बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी बलर अली खानलाई भारतले भिसा दिन अस्वीकार गरेको दाबी

बुधबार, ३० पुस २०८२, ११ : ४२
बुधबार, ३० पुस २०८२

सारांश

  • २०२६ को टी-२० विश्वकपको लागि अमेरिकी बलर अली खानलाई भारतले भिसा दिन अस्वीकार गरेको छ।
  • विश्वकपको उद्घाटन खेल भारत र अमेरिकाबीच मुम्बईमा हुँदैछ, तर खानको भिसा रोकिएपछि अन्योल बढेको छ।
  • पाकिस्तान र भारतबीचको सम्बन्धका कारण पाकिस्तानी मूलका खेलाडीहरूलाई भिसा पाउन समस्या भइरहेको छ।

नयाँ दिल्ली । सन् २०२६ को टी-२० विश्वकप सुरु हुन केही साता मात्र बाँकी छँदा अमेरिकी तीव्र गतिका बलर अली खानले भारतले आफूलाई भिसा दिन अस्वीकार गरेको दाबी गरेका छन्। पाकिस्तानमा जन्मिएका ३५ वर्षीय खानले आफ्नो इन्स्टाग्राममार्फत भारतले भिसा नदिएको जानकारी गराएका हुन्। विश्वकपको उद्घाटन खेल आगामी फेब्रुअरी ७ मा मुम्बईमा आयोजक भारत र अमेरिकाबीच हुँदैछ, तर प्रमुख बलर खानको भिसा रोकिएपछि अमेरिकी टोलीमा अन्योल थपिएको छ। हाल श्रीलंकाको कोलम्बोमा प्रशिक्षण क्याम्पमा रहेका खानले यसबारे थप विवरण भने खुलाएका छैनन्। 

खानबाहेक अमेरिकाको टोलीमा रहेका अन्य पाकिस्तानी मूलका खेलाडीहरू एहसान आदिल र मोहम्मद मोहसिनको भिसाको विषयमा पनि चासो बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस विषयमा आधिकारिक टिप्पणी नगरे पनि समस्या समाधानका लागि पहल गरिरहेको र चाँडै निकास निस्कनेमा विश्वस्त रहेको बुझिएको छ। गत वर्षको अन्त्यमा अमेरिका क्रिकेट निलम्बनमा परेपछि टोलीको प्रशासनिक र लजिस्टिक जिम्मेवारी आईसीसीले नै सम्हाल्दै आएको छ।

भिसाको यो समस्या अमेरिकी खेलाडीमा मात्र सीमित छैन। इङ्ल्यान्डका पाकिस्तानी मूलका खेलाडीहरू आदिल राशिद र रेहान अहमदले पनि हालसम्म भिसा पाएका छैनन्। भारत र पाकिस्तानबीचको बिग्रँदो कूटनीतिक र राजनीतिक सम्बन्धका कारण अन्य देशका नागरिक भए पनि पाकिस्तानी मूलका खेलाडीहरूले भारतको भिसा पाउन सास्ती खेप्नु परिरहेको छ। यसअघि पनि इङ्ल्यान्डका शोएब बसिर र अस्ट्रेलियाका उस्मान खवाजाले भिसा पाउन ढिलाइ बेहोरेका थिए भने २०२३ को एकदिवसीय विश्वकपमा पाकिस्तानको पूरै टोलीको भिसामा ढिलाइ भएको थियो।

विश्वकपमा समूह ‘ए’ मा रहेको अमेरिकाले आफ्ना चारमध्ये तीन खेल भारतमा खेल्ने तालिका छ। मुम्बईमा भारतसँगको उद्घाटन खेलपछि अमेरिकाले कोलम्बोमा पाकिस्तानसँग र त्यसपछि चेन्नईमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्नेछ। 

विश्वकप सह-आयोजक श्रीलंका र भारत दुवै देशका लागि भिसा प्रक्रियाको जिम्मेवारी सम्बन्धित बोर्डको भए पनि अमेरिकाको हकमा भने आईसीसीले यो प्रक्रिया अघि बढाइरहेको छ। ओमान, युएई र इटाली जस्ता देशहरूले पनि आफ्ना पाकिस्तानी मूलका खेलाडीको भिसालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप