बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

आइतबार, १५ भदौ २०८२, १० : २३
आइतबार, १५ भदौ २०८२

सारांश

  • भोजपुरका स्थानीयवासी निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका छन्, जसले घरखर्च चलाउन सहज भएको छ।
  • टेम्केमैयुङका स्थानीयले संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा बिक्री हुन्छ।
  • निगुरो प्रतिकेजी रु ४० सम्ममा घरबाटै ठेकेदारले लैजाने गरेका छन्, र यसले राम्रो मूल्य पाइरहेको छ।

भोजपुर । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो भोजपुरका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।
 
दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ । टेम्केमैयुङ–५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायत सहरमा जाने गरेको टेम्केमैयुङ–५ का स्थानीय डम्बरबहादुर विष्टले बताए । विगतमा त्यत्तिकै वनपाखा, खोलाखोल्सीमा खेर गइरहेका निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ । निगुरो लिनका लागि ठेकेदार गाडी लिएर नै गाउँघरमा पुग्ने गरेका छन् ।

“यहाँका वनपाखामा पाइने निगुरो बिक्री हुन थालेको छ”, उनले भने, “सडक विस्तार भएपछि बेचबिखन गर्न सहज छ । बर्सेनि यो याममा सङ्कलन गरेर बिक्री गर्दै आएका छौँ । निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।”

सङ्कलन गरिएको निगुरो प्रतिकेजी रु ४० सम्ममा घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । पात भएको भन्दा डाँठमात्र भएको निगुरोले राम्रो मूल्य पाउने स्थानीय लालबहादुर विष्टले बताए । निगुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिए । एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निगुरो सङ्कलन गर्ने उनको भनाइ छ ।

“खोलाखोल्सीको निगुरो सहरबजारमा जान थालेको छ”, उनले भने, “निगुरो हुर्किएपछि गाईवस्तुलाई सोतरका रूपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निगुरोले मूल्य पाएको अवस्था छ ।  सङ्कलित निगुरो बिक्रीका लागि कुनै समस्या छैन ।”

उनीउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वनजङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् । स्थानीयवासीले बर्खायाम सुरु भएपश्चात जेठ–असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन् । वनजङ्गलमा सजिलै पाइने, निगुरो अग्र्यानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डाँठे निगुरोको बजारमा राम्रो माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप