बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कवि दीपेन्द्र आचार्यको ‘व्यापार पृथ्वीको’ कवितासङ्ग्रह लोकार्पण

शनिबार, २८ भदौ २०८२, १६ : २५
शनिबार, २८ भदौ २०८२

सारांश

  • कवि दीपेन्द्र आचार्यको कवितासङ्ग्रह 'व्यापार पृथ्वीको' इलाममा लोकार्पण गरियो।
  • सङ्ग्रहमा ६५ वटा कविताहरू छन्, जसलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।
  • कार्यक्रममा साहित्यकारहरूले स्थानीयता, समाज र प्रकृतिका बारेमा लेखिएका कुराहरू महत्त्वपूर्ण रहेको बताए।

इलाम । कवि दीपेन्द्र आचार्यको कवितासङ्ग्रह ‘व्यापार पृथ्वीको’ लोकार्पण गरिएको छ। ६५ वटा कविता समेटिएको यो सङ्ग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो। सूर्योदय गजल मञ्चले शनिबार आयोजना गरेको एक कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो।

कार्यक्रममा नेपाली साहित्यमा ‘लीला लेखन’ का अभियन्ता कृष्ण बराल, साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराई, सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जन लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

प्रमुख अतिथि रहेका बरालले कुनै पनि कृति लेख्दा लेखकले स्थानीयता, माटो, हावापानी र समाजलाई ध्यान दिनुपर्नेमा जोड दिए। साहित्यकार थाम्सुहाङले कवितालाई ‘ईश्वरको बोली’ भन्दै कवि आचार्यले भानुभक्त आचार्यपछिको खालीपन पूरा गर्ने सङ्केत देखिएको बताए। अर्का साहित्यकार चन्द्र गुरुङले सङ्ग्रहमा देश, प्रकृति र समाजका बारेमा लेखिएका कविताहरू समेटिएको जानकारी दिए।

कार्यक्रममा कविहरू लीला अनमोल, गणेश निरौला, अभागी थेगुवा, कविता राई ‘गाउँले’, विजय वातवा ‘कैलाशी’, केपी ढकाल, देवी गौतम लगायतले सङ्ग्रहका कविता वाचन गरेका थिए।

भारत र नेपालका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि आचार्यले सबैलाई धन्यवाद दिँदै आफ्नो कृति पढेर प्रतिक्रिया दिन आग्रह गरे। योगनिधि भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिक्रम सुन्दासले गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप