सफाइ पाएको शंकास्पद पत्र लिएर पद पुनर्बहालीका लागि पुगे वडाध्यक्ष
सारांश
- जीतपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतबाट सफाइ पाएको भन्दै पद पुनर्वहालीको दाबी गरेका छन्।
- सर्वोच्च अदालतले भने कार्कीको मुद्दामा मिसिल नष्ट भएको जनाएको छ, भने उपप्रमुखले कार्कीको सफाइको पत्र शंकास्पद रहेको बताएका छन्।
- अख्तियारले ५ लाख घुस लिएको आरोपमा कार्कीलाई २०८१ माघमा निलम्बन गरेको थियो, तर उनले आफूलाई सफाइ मिलेको दाबी गरेका छन्।
बारा । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका जीतपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर–३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतबाट सफाइ पाएको भन्दै पद पुनर्वहालीको दाबी गरेका छन् ।
निलम्बित वडाध्यक्ष कार्कीले बुधबार उपमहानगरपालिकामा लिखित निवेदन दिएर आफ्नो जिम्मेवारी कायम गरिदिन नगरप्रमुखसमक्ष अनुरोध गरेका हुन् ।
कार्कीले दिएको निवेदनमा उल्लेख छ, ‘जीतपुर सिमरा वडा नं. ३ को वडाध्यक्षमा कार्यरत रहेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतको आरोपमा मेरो जिम्मेवारी निलम्बनमा थियो । २०८२ भदौ २० गते सर्वोच्च अदालतबाट सफाइ पाउने फैसला भएको छ । मेरो पूर्ववत् जिम्मेवारीमा रही काम गर्नका लागि आवश्यक सहयोग गरिदिनु हुन यसै निवेदन साथ अनुरोध गर्दछु ।’
कार्कीले निवेदनको पत्रसँगै सर्वोच्चबाट सफाइ पाएको फैसलाको पत्र पनि उपमहानगरपालिकामा बुझाएका छन् । भदौ २० गते सफाइ पाएको भनिएको मुद्दामा कार्की आफैँले भदौ २२ गतेको मिति उल्लेख भएको सर्वोच्चको पत्र उपमहानगरमा बुझाएका थिए ।
ता सर्वोच्च अदालतले भने कार्कीको मुद्दामा मिसिल नष्ट भएको भनी पेसी सूचीमा उल्लेख गरेको छ । कानुनी रूपमा उच्च अदालतबाट भएको फैसलाको पत्र उपमहानगरपालिकालाई प्रक्रियागत रूपमा प्राप्त हुने गर्छ । तर, वडाध्यक्ष कार्कीले सफाई पाएको भन्ने पत्र निवेदक स्वयंले बोकेर ल्याउनु शंकास्पद देखिएको छ ।


कार्कीले सर्वोच्चबाट ल्याएको पत्रमा उल्लेख छ, ‘उपरोक्त सम्बन्धमा पुनरावेदन/निवेदक ताराबहादुर कार्की र प्रत्यार्थी/विपक्षी नेपाल सरकार भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा तपाईंले फैसलाको जानकारी पाऊँ भनी यस अदालतमा निवेदन पेस दिएकोमा उक्त मुद्दा २०८२ भदौ २० मा इजलाससमक्ष पेस हुँदा तपाईंले आरोपदाबीबाट सफाइ पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको व्यहोरा जानकारी गराइन्छ ।’
कार्की २०८१ माघ १० गते विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका थिए । गत वर्ष पुस २ गते घरबाटो सिफारिसमा सेवाग्राहीसँग ५ लाख नगद रकम लिएको अवस्थामा अख्तियारको टोलीले कार्कीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको थियो ।
सर्वोच्चको पत्र शंकास्पद छः उपप्रमुख अधिकारी
जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले निलम्बनमा परेका वडाध्यक्ष कार्कीले सफाइ पाएको दाबी गरेको सर्वोच्चको पत्र शंकास्पद भएको बताएका छन् ।
उपप्रमुख अधिकारीले भने, ‘मैले मुद्दा जितेको अवस्था हो, पुनर्वहाली गरिपाऊँ भनेर उहाँले सर्वोच्चको एउटा कागजसहित निवेदन दिनुभएको छ । त्यो पत्र हेर्दा शंकास्पद देखिन्छ । हामीलाई सीधै सर्वोच्चले सफाइ पाएको फैसलाको पत्र पठाएको भए स्वाभाविकै हुन्थ्यो तर, उहाँ आफैँले पत्र बोकेर ल्याउँदा फैसला किर्ते हो भन्ने शंका गर्ने आधार छ ।’

उपप्रमुख अधिकारीले कार्कीले दिएको निवेदनकै आधारमा पुनर्वहाली गर्न नसकिने भन्दै सर्वोच्च अदालतसँग आधिकारिक पत्र माग गरिएको बताएका छन् । यता, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख शान्तिराज प्रसाईंले पनि कार्कीको सफाइदाबी पत्र शंकास्पद भएकाले सर्वोच्चमा पुनः सोधपुछका लागि पठाइएको बताएका छन् । सहसचिव प्रसाईंले भने, ‘सर्वोच्चमा पत्राचार गरेका छौँ, के जवाफ आउँछ हेरौँ ।’
गत वर्ष वडाध्यक्ष पदबाट निलम्बनमा परेका कार्की नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण