शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक निर्णय

माओवादीकाे केन्द्रीय समिति बैठकले के–के गर्‍यो निर्णय ?

शुक्रबार, १० असोज २०८२, २० : १९
शुक्रबार, १० असोज २०८२

सारांश

  • माओवादी केन्द्रको बैठकले पार्टी रूपान्तरणका विषय समावेश गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्यो।
  • बैठकले पार्टीको विशेष महाधिवेशन मङ्सिर मसान्तभित्र गर्ने र निर्वाचन सफल पार्न भूमिका खेल्ने निर्णय गर्यो।
  • पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने, जेनजीको प्रतिनिधित्व बढाउने निर्णय गरियो।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले प्रस्तुत गरेको पार्टी रूपान्तरण सम्बन्धी महत्त्वपूर्ण विषयहरू समावेश गर्ने निर्णय गरेको छ । 

बैठकले जनयुद्ध, जनआन्दोलन, जेनजी आन्दोलन लगायतका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेको छ भने जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धीकरण र पुनर्निर्माण गर्ने निर्णय गरिएको छ । 

पार्टीको केन्द्रीय समिति भङ्ग गरिएको छ । आगामी मङ्सिर मसान्तभित्र प्रचण्डकाे संयोजकत्वमा  पार्टीको विशेष महाधिवेशन गर्ने गरी महाधिवेशन आयोजक समिति र आयोजक समितिको सचिवालय गठन गर्ने निर्णय गरिएको छ । 

विचार मिल्ने माओवादी धारा एवं वामपन्थी पार्टीहरूबिच एकता गर्ने । एकताको प्रक्रिया तत्काल अगाडि बढाइ विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्न जोड गरिनेछ । तर, निर्धारित मितिभित्रै विशेष महाधिवेशन हुनेछ । 

अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा उभिँदै निर्वाचन सफल पार्न पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै निर्वाचनका पक्षमा वातावरण बनाउने छ । 

आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने, समानुपातिक निर्वाचन प्रणालीका पक्षमा उभिने र विज्ञहरूबाट मन्त्री बन्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने निर्णय गरिएको छ । 

यस्ता छन् थप निर्णयहरू

  • बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले जनस्तरबाट समेत सुझाव लिएर छानबिनका आधारमा दोषीमाथि कारबाहीको सिफारिस गर्ने।
  • जेनजी आन्दोलनले उठाएको “नेपोटिज्म”को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ। बैठकले कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे निर्णय लिनेछ।
  • पार्टी केन्द्रीय कार्यालय र पार्टी नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्नेबारे निर्णय भएको छ। महाधिवेशन आयोजक समितिको सचिवालयले कार्यविधि बनाएर उक्त निर्णय लागू गर्नेछ।
  • पार्टीका सबै कमिटीहरूमा जेनजीको प्रतिनिधित्व गराउने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा युवाहरूको प्रतिनिधित्व बढाउने निर्णय भएको छ।
  • नेतृत्व हस्तान्तरणको प्रश्नमा बैठकमा महत्त्वपूर्ण बहस भएको छ। बैठकले आगामी महाधिवेशनबाट विधिसम्मत ढङ्गले नेतृत्व विकास, हस्तान्तरण र पार्टीमा नयाँ क्रमभङ्ग गर्ने।
  • पार्टी कमिटीहरू प्रविधिमैत्री बनाउने, अभिलेखीकरणको काम व्यवस्थित गर्ने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप