बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्तव्यस्त चिदिचौर खेलमैदान

मङ्गलबार, १७ भदौ २०८२, ०० : २२
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • गुल्मीको चिदिचौर खेल मैदानको पुनःनिर्माण समयमै नसकिँदा यस वर्ष खेल प्रतियोगिता सञ्चालन अन्योलमा परेको छ।
  • क्लबका अध्यक्षका अनुसार, मैदान खनेर अलपत्र छाड्दा खेल क्षेत्रलाई असर परेको छ र छिटो निर्माण हुनुपर्छ।
  • निर्माण व्यवसायीले काम नगर्दा मैदान अस्तव्यस्त छ भने एक करोड लागतको निर्माण वि.सं. २०८३ असारसम्ममा सक्ने सम्झौता छ।

गुल्मी । तम्घासको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदान समयमै सम्पन्न नहुँदा यस वर्ष खेल प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलमा छ । दसैँ तिहारमा उक्त क्लबले यही खेलमैदानमा विभिन्न प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको छ । तर उक्त मैदान पुनः निर्माणको काम ६ महिनादेखि अधुरै छ । 

“खेलमैदान निर्माण सम्पन्न नहुँदा खेल प्रतियोगिता सञ्चालन गर्न अन्योल भएको छ”, क्लबका अध्यक्ष नारायण आचार्यले भने, “मैदान खनेर छोड्दा समस्या भएको छ ।” 

सदरमुकाम तम्घासको केन्द्रमा रहेको खेलमैदानमा उक्त  क्लबले छात्र फुटबल, जिल्ला भलिबल सङ्घले पालिकास्तरीय भलिबल, पुल्चोक क्लबले छात्रा फुटबल, खुकुरी युवा क्लबले क्रिकेटलगायतका प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छन् । त्यसभन्दा बाहेक विभिन्न मेला, महोत्सव, उत्सव, गाईजात्रा, तीज गीतलगायतका कार्यक्रम पनि यही खेलमैदानमा हुने गर्दछन् । 

वर्षभरीमा विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने चिदिचौर मैदान पुनः निर्माणका कारण बन्द छ । क्लबका अध्यक्ष आचार्यले खेलमैदान खनेर अलपत्र छोड्दा समस्या भएको बताए । 

“खनेर यत्तिकै छोडिएको छ, यसले सिङ्गो खेल क्षेत्रलाई असर परेको छ । खेल मैदानलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ”, उनले भने । चिदिचौर खेलमैदान निर्माणको काम बहुबर्षीय आयोजनाअन्तर्गत लैजानु गलत भएको उनले बताए । 

जिल्लामा चिदिचौर मैदान खेलाडी उत्पादनमा सहयोगी बनेको थियो । तम्घासमा अष्टमीको दिन रोपाईजात्रासँगै लाचे नाच पनि चिदिचौरमै हुने गर्दछ । तर यस वर्ष यस्ता सांस्कृतिक कार्यक्रम हुने सम्भावना छैन । 

रेसुङ्गा नगरपालिका–२ की सरस्वती कँडेलले भने, “चिदिचौर खनेर छोड्न हुन्नथ्यो । यसलाई चाँडो निर्माण गर्नुपर्छ ।” 

निर्माण व्यवसायीले काम नगर्दा चिदिचौर मैदान खनेर अस्तव्यस्त पारिएको छ । मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राखिएका छन् । मैदानको बिच भागबाट पानी बगिरहेको छ । मैदानमा खाल्डाखुल्डी पारेर यत्तिकै छोडिएको छ । 

चिदिचौर खेल मैदान पुनः निर्माणका लागि रु एक करोड लागत रहेको छ । विसं २०८२ वैशाखमा सो कार्यको जिम्मा रामेछाप कन्स्ट्रक्सनले पाएको थियो । विसं २०८३ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । हालसम्म ५० प्रतिशत काम काम सकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप