१० बजे १० समाचार : नयाँ पार्टी खोल्ने लर्को, मधेसका मुख्यमन्त्रीलाई ब्रेक
आज २०८२ कात्तिक २५ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- संसदीय समितिमा अर्थमन्त्री
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल मंगलबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए । जेनजी आन्दोलनपछि बनेको सरकारकारका अर्थमन्त्रीको रूपमा पहिलोपल्ट उनी राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित भएका हुन् ।
- कांग्रेस बैठक
गत असोज २८ गतेबाट सुरु नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सक्ने तयारी गरिएको छ । मंगलबारसम्म सहमहामन्त्री तहसम्म धारणा राख्ने क्रम सकिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनले बुधबार बैठक सक्ने तयारी रहे पनि ठ्याक्कै भन्न भने नसकिने बताए ।
- मधेस प्रदेश
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन्। मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका हुन् ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहणको विरोधमा प्रदर्शन गरिएको छ । मंगलबार मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका थिए । सोको विरोधमा मधेस प्रदेश भवन अगाडि विभिन्न सात दलले विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
मधेसको सत्ता गठबन्धनमा सहभागी तत्कालीन नेकपा माओवादी केन्द्रभित्रको अन्तरविरोधका कारण मधेस सरकारका मुख्यमन्त्री जितेन्द्रले सोनल नेतृत्वको सरकार २५ दिनमै ढल्यो ।
- नयाँ पार्टी
ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ । उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । ५१ सदस्यीय पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफ्नै सचिवालय सदस्यहरूमार्फत राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।
अधिवक्ता रमण कुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपाल गठन भएको छ । सर्वोच्च अदालत बार एशोसिएनका सचिव समेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो ।
- आईजीपी कार्की
मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् ।
- बानियाँको १०० दिन
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । यस अवधिमा सरकारले केही ‘लोकप्रिय’ निर्णय गरेपनि कार्यान्वयनमा भने कमजोर देखिएको छ ।
- अन्योल
सन् २०२६ नोभेम्बरमा नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकमा स्तरोन्नति हुने तयारीमा थियो । तर जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थिति र सरकारी तथा निजी क्षेत्रमा परेको असरलाई देखाउँदै यसलाई पछि सार्ने सङ्केत देखिएको छ ।
- सुनकोशी–मरिण डाइभर्सन
सरकारले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको महत्त्वपूर्ण सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने भएको छ । राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रूपमा सरकारले २०७९ साल माघ ११ गते काम सुरु गरेको थियो । पटेल–रमण जेभीले २०७९ पुस १७ मा ५५ महिनाभित्र सक्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा यो आयोजनाको ठेक्का पाएको थियो ।
- नारायणीमा बन्ने पुल
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
- दशौं राष्ट्रिय खेलकुद
कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चौथो पटक तोकिएको छ । आगामी फागुन १ गतेदेखि ७ गतेसम्म प्रतियोगिता सम्पन्न गर्ने गरी नयाँ मिति तय भएको हो । यो मितिलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समेत स्वीकृत गरेको छ । यसअघि २०८१ मंसिरमा हुने भनिएको प्रतियोगितालाई पटक–पटक सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण