मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौ प्रश्न

आफ्नो अज्ञानता उजागर गर्न कविता लेख्छु : मौन आवाज

‘लेखनमा उद्देश्य जोडिनु योजनाबद्ध षड्यन्त्र हो’
शनिबार, १२ पुस २०८२, १० : ००
शनिबार, १२ पुस २०८२

सारांश

  • Moun Aawaj (Shyam Balami), a prominent figure in contemporary Nepali poetry, is currently working on his second book.
  • He is the editor of several magazines and also serves as the chairman of Chandragiri Journalists Association and Shonitpur Media Pvt. Ltd.
  • In an interview, Balami discusses his views on poetry, his journey in the world of poetry, and the importance of poetry in society.
00:00 / NaN:NaN
Audio By AI

चन्द्रागिरि नगरपालिकाको थानकोटमा बसोबास गर्ने मौन आवाज (श्याम बलामी) समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर हुन् । वि.सं. २०७१ मा ‘यो शताब्दीमा म पनि छु’ कविता सङ्ग्रह लिएर पाठकमाझ आएका मौन आवाज यतिबेला आफ्नो दोस्रो कृतिको तयारीमा छन् ।

उनी चिहान मासिक, सुन्दर गोरेटो, प्रतिबिम्ब मासिक एवं बलामी आवाजका सम्पादक एवं प्रधान सम्पादक पनि हुन् । साथै, चन्द्रागिरि पत्रकार संघको अध्यक्ष र शोणितपुर मिडिया प्रालिको अध्यक्षको भूमिका निर्वाह गरिरहेका उनै मौन आवाजसँग रातोपाटीको ‘नौ प्रश्न’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी–

१. तपाईंको लागि कविता के हो ? कविता लेख्दा सबैभन्दा चुनौतीपूर्ण कुरा के हुन् ?

मेरो निम्ति कविता अलिकति आफू कतै छु कि त भनेर छामी हेर्ने प्रयत्न जस्तो लाग्छ ।

आत्मगत एवं मनोगत दुवै दृष्टिबाट कवितामा म अस्तित्व बोधको केही अंश अनुभूत गर्छु । जस्तो कि, पर्याप्त रिक्तताले भरिएको पूर्ण शून्यताको अवस्थामा म कविताको आह्वान गर्छु ।

हृदयले हार मानिरहेको र मस्तिष्क थाकिरहेको बेलामा म कविता लेख्छु र कुनै अलौकिक ऊर्जा प्राप्त गर्छु । मेरो लागि कविता सत्यताको खोजीको काल्पनिक यात्रा हो जस्तो लाग्छ । म आत्मरति पूरा गर्न र आफ्नो अज्ञानता उजागर गर्न कविता लेख्छु ।

म आफ्नो निजी कुण्ठा, तृष्णा, अप्राप्ति शान्त पार्न साथै आफ्नो भावनाको अतिरिक्त नग्नता छोप्न अक्षरको सहारा लिन्छु र कविता लेख्छु । हुन त म, मजस्तै एउटा अर्को मान्छेको लागि पनि कविता लेख्ने प्रयास गर्छु ।

कविताको परिभाषाको सन्दर्भमा मलाई के लाग्छ भने, जसरी जिन्दगीको कुनै एक निश्चित परिभाषा हुँदैन, त्यस्तै कविताको पनि कुनै निश्चित र सार्वभौम परिभाषा हुँदैन । कविता लेखनका चुनौतीको विषयमा कविको मनोदशा, काल, परिवेश तथा स्थान अन्तर्गतको वातावरणमा निर्भर रहन्छ जस्तो लाग्छ ।

२. कविताको दुनियाँमा कसरी आइपुग्नु भयो ? आफ्नो यात्राबारे केही बताइदिनु न ?

राम्रो प्रश्न सोध्नुभयो । कविताको दुनियाँ ! आहा क्या गज्जब प्रश्न ! म जीवनकै बाटो हिँडेर कविताको दुनियाँमा आएको हुँ । फर्केर हेर्दा केही नदेखिने भएपछि, पोखिएको समेट्न नसकिने भएपछि र दुखिरहने घाउ तथा केही चोटपटकहरूको उपचारका लागि म कविताको दुनियाँमा आएको हुँ ।

ब्रह्मा, ब्रह्माण्ड, जीवन–मृत्यु, अस्तित्व,अ–अस्तित्व, वाद, विचार, दर्शन लगायत गज्याङमज्याङ चिन्तनले निकास खोजेको बेला जीवनको कठोर बाटोबाट म कविताको दुनियाँमा आएको हुँ । मेरो कविता लेखनको यात्रा शून्य प्राप्तिको यात्रा भएको हुनाले यो प्रश्नको जबाफमा म मौन रहन चाहन्छु ।

३. तपाईं कविता किन लेख्नु हुन्छ ? कविता लेखनका कुनै उद्देश्य छन् कि ?

म कविता अथवा जुनसुकै रचना, सिर्जनाको उद्देश्य हुनुपर्छ भन्ने नै ठान्ने मान्छे हुँ । यद्यपि, म उद्देश्यद्वारा ग्रस्त भएर कविता लेख्दिनँ वा लेख्न सक्दिनँ । म सायद मेरै मनो–चिन्तनद्वारा श्रापित छु । त्यसैले निरुद्देश्य कविता लेख्न अभिसप्त छु ।

मलाई लाग्छ, लेखनमा उद्देश्य जोडिनु योजनाबद्ध षड्यन्त्र हो । निर्दिष्ट विचारधारात्मक प्रस्तावनाद्वारा लेखिने साहित्यले अन्ततः एउटा निश्चित वर्गको मात्रै पक्षपोषण गर्छ । म कविता किन लेख्छु र मेरो कविता लेखनको उद्देश्य के हो भन्ने जुन तपाईंको प्रश्न हो, त्यो मेरो पनि प्रश्न हो ।

४. यो समाजलाई कविताको आवश्यकता किन छ ? कविताको शक्तिलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?

जुनसुकै समाजको एउटा जीवन्त भाषा हुन्छ । त्यो भाषा, साहित्य हो । मानव सभ्यताको इतिहासमा समाज निर्माणको प्रमुख दस्ताबेज नै साहित्य हो । समाज–व्यवस्थामा प्रचलित परम्परा तथा संस्कृतिको जगको रूपमा विकास भएका लिखित–अलिखित लोकसाहित्य नै आजको समुन्नत सांस्कृतिक सम्पदा हो । आदिम युगदेखि अहिलेसम्मको समाजयात्रामा हामीले प्राप्त गरेका सबै आत्मिक, भावनात्मक र सामूहिक सम्बन्ध सुदृढीकरणको सेतु साहित्य कै योगदान हो ।

विडम्बना ! दक्षिण एसियाली देशहरूले बिस्तारै आफ्नो समाज–साहित्यको मौलिक चरित्र बिर्सिँदै गएको हुनाले यी देशहरू अस्तित्व सङ्कटमा छन् । भाइचारा, बन्धुत्व र पारिवारिक सम्बन्ध जटिल बन्दै गएको छ । मेरो निष्कर्ष के हो भने नेपाली समाजले छलफल गर्नुपर्ने र पुनर्विचार गर्नुपर्ने थुप्रै विषय देखा परेका छन् । मुलुकको राजनीतिक प्रणालीदेखि संविधानमा उल्लेखित प्रावधानहरू समेतको पुनर्संरचना आवश्यक देखिएको छ । यद्यपि, अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय नेपाली साहित्यले बिराएको बाटो सच्याउनु पनि हो ।

५. समकालीन नेपाली कविताको अवस्था यहाँले कस्तो देख्नुभएको छ ?

समकालीन शब्दको अर्थ सीमितता हो कि असीमितता ? समकालीन सन्दर्भभित्र समग्र वैश्विक घटना एवं दुर्घटनाहरू, युद्ध, हिंसा, कुपोषण, विज्ञान, प्रविधि, आविष्कार तथा दर्शन निर्माणको चेष्टा समेटिन्छ कि समेटिँदैन ?

अर्थात् नेपाली साहित्यको कविता विधामा प्रयुक्त कला, विचार, मौलिक सौन्दर्य तथा त्यसले स्थापना गर्न खोजेको मूल्य वा दार्शनिक आग्रहले समकालीन समयको सर्वव्यापी चेतनाको प्रतिनिधित्व गरिरहेको छ कि छैन ? छ भने नेपाली कविता उन्नत छ । छैन भने बेकार छ !

६. अन्तिम पटक कुन कृति पढ्नु भएको थियो ? यो कृति कस्तो थियो ? यसबारे हाम्रा पाठकलाई केही बताइदिनु न ।

अन्तिम पटक अर्थात् त्यसपछि नपढ्नेगरि कुनै कृति पढेको छैन (मरि नसक्या भएर) । तथापि, पढ्दै गरेका र फेरि दोहोर्‍याएर पढेका पुस्तकहरू असङ्ख्य छन् । लोलिता, गीता, बाइबल, कामसूत्र, कम्युनिस्ट मेनिफिस्टो, चाणक्यको अर्थशास्त्र, नेपालको संविधान, सिद्धार्थ र मैले देखेको नेपाल पढ्दै दोहोर्‍याउँदै आएका पुस्तकहरू हुन् । यीमध्ये औपन्यासिक कृति सिद्धार्थले मलाई दुईवटा अर्थले आकर्षित गरेको थियो, छ ।

पहिलो, बुद्ध दर्शनको समानान्तर दृष्टिकोणको फरक प्रस्तुति तथा उच्च साहित्यिक मूल्यसहितको एक नवीन प्रस्तावना । दोस्रो, अलिकति डरलाग्दो पक्ष, पश्चिमा विस्तारवादको चर्को, तर नसुनिने ध्वनिसहितको नियमित अतिक्रमण कै निरन्तरता ! (पूर्वीय संस्कृतिको सनातन चिन्तनमाथि) यो मेरो निजी र गलत बुझाइ पनि हुनसक्छ । यद्यपि, विमर्श गर्न सकिन्छ ।

७. आफूलाई झक्झकाएको कम्तीमा कुनै एउटा साहित्यिक कृतिलाई सम्झिनपर्‍यो भने तपाईं कुन कृतिलाई सम्झिनु हुन्छ र किन ?

बीपी, ध्रुवचन्द्र गौतम, अविनाश श्रेष्ठ, कुमार नगरकोटी, आहुति, नारायण ढकाल, हरि अधिकारी, प्रेमा शाह, पारिजातलगायतको प्रायः पुस्तकले प्रभावित पारेका छन् । शंकर लामिछाने पनि मनपर्छ । अरू धेरै वा सबै जसले नेपाली मौलिक लेखनको परम्परामा अन्तर्राष्ट्रियस्तरको दृष्टिकोण खडा गरेका छन् । लक्ष्मी प्रसाद देवकोटा अलिकति विशेष लाग्छ ।

त्यस्तै, समकालीन साहित्य विधाका विविध प्रयोगात्मक रुचि परेका पुस्तकहरू पनि भ्याएसम्म (पैसाले) पढ्ने गरेको छु । खास त्यस्तो एउटै मात्र पुस्तक मन परेको अथवा सम्झिरहन लायक भेट्टाएको छैन ।

८. लेखेर हालसम्म पाएको वा गुमाएको कुरा के हो ?

मैले अहिलेसम्म लेखेर अपूरणीय केही गुमाएको वा अविस्मरणीय केही पाएको छैन । प्राप्ति र अप्राप्तिको चाहना पनि छैन । लेख्नु मेरो अनिवार्य दायित्व पनि होइन । नलेख्न मलाई कुनै बन्देज पनि छैन । यति भएर पनि केही मानवीय त्रुटि एवं चिन्तनगत गडबडीका कारण केही पाएको जस्तो, केही गुमाएको जस्तो अमूर्त अनुभूति भने भइरहने रैछ ।

९. अबचाहिँ कुरा यहाँको पछिल्लो कृति ‘यो शताब्दीमा म पनि छुँ’तिर मोडेँ । पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ?

प्रकृतिलाई छोडेर कुनै पनि कृति पढ्नैपर्छ भन्ने अनिवार्य सर्त हुँदैन । कस्ता–कस्ता ज्ञान–विज्ञान र दर्शनका पुस्तक नपढेर त भएको छ भने मेरो उक्त पुस्तक पढ्नैपर्छ भनेर सिफारिस गर्न मसँग यथोचित आधार छैन ।

यद्यपि, ‘यो शताब्दीमा म पनि छु’ भन्ने स्व–अस्तित्व बोधको आदर्शमय मान्यतालाई प्रेरणाका रूपमा जीवित राखिराख्न उक्त पुस्तक खोजेर पढ्न म पाठकलाई आग्रह गर्छु । तर, यो सत्य हो कि त्यो पुस्तक बजारमा पाइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप