बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्व हुलाक दिवसका अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगितामा कर्मचारीको टिमलाई उपाधि

बुधबार, २२ असोज २०८२, २२ : ४८
बुधबार, २२ असोज २०८२

सारांश

  • चितवनमा निजामती कर्मचारी र सञ्चारकर्मीबीचको ब्याडमिन्टन प्रतियोगितामा निजामती कर्मचारीको टिम विजयी भयो।
  • इञ्जीनीयर विजय दरै र भीमदत्त भट्टको टिमले उपाधि जित्दा कृष्ण पौडेल र जगत लामाको टिम दोस्रो भयो।
  • विश्व हुलाक दिवसको अवसरमा आयोजित प्रतियोगितामा सञ्चारकर्मीको टिम पहिलो चरणबाटै बाहिरियो।

चितवन । चितवनमा १५१ औँ विश्व हुलाक दिवसको अवसरमा निजामती कर्मचारी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि निजामती कर्मचारीको टिमले प्राप्त गरेको छ ।  

जिल्ला हुलाक कार्यालय चितवनको आयोजना र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको समन्वयमा भरतपुरको कबर्ड हलमा आज भएको प्रतियोगितामा इञ्जीनीयर विजय दरै र भीमदत्त भट्टको टिम प्रथम भएको हो ।

दरै नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) मा कार्यरत रहेका छन् भने भट्ट मत्स्य विकास केन्द्र भण्डारामा कार्यरत रहेका छन् । त्यस्तै, कृष्ण पौडेल र जगत लामाको टिम दोस्रो भएको छ ।

पौडेल मालपोत कार्यालय भरतपुर र लामा सडक डिभिजन कार्यालय भरतपुरमा कार्यरत रहेका छन् । प्रतियोगितामा सञ्चारकर्मीका दुई र कर्मचारीका पाँच वटा समूह सहभागी रहेका थिए । सञ्चारकर्मीको टिम पहिलो चरणबाटै बाहिरिएको थियो ।

विश्व हुलाक दिवस असोज २१ गतेदेखि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यालयका प्रमुख नरहरि सापकोटाका अनुसार बिहीबार हुलाक दिवसको मूल समारोहमा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
चितवनमा हुलाकको ६ वटा पालिका कार्यालय, तीन वटा हुलाक काउन्टर र १२ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् । विश्व हुलाक सङ्घको स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो ।

नेपालले भने उक्त सङ्घको सदस्यता सन् १९५६ मा लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको  हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप