बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पञ्जाबमा अक्टोबर ७ सम्म भारी वर्षाको सम्भावना

शनिबार, १८ असोज २०८२, २१ : ३३
शनिबार, १८ असोज २०८२

सारांश

  • पंजाबमा आगामी दिनमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ, जसले बाढीबाट भएको क्षतिको मूल्याङ्कनलाई प्रभावित पार्न सक्छ।
  • पाकिस्तानमा मनसुन वर्षाका कारण हजारभन्दा बढीको मृत्यु भएको छ भने पंजाबमा ४७ लाख मानिस प्रभावित भएका छन्।
  • बाढीबाट प्रभावितहरूको क्षतिपूर्तिका लागि सर्वेक्षण भइरहेको छ, जसमा पारदर्शिताका लागि विभिन्न निकायहरू संलग्न छन्।

इस्लामावाद । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अली काठियाले शनिबार हालैको बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सर्वेक्षण कार्य जारी रहँदा पञ्जाबमा आगामी दिनमा थप भारी वर्षा हुने पूर्वानुमान गरिएको बताएका छन् ।

पाकिस्तानभरि जुन महिनादेखि जारी मनसुन वर्षाका कारण अहिलेसम्म कम्तीमा एक हजार ३७ जनाको ज्यान गएको छ । प्रमुख नदीहरू भरिएपछि तिनका किनारमा रहेका ग्रामीण बस्तीहरूमा ठूलो क्षति पुगेको छ । पञ्जाब प्रान्तमै चार हजार सात सय गाउँका करिब ४७ लाख जनसङ्ख्या प्रभावित भएको डन पत्रिकाले जनाएको छ ।
लाहोरमा आयोजित पत्रकार सम्मेलनमा काठियाले पञ्जाबभरि आइतबार बिहानदेखि वर्षा सुरु हुने र विशेषगरी उत्तरी भागहरूमा अक्टोबर ७ (मङ्गलबार) सम्म जारी रहने अनुमान गरिएको जानकारी दिए ।

रावलपिन्डीदेखि लाहोरसम्मको उत्तर तथा उत्तरपूर्वी भागमा औसत ३० देखि ३५ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने दक्षिणी पन्जाबमा पाँचदेखि १० मिलिमिटर वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए ।

उनले अक्टोबर ६ र ७ मा वर्षाको तीव्रता अझै बढ्ने चेतावनी दिँदै भने- ‘उत्तरी र उत्तरपूर्वी पञ्जाबमा ५० देखि ७० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ र यसको प्रभाव केही मध्य जिल्लामा पनि देखिन सक्छ ।’

काठियाले चिनाब नदीको हेड मारालामा हाल २० हजार क्युसेक पानी मापन गरिएको उल्लेख गरे । साथै उनले पाकिस्तान प्रशासित काश्मीरमा रहेको दुल हस्ती जलविद्युत् परियोजनामा आगामी ४८ घण्टामा वर्षा र सिल्ट फ्लसिङका कारण पानीको बहाव एक लाखदेखि एक लाख ५० हजार क्युसेकसम्म बढ्न सक्ने ‘अनौपचारिक स्रोत’ हरूको आधारमा जानकारी दिए ।

यसैबिच, रावलपिन्डी र इस्लामाबादमा शुक्रबार हल्कादेखि भारी वर्षा भइसकेको र तल्लो भू–भाग जलमग्न भएको डनले उल्लेख गरेको छ । पाकिस्तानको मौसम विभागले पनि अक्टोबर ३ देखि तीव्र हुँदै गएर अक्टोबर ७ सम्म सक्रिय रहने चेतावनी जारी गरेको छ ।

काठियाका अनुसार चेनाब, रावी र सतलज नदीको किनारमा फैलिएको बाढीपछिको क्षति मूल्याङ्कनका लागि पञ्जाबका २७ जिल्लामा सर्वेक्षण जारी छ । सेप्टेम्बर २७ बाट सुरु भएको यो सर्वेक्षण एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ, जसमा ६९ तहसिल समेटिएका छन् ।

उनका अनुसार हालसम्म बाढीबाट ४७ लाख मानिस प्रभावित भएका छन्, २६ लाख ३० हजार मानिस र २१ लाख १० हजार गाईवस्तुहरू सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबमा मृत्युको सङ्ख्या १३४ पुगेको छ, यद्यपि पूर्ण सर्वेक्षणपछि यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा २७ जिल्लाका ११ हजार पाँच सय सर्वेक्षणकर्मी दुई हजार २१३ टोलीमार्फत फिल्डमा खटिइरहेका छन् । गणनाको पारदर्शिता सुनिश्चित गर्न पाकिस्तानी सेना, सहरी एकाइ, कृषि तथा पशुधन विभागका कर्मचारी र जिल्ला प्रशासनका प्रतिनिधिहरू संयुक्त रूपमा समावेश छन् ।

केही टोलीहरू अझै पनि पानीमुनिका क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको काठियाले स्वीकार गरे । तर उनले मुख्यमन्त्री मरियम नवाजसहित सबै सरोकारवाला अधिकारीहरूले सर्वेक्षणलाई वास्तविक समयमा निगरानी गरिरहेको र तथ्याङ्क गणना भएलगत्तै प्रान्तीय आपत्कालीन सञ्चालन केन्द्रमा पठाउने व्यवस्था गरिएकोमा जोड दिए ।

उनले बहु–स्तरीय प्रमाणीकरण प्रक्रियाबारे पनि स्पष्ट पारे । तहसिल र जिल्ला तहमा प्रारम्भिक जाँचपछि तथ्याङ्क अर्बन युनिटमा पठाइन्छ र त्यसपछि पञ्जाब सूचना प्रविधि बोर्ड (पीआइटिबी) द्वारा प्रमाणीकरण गरिन्छ ।

पहिलो चरणमा राष्ट्रिय डाटाबेस तथा दर्ता प्राधिकरण (एनएडीआरए) द्वारा नागरिकताको प्रमाणीकरण (सीएनआइसी) जाँच गरिन्छ । त्यसपछि पशुधन खोप रेकर्डसँग तथ्याङ्क क्रस–म्याच गरी शुद्धता सुनिश्चित गरिन्छ । यससँगै, गैर–मालिकहरूको समावेश रोक्न र वास्तविक लाभार्थी छुट्न नदिन पञ्जाब ल्यान्ड रेकर्ड अथोरिटी (पीएलआरए) डाटाबेससँग पनि परामर्श गरिन्छ ।

पीआइटिबीले अन्तिम चरणमा आफ्नै आन्तरिक जाँच गरेपछि मात्र तथ्याङ्क वित्तीय वितरणका लागि खाली हुन्छ ।

काठियाले भने, ‘लाभार्थीहरूका लागि बैंक अफ पञ्जाब (बीओपी) काउन्टरहरू स्थापना गरिनेछ, उनीहरूलाई क्षतिपूर्ति सङ्कलन गर्नुपर्ने मिति र स्थानको सूचना सन्देशमार्फत दिइनेछ र आवश्यक परे यातायातको व्यवस्था पनि मिलाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप