सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बालेन रफ्तार

ज्वागलबाट बालेनको सन्देश– वैकल्पिक शक्ति एक होऔँ, त्यसको केन्द्र मै हुँ

बिहीबार, १० पुस २०८२, २० : ४९
बिहीबार, १० पुस २०८२

सारांश

  • ललितपुरको ज्वागलमा मेयर बालेनको नेतृत्वमा वैकल्पिक राजनीतिको छलफल भयो, जसमा नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने कुरा भयो।
  • बालेनले रवि लामिछाने र कुलमान घिसिङसँगको सहकार्यको सम्भावनाबारे छलफल गरे, र पुरानो दलहरू विरुद्ध मोर्चा बनाउने संकेत गरे।
  • बालेनले 'देश विकास पार्टी' मार्फत राजनीतिक यात्रा अघि बढाउने र लौरो चुनाव चिह्न प्रयोग गर्ने तयारी गरेका छन्।

काठमाडौँ । ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकार (बेन) को घर मंगलबार र बुधबार नेपालको वैकल्पिक राजनीतिको मुख्य केन्द्र बन्यो । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सक्रियतामा भएको दुई दिने ‘म्याराथन’ छलफलले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । मेयर बालेनले ज्वागलबाट प्रस्ट सन्देश दिएका छन्, अब उनी स्थानीय राजनीतिमा मात्र सीमित रहने छैनन्, संसदीय राजनीतिको मोर्चा सम्हाल्न तयार छन् । 

उनले छरिएर रहेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा आउन अपिल गर्दै त्यसको नेतृत्व र केन्द्र आफू नै भएको संकेत गरेका छन् । ‘सबै वैकल्पिक शक्तिलाई आफूतिर केन्द्रित गर्दै पुराना दलहरू विरुद्ध एउटै मोर्चा बनाउनुपर्ने बालनेको धारण देखियो,’ सहभागी एक भन्छन् । 

वैकल्पिक शक्तिको केन्द्र बन्ने बालेनको कसरत

मंगलबार बिहान साढे ७ बजे नै आफ्ना नजिकका मित्र कुमार बेनको घर ज्वागल पुगेका बालेनले दिनभरजसो विभिन्न शक्ति केन्द्र र अभियान्ताहरूसँग संवाद गरे । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, मन्त्री कुलमान घिसिङदेखि अधिकांश जेनजी अभियन्ताहरूसम्मलाई भेटेर आफ्नो योजना सुनाएका थिए । 

भेटका क्रममा बालेनले आफू सक्रिय राजनीतिमा आउन लागेको प्रस्ट पार्दै भने, ‘म आफैँ सक्रिय राजनीतिमा आउँदा वैकल्पिक शक्तिहरू पनि एक ठाउँमा आउँछन् । नत्र पुरानै राजनीतिक दललाई मत जाने हो भने देशको अवस्था फेरिँदैन । पार्टीको काम लगभग भइसकेको छ, अब ढिला नगरी सहकार्य गरौँ ।’ 

छलफलमा सहभागीहरूसँग बालेनले आफू पदका लागि मात्र नभई नयाँ पुस्ता (जेनजी) को माग र देशको आवश्यकताका कारण राष्ट्रिय राजनीतिमा होमिन लागेको बताएका थिए । उनले जेनजीहरूलाई रवि लामिछाने र कुलमान घिसिङ पनि सँगै हुन सक्ने भन्दै सकारात्मक भएको कुरा सुनाएका थिए भने रवि र कुलमानलाई मिलेरै जानुपर्ने बताएका थिए । 

‘यहाँ राजनीतिक दलको कुरा मात्रै होइन, देशको कुरा भएको हो । दलको कुरा गर्ने भएको भए म बालुवाटारमै हुन सक्ने मान्छे हो, तर अब मिलेर निकास दिऔं । एक भएर लडौँ,’ बालेनले रवि र कुलमान दुवैलाई यही कुरा भनेका उनीनिकट एक सदस्यले बताए । बालेनले पार्टी एकता वा एउटै पार्टी, नभए वैकल्पिक राजनीतिक मोर्चाबन्दीसमेत गरेर भए पनि पुराना दलहरूविरुद्ध लड्नुपर्ने बताएका थिए । 

बालेन र रविलाई मिलाउन ‘ताल्चा’

छलफलको सबैभन्दा रोचक पक्ष रास्वपा सभापति रवि लामिछाने र बालेनबिचको भेट बन्यो । यी दुई शक्ति नमिल्दासम्म वैकल्पिक राजनीति सफल नहुने भन्दै उपस्थित अभियन्ताहरूले उनीहरूलाई एकै कोठामा राखेर बाहिरबाट ‘पहरेदारी’ गरेका थिए । 

‘हामीले उहाँहरू नमिल्ने विकल्प नै छैन भनेर बन्द कोठामा राखिदिएका हौँ,’ छलफलमा सहभागी जेनजी अगुवा सुदन गुरुङले भने । झन्डै एक घण्टा लामो ‘वान टु वान’ वार्तापछि निस्किएका रविले छलफल सकारात्मक भएको र सहकार्यको विषय समयले बताउने प्रतिक्रिया दिएका थिए ।

को–को थिए सहभागी ?

ज्वागलको यो राजनीतिक जमघटमा विविध क्षेत्रका हस्तीहरूको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने सरकारका मन्त्री तथा उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ, कांग्रेस सांसद सुनिल शर्मा, स्वतन्त्र सांसद अमरेश कुमार सिंह, रास्वपा नेताहरू गणेश कार्की, शिशिर खनाल र असिम साह, हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार छलफलमा पुगेका थिए । 

घिसिङ र रविलाई एक्लाएक्लै भेटेका बालेनले अन्यलाई भने सामूहिक रूपमा भेटेका थिए । 

यस्तै कलाकार निश्चल बस्नेत, विशाल भण्डारी सामाजिक अभियन्ता सागर ढकाल, केपी खनाल र जेनजी अभियान्ताहरू रक्षा बम, पुरुषोत्तम यादव, रिजन राना, युजन राजभण्डारी, ओजस्वी थापा, जेम्स कार्की लगायतको बाक्लो उपस्थिति थियो । 

balen-with-genz

लौरो चिह्न र देश विकास पार्टीको तयारी

स्रोतका अनुसार बालेनले निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’मार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने तयारी गरेका छन् । उनले आफ्नो चर्चित चुनाव चिह्न ‘लौरो’ लाई नै प्रयोग गर्ने गरी टिम निर्माण गरिरहेको छलफलमा सहभागीहरूलाई बताएका थिए । 

बुधबार राति भएको छलफलमा उनले प्रत्यक्ष निर्वाचन लड्न सक्ने सम्भावित उम्मेदवारहरूसँग छलफल गरेका थिए । त्यसमा उनले बौद्धिक समूहदेखि भाइरल भएकाहरूसँग समेत छलफल गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप