै होइन अहिले । समग्र नेपाली समाजको प्रतिबिम्ब पार्टीमा हुने गर्छ र नेपालका सबै पार्टीहरूमा यस्तै छ । एउटै घरपरिवारले चलाएको पार्टी पनि अहिले विभाजन भइराखेको छ । यसो हेर्दै जाँदा समाजमा आमा समूहसम्म पनि विभाजित भइराखेको छ । किन होला भन्दा, यो समाजको प्रतिबिम्ब हो । समाज शान्त छैन भन्ने बुझ्नुपर्छ ।

  • तपाईंहरूले जुन विधि, प्रक्रिया, पार्टी निर्माणको कुरा जसरी उठाइरहनु भएको छ, त्यो हुँदा पनि जनतामा पार्टीले सोचेअनुसारको आकर्षण बढेको देखिँदैन, समस्या कहाँ छ ?

सरकार छोडिसकेपछि हाम्रो कारणले मात्र नभएर वर्तमान सरकारले गरेको क्रियाकलापको कारणले स्वाभाविक रूपमा हामीतिर आकर्षण बढेको थियो । तर हाम्रो पार्टीलाई विधिसम्मत चलाउन नसक्दा त्यो आकर्षण बालुवामा लेखेको अक्षरजस्तै हुँदै गयो । बतास चल्दै गयो, त्यो मेटिँदै गयो । त्यसकारणले विधिसम्मत नै पार्टीलाई चलाउनको निम्ति काम गर्नेलाई पुरस्कृत, नगर्नेलाई दण्डको व्यवस्था नगरी पार्टी राम्रोसँगले चल्दैन । साधु पनि यहीँ, चोरचण्डाल पनि यहीँ भएपछि हुँदैन । सही मूल्याङ्कनको मापदण्ड नहुँदा पनि समस्या देखिएको हो ।

  • प्रचण्डको विकल्प खोज्नुपर्छ भनेर नेतृत्वमाथि घेराबन्दी गर्न खोजिएको आरोप छ नि ?

विधिको कुरा गर्दाखेरि मुख्य नेतृत्वलाई नै विस्थापन गर्ने एजेन्डा लगाएर विभाजनको आरोप लगाएर लखेट्न खोज्ने प्रवृत्ति हावी हुन खोज्दैछ । यो कम्युनिस्ट आन्दोलनमा घातक प्रवृत्ति हो । न लेखेट्दा लखेटिने, न त आफैँ भाग्ने, दुईटै प्रवृत्ति हुनुहुँदैन । अहिले विधिको प्रश्नमात्रै हो ।

  • पार्टीभित्र प्रचण्डको विकल्प खोज्नुपर्छ भन्ने एउटा पक्ष र विकल्प खोज्ने बेला भएको छैन भन्ने अर्को पक्ष छ । भोलि प्रचण्डसँगै पार्टी पनि सकिने स्थितिमा पुगेको हो ?

यो यहाँमात्र होइन, संसारभरको कम्युनिस्ट आन्दोलनमा भन्दै आएको र गरिँदै आएको विषय हो । तर आज नेपालमा हामी माओवादीहरूले त्यस्तो गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो । आज विधिको कुरा गर्दा विकल्पको कुरा कसले गर्दैछ ? नियतबस गरिराखेको छ भने त्यो कुरा होइन । हामी भन्ने गर्छौं कि देशभरका जनताले प्रत्यक्ष भोट हालेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ, तर पार्टीमा आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा गरेर आउने विधिलाई प्रतिबन्धित गर्छौं भने हामी आफैँमा विरोधाभाष भयौँ ।

मेरो विचारमा तलबाटै प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चुनिएर आउनुपर्छ । टीका लगाइदिएको नेतालाई अब जनताले मान्दै मान्दैन । अध्यक्ष प्रचण्डकै कुरा गर्ने हो भने उहाँविरुद्ध कोही लड्छ जस्तो पनि मलाई लाग्दैन । यदि कोही लडिहालेछ भने पनि मेरो तर्फबाट एक पटकलाई प्रचण्डलाई मत हालिन्छ । किनभने विभाजित भएको माओवादीलाई एक ठाउँमा ल्याउनुछ । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुछ । युद्ध र शान्तिको नेतृत्व उहाँले नै गरेर आएको हुनाले सम्भवतः प्रचण्डकै नेतृत्वमा समृद्धिको जग हाल्न पाए राम्रो हुन्थ्यो । तर उहाँको यो अधिकार हुँदाहुँदै पनि विधिको विकास पनि गरिहाल्नुपर्छ । अन्यथा नेतृत्वसँगसँगै पार्टी पनि समाप्त हुन्छ भन्ने चिन्ताले हामीले यो कुरा उठाएको हो ।

  • कम्युनिस्ट भाषामा जनवादी केन्द्रको अभ्यास गर्न प्रचण्डलाई कसले रोकिराखेको छ ?

उहाँलाई कसले घेराबन्दी गर्‍यो मलाई थाहा छैन । हामी मार्क्सवादको कुरा गर्छौं । मार्क्सवादले आन्तरिक प्रतिस्पर्धा नै प्रधान हुन्छ भन्छ । मार्क्सवादी दृष्टिकोणबाट भन्दा यतिमात्र भन्न सकिन्छ ।

प्रचण्डले नेतृत्व छोड्नुपर्छ भनेर एक पक्षले निरन्तर कुरा उठाइराखेका छन् नि, हैन ?

के गर्दाखेरि वैज्ञानिक हुन्छ, त्यो छलफल र बहसको कुरा हो, तर नेतृत्व हस्तान्तरणको कुरा होइन, विधि स्थापनाको कुरा हो । विधिबाट आउने, जनता र कार्यकर्ताबाट सर्वस्वीकृति भएर आउने व्यक्तित्व नै अब नेता भएर जाने प्रणाली हुनुपर्छ भन्नेमात्रै कुरा हो । अध्यक्ष कमरेडको विकल्प, पार्टी विभाजनको कुरा उठाइएको होइन, लगाइएको कुरा हो ।

  • आगामी केन्द्रीय समिति बैठकले स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्न सम्भव छ ?

नराम्रो काम गर्नेलाई कारबाही गर्नैपर्छ र राम्रो काम गर्नेलाई पुरस्कृत गर्नैपर्छ । स्थायी समितिको बैठकबाट पारित भएको कुरा हुबहु कसरी बाहिर जाँदैछ र सर्कुलर कार्यकर्तामा नपुगी बाहिर कसरी जान्छ ? यहाँबाट कारबाही सुरु गर्‍यो भने हाम्रो पार्टी बन्न थालनी हुन्छ ।

  • केन्द्रीय समिति बैठकले अन्तरविरोध हल गर्छ कि यसलाई महाधिवेशनसम्मै लगिन्छ ?

केन्द्रीय समितिले कार्यक्रम बनाउँछ, महाधिवेशनले हल गर्छ । त्योभन्दा अगाडि सम्भव छैन । मान्यताहरूलाई एउटा मापदण्डको रूपमा स्थापित नगरी यो रहिरहन्छ ।

  • माओवादी बन्नका लागि समस्या कहाँ–कहाँ छन्, चुनौती के–के हुन् र समाधानको उपाय के हो ?

यो सारा व्यवस्था परिवर्तन गर्नुमा माओवादीको अग्रणी भूमिका छ, र यो व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा बाटो के हुनुपर्छ र आजको आवश्यकता के हो, त्यो माओवादी पार्टीले वैचारिक रूपमा स्पष्ट भिजन दिन सक्नुपर्छ । समुद्रमा कम्पास बिग्रिएको जहाज हावाले ठेलिएर गन्तव्यमा पुग्छु भन्नु दुर्घटना हो । त्यसकारण हाम्रो कम्पासलाई नै पहिला हामीले बलियो बनाउनुपर्नेछ । हामी पनि अरुजस्तै देखियौँ भने त परिवर्तनको वाहक पनि होइनौँ र यो परिवर्तनलाई कहाँ पुर्‍याउन सक्छौँ भन्ने जनतालाई विश्वास दिलाउने शक्ति पनि हुँदैनौँ ।

  • सचिव राम कार्कीजीले पार्टी विघटन गरेर पुनर्गठन गर्नुपर्छ भन्नुभएको छ । जनयुद्धको विरासत बोकेको पार्टी १८ वर्षमै विघटनको अवस्थामा पुग्नुमा तपाईंहरूको पनि भूमिका होला नि ?

यो विघटन र पुनर्गठनको विषयलाई नबुझेर तर्काइएको हो । हरेक जीवन्त कम्युनिस्ट पार्टी अधिवेशनमा गएर विघटन हुन्छ र अधिवेशनबाटै ऊ फेरि पुनर्गठन भएर आउँछ । आवधिक विघटन गर्नुपर्छ भन्ने कुरा माओकै पालाबाट आएको हो । महाधिवेशन आउनुअघि नै यो सचिव हुने, यो महासचिव हुने, यो उपाध्यक्ष हुने भनेर तोकिन्छ भने त्यो कसरी अधिवेशन भयो त ? कुन मान्छे प्रतिस्पर्धाबाट आउँछ, त्यो हल (महाधिवेशनको बन्दसत्र)लाई छोडिदिनुपर्‍यो । नेताहरूले चिन्ता गर्नुभएन । जो परीक्षित भएर, प्रमाणित भएर आउँदैन, उसले अर्को ३–५ वर्ष धैर्य गर्नुपर्‍यो । जसले परीक्षित भएर जितेर आउँछ, उसले आफ्नो कार्यक्षमता देखाएर पार्टी हाँक्न सक्नुपर्‍यो ।

  • ‘मिसन–८४’ भनिँदैछ, अबको दुई वर्षमा हुने चुनावमा माओवादीको स्थिति के देख्नुहुन्छ ?

‘मिसन–८४’ कसले भन्दैछ, मलाई थाहा छैन । आज केही पनि नगर्ने, अनि ८४ पर्खिने हो भने अब पुराना पार्टीहरूको हातबाट राजनीतिक पहलकदमी बिस्तारै गुम्दै गएको देख्छु म । औपचारिक रूपमा संविधानको प्रयोग गरेर सत्ताको चाबी अर्कैको हातमा जाने स्थिति देख्छु । जाओस्, केही छैन, लोकतन्त्रमा जाओस्, तर त्यसपछि के हुन्छ भन्ने कुराको मलाई चिन्ता छ । इतिहासमा योगदान गरेकै आधारमा महँगो व्याज उठाइराख्न खोज्ने पुराना स्थापित पार्टीको हातबाट लगाम बिस्तारै खुस्किँदै गइराखेको देख्छु । त्यसकारण २०८४ अघि नै नेपालमा कुनै एउटा दुर्घटना भएर या आगामी निर्वाचनलाई उपयोग गरेर अर्को दुर्घटनामा जानु नै छ । मूर्खहरूले घटना घटिसकेपछि मात्रै शिक्षा लिन्छन्, विद्वानहरूले घटना घट्नुअगाडि नै परिस्थितिको मूल्यांकन गरेर आइपर्ने दुर्घटनालाई सामना गर्ने शक्ति आर्जन गरेर बस्छन् । हामीले कुन पथ रोज्ने हो ? कुरा त्यतिमात्रै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप