मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
कार्यसम्पादन

गृहको त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, अरू कति नम्बरमा ? (सूचीसहित)

बुधबार, १६ पुस २०८२, ११ : ०१
बुधबार, १६ पुस २०८२

सारांश

  • गृह मन्त्रालयको मूल्याङ्कनमा मनाङ जिल्ला प्रशासन कार्यालय पहिलो भएको छ, जसले २८.७५ अंक प्राप्त गर्यो।
  • ललितपुर दोस्रो र धनकुटा तेस्रो स्थानमा रहे, जहाँ ललितपुरले २८.२५ र धनकुटाले २८.५ अंक प्राप्त गरे।
  • गृह मन्त्रालयले सेवा प्रवाह, कार्यसम्पादन क्षमता लगायतका मापदण्डका आधारमा नियमित कार्यसम्पादन मूल्याङ्कन गर्दछ।

काठमाडौँ । गृह मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो भएको छ ।

पहिलो त्रैमासिकको २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अंक प्राप्त पहिलो भएको हो । मनाङमा उपसचिव नवराज पौड्याल प्रमुख जिल्ला अधिकारी छन् ।

७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये दोस्रो स्थानमा जिल्ला प्रशासन कार्यालय ललितपुर देखिएको छ । ललितपुरले सोही पुर्णाङ्कमा २८.२५ नम्बर पाएको छ । ललितपुरमा प्रमुख जिल्ला अधिकारी सहसचिव प्रेमप्रसाद भट्टराई छन् ।

तेस्रोमा जिल्ला प्रशासन कार्यालय धनकुटा परेको छ । धनकुटाले सोही पुर्णाङ्कमा २८.५ अंक पाएको छ । धनकुटामा सहसचिव विनोदकुमार खड्का प्रमुख जिल्ला अधिकारी छन् ।

गृहले जिल्लाहरूलाई तीन वर्गमा छुट्याएको छ । मनाङ 'ग' वर्गमा थियो । ललितपुर 'क' वर्ग र धनकुटा 'ख' वर्गको जिल्लामा वर्गीकरण गरिएको छ ।

उत्कृष्ट नतिजा हासिल गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी पौड्‍याल इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख थिए । अस्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिष्ट पौड्याल खुल्लाबाट उपसचिव बनेका थिए । उनी भदौ ४ गते मनाङमा हाजिर भएका थिए ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा खड्का प्रमुख जिल्ला अधिकारीका रूपमा गत कात्तिक १७ गतेदेखि कार्यरत छन् । ललितपुरमा भट्टराई कात्तिक १२ गतेबाट जिम्मेवारी सम्हालेका थिए ।

गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। यही कार्यसम्पादन मूल्याङ्कनका आधारमा अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाउने नपठाउने पनि तय गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप