जसले सुशासनको सपनाका लागि छातीमा गोली थापे
सारांश
- धनकुटाका छत्रमान कुथुमीको भ्रष्टाचारमुक्त समाज बनाउने सपना अधुरै रह्यो, जेन्जी आन्दोलनमा उनको मृत्यु भयो।
- कुथुमी, जो भ्रष्टाचार विरुद्धको आन्दोलनमा सक्रिय थिए, प्रहरीको गोली लागी शहीद भए, परिवार शोकमा डुबेको छ।
- सरकारले उनलाई शहीद घोषणा गर्दै राहत दिए पनि परिवारले भ्रष्टाचारमुक्त समाजको सपना पूरा गर्न माग गरेको छ।
काठमाडौँ । धनकुटाको पाख्रिबास–१० चुनवाङका ६४ वर्षीय छत्रमान कुथुमी (पारुहाङ) राईको जीवनको एउटै ठूलो लक्ष्य थियो– देशबाट भ्रष्टाचारको जरैदेखि अन्त्य गरी सुशासनयुक्त राज्य प्रणाली देख्ने। यही सपना बोकेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएका उनी पछिल्लो समय भ्रष्टाचारविरुद्धका हरेक आन्दोलनमा युवाभन्दा बढी जोसका साथ अग्रमोर्चामा देखिन्थे।
तर, गत भदौ २३ गते भएको 'जेन्जी' आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएपछि उनको त्यो सपना अधुरै रहन पुग्यो। कुथुमीको संघर्षको कथा विद्रोह र त्यागले भरिएको छ।
विसं २०१८ मा जन्मिएका उनी तीस वर्षअघि गाउँ छाडेर सहर पसेका थिए। समाजमा व्याप्त बेथिति देख्दा उनी निकै आक्रोसित हुन्थे र त्यसैको विरुद्ध लड्नुलाई नै आफ्नो धर्म मान्थे। पारिवारिक जीवन निकै उतारचढावपूर्ण रहे पनि उनले आफ्नो जोस कहिल्यै मर्न दिएनन्।
काठमाडौँको बलम्बुमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनले भ्रष्टाचारविरुद्धको आन्दोलन घोषणा हुनासाथ आफ्ना सारा दुःख भुलेर सडकमा निस्कन्थे। आन्दोलनका क्रममा 'मैले छातीमा गोली खानु परे पनि तयार छु' भनी परिवारसँग भन्ने गरेका उनी नभन्दै सोही आन्दोलनमा १८ जना सहिदमध्ये एक बने।
उनको निधनले ८७ वर्षीया आमा रामकुमारी र सिङ्गो परिवारलाई गहिरो शोकमा डुबाएको छ। 'आमा, म प्रधानमन्त्री नभई तिम्रो प्राण जाँदैन' भन्दै ठट्टा गर्ने छोराको काठको बाकसमा शव गाउँ आइपुग्दा चुनवाङ गाउँ नै शोकमा डुबेको थियो।
सरकारले उनलाई कात्तिक १८ गते सहिद घोषणा गर्दै परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। तर, उनका परिवारका सदस्यहरूले भने केवल पैसा मात्र नभई छत्रमान जस्ता सहिदले देखेको भ्रष्टाचारमुक्त समाजको सपना सरकारले पूरा गरिदिनुपर्ने माग राखेका छन्।
छत्रमानको बलिदानपछि उनको मजदुरी गरेर गुजारा चलाउने परिवारको विचल्ली भएको छ। श्रीमती र नानीहरू गाउँ फर्किएका छन्, तर उनीहरूको शिक्षा र जीविकोपार्जनको कुनै स्थायी स्रोत छैन। राज्यका लागि ज्यान आहुति दिने योद्धाको परिवारका लागि सरकारले अभिभावकत्व ग्रहण गरिदिनुपर्ने र बालबालिकाको पढाइको जिम्मेवारी लिनुपर्ने माग उनका भाइहरूले राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण