आफ्नो अज्ञानता उजागर गर्न कविता लेख्छु : मौन आवाज
सारांश
- Moun Aawaj (Shyam Balami), a prominent figure in contemporary Nepali poetry, is currently working on his second book.
- He is the editor of several magazines and also serves as the chairman of Chandragiri Journalists Association and Shonitpur Media Pvt. Ltd.
- In an interview, Balami discusses his views on poetry, his journey in the world of poetry, and the importance of poetry in society.
चन्द्रागिरि नगरपालिकाको थानकोटमा बसोबास गर्ने मौन आवाज (श्याम बलामी) समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर हुन् । वि.सं. २०७१ मा ‘यो शताब्दीमा म पनि छु’ कविता सङ्ग्रह लिएर पाठकमाझ आएका मौन आवाज यतिबेला आफ्नो दोस्रो कृतिको तयारीमा छन् ।
उनी चिहान मासिक, सुन्दर गोरेटो, प्रतिबिम्ब मासिक एवं बलामी आवाजका सम्पादक एवं प्रधान सम्पादक पनि हुन् । साथै, चन्द्रागिरि पत्रकार संघको अध्यक्ष र शोणितपुर मिडिया प्रालिको अध्यक्षको भूमिका निर्वाह गरिरहेका उनै मौन आवाजसँग रातोपाटीको ‘नौ प्रश्न’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी–
१. तपाईंको लागि कविता के हो ? कविता लेख्दा सबैभन्दा चुनौतीपूर्ण कुरा के हुन् ?
मेरो निम्ति कविता अलिकति आफू कतै छु कि त भनेर छामी हेर्ने प्रयत्न जस्तो लाग्छ ।
आत्मगत एवं मनोगत दुवै दृष्टिबाट कवितामा म अस्तित्व बोधको केही अंश अनुभूत गर्छु । जस्तो कि, पर्याप्त रिक्तताले भरिएको पूर्ण शून्यताको अवस्थामा म कविताको आह्वान गर्छु ।
हृदयले हार मानिरहेको र मस्तिष्क थाकिरहेको बेलामा म कविता लेख्छु र कुनै अलौकिक ऊर्जा प्राप्त गर्छु । मेरो लागि कविता सत्यताको खोजीको काल्पनिक यात्रा हो जस्तो लाग्छ । म आत्मरति पूरा गर्न र आफ्नो अज्ञानता उजागर गर्न कविता लेख्छु ।
म आफ्नो निजी कुण्ठा, तृष्णा, अप्राप्ति शान्त पार्न साथै आफ्नो भावनाको अतिरिक्त नग्नता छोप्न अक्षरको सहारा लिन्छु र कविता लेख्छु । हुन त म, मजस्तै एउटा अर्को मान्छेको लागि पनि कविता लेख्ने प्रयास गर्छु ।
कविताको परिभाषाको सन्दर्भमा मलाई के लाग्छ भने, जसरी जिन्दगीको कुनै एक निश्चित परिभाषा हुँदैन, त्यस्तै कविताको पनि कुनै निश्चित र सार्वभौम परिभाषा हुँदैन । कविता लेखनका चुनौतीको विषयमा कविको मनोदशा, काल, परिवेश तथा स्थान अन्तर्गतको वातावरणमा निर्भर रहन्छ जस्तो लाग्छ ।
२. कविताको दुनियाँमा कसरी आइपुग्नु भयो ? आफ्नो यात्राबारे केही बताइदिनु न ?
राम्रो प्रश्न सोध्नुभयो । कविताको दुनियाँ ! आहा क्या गज्जब प्रश्न ! म जीवनकै बाटो हिँडेर कविताको दुनियाँमा आएको हुँ । फर्केर हेर्दा केही नदेखिने भएपछि, पोखिएको समेट्न नसकिने भएपछि र दुखिरहने घाउ तथा केही चोटपटकहरूको उपचारका लागि म कविताको दुनियाँमा आएको हुँ ।
ब्रह्मा, ब्रह्माण्ड, जीवन–मृत्यु, अस्तित्व,अ–अस्तित्व, वाद, विचार, दर्शन लगायत गज्याङमज्याङ चिन्तनले निकास खोजेको बेला जीवनको कठोर बाटोबाट म कविताको दुनियाँमा आएको हुँ । मेरो कविता लेखनको यात्रा शून्य प्राप्तिको यात्रा भएको हुनाले यो प्रश्नको जबाफमा म मौन रहन चाहन्छु ।
३. तपाईं कविता किन लेख्नु हुन्छ ? कविता लेखनका कुनै उद्देश्य छन् कि ?
म कविता अथवा जुनसुकै रचना, सिर्जनाको उद्देश्य हुनुपर्छ भन्ने नै ठान्ने मान्छे हुँ । यद्यपि, म उद्देश्यद्वारा ग्रस्त भएर कविता लेख्दिनँ वा लेख्न सक्दिनँ । म सायद मेरै मनो–चिन्तनद्वारा श्रापित छु । त्यसैले निरुद्देश्य कविता लेख्न अभिसप्त छु ।
मलाई लाग्छ, लेखनमा उद्देश्य जोडिनु योजनाबद्ध षड्यन्त्र हो । निर्दिष्ट विचारधारात्मक प्रस्तावनाद्वारा लेखिने साहित्यले अन्ततः एउटा निश्चित वर्गको मात्रै पक्षपोषण गर्छ । म कविता किन लेख्छु र मेरो कविता लेखनको उद्देश्य के हो भन्ने जुन तपाईंको प्रश्न हो, त्यो मेरो पनि प्रश्न हो ।
४. यो समाजलाई कविताको आवश्यकता किन छ ? कविताको शक्तिलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?
जुनसुकै समाजको एउटा जीवन्त भाषा हुन्छ । त्यो भाषा, साहित्य हो । मानव सभ्यताको इतिहासमा समाज निर्माणको प्रमुख दस्ताबेज नै साहित्य हो । समाज–व्यवस्थामा प्रचलित परम्परा तथा संस्कृतिको जगको रूपमा विकास भएका लिखित–अलिखित लोकसाहित्य नै आजको समुन्नत सांस्कृतिक सम्पदा हो । आदिम युगदेखि अहिलेसम्मको समाजयात्रामा हामीले प्राप्त गरेका सबै आत्मिक, भावनात्मक र सामूहिक सम्बन्ध सुदृढीकरणको सेतु साहित्य कै योगदान हो ।
विडम्बना ! दक्षिण एसियाली देशहरूले बिस्तारै आफ्नो समाज–साहित्यको मौलिक चरित्र बिर्सिँदै गएको हुनाले यी देशहरू अस्तित्व सङ्कटमा छन् । भाइचारा, बन्धुत्व र पारिवारिक सम्बन्ध जटिल बन्दै गएको छ । मेरो निष्कर्ष के हो भने नेपाली समाजले छलफल गर्नुपर्ने र पुनर्विचार गर्नुपर्ने थुप्रै विषय देखा परेका छन् । मुलुकको राजनीतिक प्रणालीदेखि संविधानमा उल्लेखित प्रावधानहरू समेतको पुनर्संरचना आवश्यक देखिएको छ । यद्यपि, अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय नेपाली साहित्यले बिराएको बाटो सच्याउनु पनि हो ।
५. समकालीन नेपाली कविताको अवस्था यहाँले कस्तो देख्नुभएको छ ?
समकालीन शब्दको अर्थ सीमितता हो कि असीमितता ? समकालीन सन्दर्भभित्र समग्र वैश्विक घटना एवं दुर्घटनाहरू, युद्ध, हिंसा, कुपोषण, विज्ञान, प्रविधि, आविष्कार तथा दर्शन निर्माणको चेष्टा समेटिन्छ कि समेटिँदैन ?
अर्थात् नेपाली साहित्यको कविता विधामा प्रयुक्त कला, विचार, मौलिक सौन्दर्य तथा त्यसले स्थापना गर्न खोजेको मूल्य वा दार्शनिक आग्रहले समकालीन समयको सर्वव्यापी चेतनाको प्रतिनिधित्व गरिरहेको छ कि छैन ? छ भने नेपाली कविता उन्नत छ । छैन भने बेकार छ !
६. अन्तिम पटक कुन कृति पढ्नु भएको थियो ? यो कृति कस्तो थियो ? यसबारे हाम्रा पाठकलाई केही बताइदिनु न ।
अन्तिम पटक अर्थात् त्यसपछि नपढ्नेगरि कुनै कृति पढेको छैन (मरि नसक्या भएर) । तथापि, पढ्दै गरेका र फेरि दोहोर्याएर पढेका पुस्तकहरू असङ्ख्य छन् । लोलिता, गीता, बाइबल, कामसूत्र, कम्युनिस्ट मेनिफिस्टो, चाणक्यको अर्थशास्त्र, नेपालको संविधान, सिद्धार्थ र मैले देखेको नेपाल पढ्दै दोहोर्याउँदै आएका पुस्तकहरू हुन् । यीमध्ये औपन्यासिक कृति सिद्धार्थले मलाई दुईवटा अर्थले आकर्षित गरेको थियो, छ ।
पहिलो, बुद्ध दर्शनको समानान्तर दृष्टिकोणको फरक प्रस्तुति तथा उच्च साहित्यिक मूल्यसहितको एक नवीन प्रस्तावना । दोस्रो, अलिकति डरलाग्दो पक्ष, पश्चिमा विस्तारवादको चर्को, तर नसुनिने ध्वनिसहितको नियमित अतिक्रमण कै निरन्तरता ! (पूर्वीय संस्कृतिको सनातन चिन्तनमाथि) यो मेरो निजी र गलत बुझाइ पनि हुनसक्छ । यद्यपि, विमर्श गर्न सकिन्छ ।
७. आफूलाई झक्झकाएको कम्तीमा कुनै एउटा साहित्यिक कृतिलाई सम्झिनपर्यो भने तपाईं कुन कृतिलाई सम्झिनु हुन्छ र किन ?
बीपी, ध्रुवचन्द्र गौतम, अविनाश श्रेष्ठ, कुमार नगरकोटी, आहुति, नारायण ढकाल, हरि अधिकारी, प्रेमा शाह, पारिजातलगायतको प्रायः पुस्तकले प्रभावित पारेका छन् । शंकर लामिछाने पनि मनपर्छ । अरू धेरै वा सबै जसले नेपाली मौलिक लेखनको परम्परामा अन्तर्राष्ट्रियस्तरको दृष्टिकोण खडा गरेका छन् । लक्ष्मी प्रसाद देवकोटा अलिकति विशेष लाग्छ ।
त्यस्तै, समकालीन साहित्य विधाका विविध प्रयोगात्मक रुचि परेका पुस्तकहरू पनि भ्याएसम्म (पैसाले) पढ्ने गरेको छु । खास त्यस्तो एउटै मात्र पुस्तक मन परेको अथवा सम्झिरहन लायक भेट्टाएको छैन ।
८. लेखेर हालसम्म पाएको वा गुमाएको कुरा के हो ?
मैले अहिलेसम्म लेखेर अपूरणीय केही गुमाएको वा अविस्मरणीय केही पाएको छैन । प्राप्ति र अप्राप्तिको चाहना पनि छैन । लेख्नु मेरो अनिवार्य दायित्व पनि होइन । नलेख्न मलाई कुनै बन्देज पनि छैन । यति भएर पनि केही मानवीय त्रुटि एवं चिन्तनगत गडबडीका कारण केही पाएको जस्तो, केही गुमाएको जस्तो अमूर्त अनुभूति भने भइरहने रैछ ।
९. अबचाहिँ कुरा यहाँको पछिल्लो कृति ‘यो शताब्दीमा म पनि छुँ’तिर मोडेँ । पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ?
प्रकृतिलाई छोडेर कुनै पनि कृति पढ्नैपर्छ भन्ने अनिवार्य सर्त हुँदैन । कस्ता–कस्ता ज्ञान–विज्ञान र दर्शनका पुस्तक नपढेर त भएको छ भने मेरो उक्त पुस्तक पढ्नैपर्छ भनेर सिफारिस गर्न मसँग यथोचित आधार छैन ।
यद्यपि, ‘यो शताब्दीमा म पनि छु’ भन्ने स्व–अस्तित्व बोधको आदर्शमय मान्यतालाई प्रेरणाका रूपमा जीवित राखिराख्न उक्त पुस्तक खोजेर पढ्न म पाठकलाई आग्रह गर्छु । तर, यो सत्य हो कि त्यो पुस्तक बजारमा पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण