एमालेलाई अदालतको आस : फागुन २१ को चुनावबाट भाग्न खोजेको हो ?
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संसद् पुनर्स्थापनाको लागि जनमत तयार गर्ने निर्णय गर्यो, र मंसिरमा महाधिवेशन गर्ने भयो।
- एमालेले सरकारको निर्वाचन नगराउने कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद् पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखेको छ।
- केपी शर्मा ओलीले पार्टीमा अनुशासन कायम गर्न नसकेकोमा आत्मालोचना गरे, र जेनजीका मागलाई सकारात्मक रूपमा लिए।
काठमाडौँ । जेनजी विद्रोह र त्यसपछिको परिवर्तित राजनीतिक अवस्थाबारे पार्टीको ठोस धारणा बनाउन बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक संसद् पुनर्स्थापनाका लागि जनमत तयार गर्ने र ११ औँ महाधिवेशन मंसिर २७,२८ र २९ गते पोखरामा गर्ने निर्णय गर्दै शुक्रबार सकिएको छ ।
आफ्नै नेतृत्वको सरकार भएका बेला भएको भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा युवाहरूले गरेको विद्रोहबाट सत्ताच्युत भएको एमालेले परिवर्तित अवस्थालाई स्वीकार गर्ला या नगर्ला भन्ने प्रश्नकैबिच प्रतिनिधि सभाको पुनर्स्थापनालाई प्राथमिकतामा राखेको हो ।
एमालेको यो निर्णयपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई तोकेको निर्वाचन बहिस्कार गर्न लागेको त होइन भन्ने प्रश्न समेत उठ्न पुगेको छ । तर एमालेले फागुन २१ को निर्वाचन बहिस्कार गर्ने वा भाग नलिने भनेर कहीँ कतै भनेको छैन । बरु उसले सरकारले निर्वाचन हुने वातावरण नबनाएकोले निर्वाचन हुन नसक्ने भएकाले संसद् पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखेको दाबी गरेको छ ।
संसद् पुनर्स्थापनाबाटै जेनजीका माग पूरा गर्न सकिने तथा अहिलेको संवैधानिक संकटको समेत निकास खोज्न सकिने उसको विश्वास छ । यसअघि दुई पटक प्रधानमन्त्री केपी ओलीले नै संसद् विघटन गरेपनि अदालतले उल्टाइदिएको अवस्थामा अहिले किन एमाले पुनर्स्थापनाको पक्षमा लागेको हो त ? एमालेका एक पदाधिकारी भन्छन्,‘पुनर्स्थापना भनेर एउटा फेस सेभिङको बाटो रोजेको मात्र हो । यो प्रचारात्मक कुरा मात्र हो ।’
एमाले स्थायी कमिटी सदस्य समेत रहेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम संसद्को पुनर्स्थापनाबाटै अहिलेका मुद्दाहरूको समाधान गर्ने सजिलो उपाय हुने बताउँछन् ।
‘संविधानलाई लिकमा ल्याउने,लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने सबभन्दा सरल र सजिलो बाटो नै प्रतिनिधि सभाको पुनर्स्थापना हो’, गौतमको भनाइ छ । त्यसो त गौतमले संसद् विघटनविरुद्ध न्यायिक निरूपणका लागि सर्वोच्च अदालतमा रिट निवेदन परेको र पेसी समेत तोकिएको अवस्थामा आफूहरूले त्यसलाई समर्थन गरेको बताए ।
‘पुनर्स्थापनाको मुद्दा संवैधानिक अदालतमा पुगेर पुनरावेदनको प्रक्रिया सुरु भैसकेको छ । त्यसको हामीले समर्थन गरेका हौ । त्यसमा एकमत जाहेर पनि गरेका हौँ’, गौतमको भनाइ छ ।
उनले एमालेले निर्वाचनबाट नभाग्ने समेत प्रस्ट पारे । ‘जहाँसम्म फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको कुरा छ, हामी निर्वाचनबाट भाग्छौ भनेको छैनौँ’, गौतमको भनाइ छ ।
एमाले निर्वाचन आयोगका सदस्य निरज आचार्यले एमाले कुनै हालतमा निर्वाचनबाट नभाग्ने बताए । उनले भने, ‘एमाले निर्वाचनबाट भाग्दैन, निर्वाचनका लागि गर्नुपर्ने सबै काम गर्दै जान्छ ।’ निर्वाचनको वातावरण नदेखिएकाले सरकारले त्यो वातावरण बनाउनुपर्नेमा आचार्यको जोड छ ।
त्यसो त एमालेले अन्य राजनीतिक दल र निर्वाचन आयोगको बैठकमा गएर पनि सरकारले निर्वाचनको वातावरण नबनाएको बताइसकेको छ । उसले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की अहिलेसम्म राजनीतिक दलसँग छलफल समेत गर्न तयार नभएको अवस्थामा कतै सरकार नै निर्वाचन गर्न नचाहेर सत्ता लम्ब्याउन खोजेको त होइन आशङ्का गर्न पुगेको छ ।
‘निर्वाचनको वातावरण बनेन, सरकारले बनाएन । निर्वाचन हुन्छ भन्ने एसोरेन्स भएन’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘शान्ति सुरक्षाको प्रश्न उठिरहेको छ । मतदाताको सुरक्षाको प्रश्न उठिरहेको छ यो प्रश्न पहिला सरकारले निरूपण गर्नुपर्छ ।’
एमाले मात्रै होइन, अन्य दल नेपाली कांग्रेस, माओवादी, रास्वपा लगायतका दलहरूले पनि सरकारले पहिला शान्ति सुरक्षा मजबुत बनाएर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुने वातावरण बनाउनुपर्ने अडानमा प्रस्ट देखिँदै आएका छन् ।
- ओलीको आत्मालोचना
धेरैले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जति गल्ती गरेपनि आत्मालोचना गर्दैनन् भन्ने गरेका छन् । उनको दम्भी र हठका सामु कसैको केही लाग्दैन भन्ने त एमालेका निर्णय र ओलीका कतिपय व्यवहारबाटै देखिँदै आएको छ । तर यो पटक अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । शुक्रबार सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकको समापनमा उनले पार्टीमा देखिएका कमीकमजोरीबारे स्विकार्दै आत्मालोचना गरेका हुन् ।

‘पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन । अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु’, ओलीको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिने गरी गालीगलौज चाहिँ कसैले नगरौँ ।’ बैठकमा ओलीले भदौ २३ र २४ को आन्दोलनलाई फरक ढङ्गले हेर्नुपर्ने भन्दै खास जेनजीका माग सकारात्मक रहेको र आफूहरूले समयमै सम्बोधन गर्न नसकेको पनि स्वीकार गरेका छन् ।
साथै उनले पार्टीमा फरक विचार र दृष्टिकोण आउनुलाई स्वाभाविक भन्दै त्यसलाई सिस्टमभित्र राख्न सकिए मात्र पार्टी अझ सबल र एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण