शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमालेको सुस्त मतदानदेखि जग्गा हिनामिना प्रकरणमा उन्मुक्तिसम्म

बुधबार, ०२ पुस २०८२, २२ : ००
बुधबार, ०२ पुस २०८२

सारांश

  • नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दायर भएको छ, जसमा ५ अर्ब २५ करोड बिगो कायम गरिएको छ।
  • कोशी प्रदेश लगानी सम्मेलनमा हस्ताक्षर भएका परियोजनाहरू निर्माण चरणमा प्रवेश गरेका छन् र केही लगानीकर्ता सम्पर्कविहीन छन् भने केही योजना कानुनी जटिलतामा फसेका छन्।
  • कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ, भने मधेस केन्द्रित दल निर्वाचन हुनुपर्ने पक्षमा देखिएका छन्।

आज २०८२ पुस २ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरण

नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हाे ।

  • कोशी प्रदेश लगानी सम्मेलन

कोशी प्रदेश सरकारले गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा समझदारी पत्रमा हस्ताक्षर (एमओयु) भएका परियोजनामध्ये केही निर्माण चरणमा प्रवेश गरेका छन् भने केहीका लगानीकर्ता सम्पर्कविहीन छन् । कतिपय योजना कानुनी र प्रक्रियागत उल्झनमा फसेका छन् ।

  • उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर मंसिर १५ गते परिपत्र गरेको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले मंसिर मसान्तसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गर्‍यो ।

  • चुनावको पक्ष

कांग्रेस र एमालेका निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको बेला मधेस केन्द्रित दल यसको विपक्षमा देखिएका छन् । उनीहरू जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने पक्षमा छन् । 

  • वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा निरन्तर रूपमा वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गएको छ । साउन देखि मङ्सिरसम्म पछिल्लो पाँच महिनामा लगातार रूपमा वैदेशिक लगानी प्रतिबद्धता वृद्धि हुँदै गएको उद्योग विभागले जनाएको छ ।

  • इलाममा विपदका साढे दुई महिना

गत असोज १८ र १९ गतेको भीषण बाढी–पहिरोले क्षति पुगेको इलाममा संघीय सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्‍यो । संकटग्रस्त क्षेत्र घोषणा गरेपछि इलामका स्थानीयले सोचेका थिए– ‘अब पुनर्निर्माण छिटो हुन्छ र आफ्नो संकट टर्छ ।’

  • प्राकृतिक ग्यास

पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्‍यो ।  प्राकृतिक ग्यासको भण्डार पत्ता लागेसँगै निकै उत्साहित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राष्ट्रिय समृद्धिको आधार बताएका थिए । उनले मंसिरभित्रै प्राकृतिक ग्यासको परीक्षण तथा उत्पादन थाल्न निर्देशन समेत दिएका थिए । 

  • आतंकवादमा वित्तीय लगानी रोक्ने नीति

सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ । 

  • प्रलोपा बैठक

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही पुस १ र २ गते काठमाडौँमा सम्पन्न बैठकले देशको समसामयिक राजनीति, आसन्न निर्वाचन, सुशासन र जनजीविकाका सवालमा विभिन्न निर्णयहरू गर्दै प्रस्ताव सार्वजनिक गरेको हो ।

  • एमाले महाधिवेशन

 नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । त्यसका लागि मंगलबार दिउँसो १ बजे नै मतदान हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो । आज पनि मतदानमा ढिलाइ भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप