काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका सबै ९ जिल्लामा उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा मात्रै ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्।
कैलाली क्षेत्र नं १ मा सबैभन्दा बढी १९ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २, ४ र ५ मा समान १६–१६ जनाले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं ३ मा ११ जनाको उम्मेदवारी परेको छ। कैलाली क्षेत्र नं ४ बाट नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दिएका छन्।
सुदूरपश्चिमका अन्य चर्चित नेताहरूमध्ये अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल, कञ्चनपुर–२ बाट नेपाली कांग्रेसका एनपी साउद र बैतडीबाट कांग्रेसका चतुरबहादुर चन्द तथा एमालेका दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशमा १६ सिटमा २ सय १० जनाले उम्मेदवारी दिएका छन् । मंगलबार सम्पन्न भएको मनोनयन दर्ता कार्यक्रमको समयभित्र सुदूरपश्चिमका ९ जिल्लाका प्रतिनिधिसभा तर्फ १६ निर्वाचन क्षेत्रबाट २ सय १० जना उम्मेदवार भिड्ने भएका हुन् ।
सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा उम्मेदवारहरू पनि बढी छन् । यहाँ ५ सिटका लागि ७८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कैलाली –१ मा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कैलाली–२, ४ र ५ मा १६/१६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ३ मा ११ जनाले दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट अर्थ विश्लेषक हरि रोकाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका रोकाले आफू किसानहरूको मुद्दा ओझेलमा परेकाले उनीहरूकै आवाज बुलन्द पार्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। विगत चार वर्षदेखि गाउँमै बसेर कृषि कर्ममा सक्रिय रोकाले उम्मेदवारी दर्तापछि आफू अहिले पनि किसान नै रहेको र कृषककै पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा रोकासहित कुल १३ जनाको उम्मेदवारी परेको छ। जसमा दुई जना स्वतन्त्र र ११ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेका छन्। जिल्लामा मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका ठूला दलहरूमध्ये नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा (एमाले) बाट देवविक्रम राईले उम्मेदवारी दर्ता गराएका छन्।
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट ६ स्वतन्त्र सहित १२ राजनीतिक दलले उमेदवारी दर्ता गराएका छन् ।
६ स्वतन्त्र उमेदवार सहित १२ राजनीतिक दलका २२ जना उमेदवार चुनावी मैदानमा उत्रेका हुन् । दुई क्षेत्र रहेको स्याङ्जामा फागुन २१ गते हुने निर्वाचनका लागि २८ जना उमेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्याङ्जा क्षेत्र नम्बर १ बाट १३ जनाले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नम्बर २ बाट १५ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा २ जना स्वतन्त्र उमेदवार र क्षेत्र नम्बर २ मा ४ जना स्वतन्त्र उमेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । यो पटकको निर्वाचनमा उज्यालो पार्टी र श्रम संस्कृति पार्टीले समेत उमेदवारी दर्ता गराएको छ ।
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
सहायक निर्वाचन अधिकृत गम्भीर राना मगरका अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिकाबिच उम्मेदवारी दर्ता सम्पन्न भएको हो।
नेपाली कांग्रेसले यसपटक नेता भरतबहादुर खड्कालाई अघि सारेको छ। हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित खड्का २०७० सालमा समानुपातिक सांसद थिए भने २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।
रुकुम पूर्व । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा १२ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका हुन्। यस जिल्लामा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत उम्मेदवारी दर्ता गराएपछि चुनावी सरगर्मी निकै बढेको छ।
प्रचण्डसँगै नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा (एमाले) बाट लिलामणि गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यस्तै राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट जुद्धबहादुर बुढामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट ज्योति रोका मगर र नेशनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा चुनावी मैदानमा उत्रिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन र जनता समाजवादी पार्टीबाट सिरबहादुर बुढाले पनि मनोनयन दर्ता गराएका छन्। यस्तै अमरसिंह पुनले भने स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो दाबेदारी पेश गरेका छन्। शीर्ष नेताकै उम्मेदवारी परेपछि रुकुम पूर्वको चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक हुने अनुमान गरिएको छ।
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। जिल्लाभर कुल ९० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईँले जानकारी दिए।
निर्वाचनमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। क्षेत्र नं ५ मा सबैभन्दा बढी ९ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। यस्तै, क्षेत्र नं १ मा दुई स्वतन्त्रसहित १५ जना, क्षेत्र नं २ मा तीन स्वतन्त्रसहित १८ जना र क्षेत्र नं ३ मा दुई स्वतन्त्रसहित १७ जनाले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं ४ मा भने एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुनः उम्मेदवारी दर्ता गराएका छन्। ठूला दलका शीर्ष नेता, चर्चित युवा अनुहार र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थितिले झापाको चुनावी माहोल यसपटक निकै रोचक र चुनौतीपूर्ण हुने देखिएको छ।
तस्बिरः नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएपछि अस्मिता थापा
ओखलढुंगा । पूर्वी पहाडी जिल्ला ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ३ जना स्वतन्त्रसहित १३ राजनीतिक दलले उम्मेदवारी दिएका हुन् ।
विक्रम दाहाल, नारायणकाजी तामाङ र सन्त बहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दिँदा नेपाली कांग्रेसबाट कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विश्वराज पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट अम्बिरबाबु गुरुङ र श्रम संस्कृति पार्टीबाट उद्धव कुमार राईले उम्मेदवारी दिएका हुन् ।
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौवटा दलका प्रतिनिधिले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए। निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको मनोनयनसँगै जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ।
उम्मेदवारी दर्ता गराउनेहरूमा नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी रहेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाहीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल विक्रम शाही र नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तबहादुर रावलले भने स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्।
बुटवल । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ ।
उक्त क्षेत्रमा पूर्वमन्त्री देवेन्द्रराज कँडेल र कांग्रेस नेता भीमबहादुर थापा (भरत) ले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले दुवै जनालाई टिकट दिएपछि सुरुमा थापाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि पूर्वमन्त्री कँडेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको छ । कँडेल उम्मेदवारी दर्ताको तयारीका साथ निर्वाचन अधिकृतको कार्यालयमा आउँदै गर्दा थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
इलाम । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा १४ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न दलका उम्मेदवारहरूको उम्मेदवारी दर्ता गरिएको हो ।
यो क्षेत्रमा नेकपा एमालेबाट पूर्वसांसद सुहाङ नेम्बाङ उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले भेषराज आचार्यलाई उम्मेदवार खडा गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट ओम बहादुर गुरुङ उम्मेदवार बनेका छन् ।
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत जिल्लामा उत्साहजनक उम्मेदवारी दर्ता भएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीलाई अघि सारेको छ भने नेकपा एमालेबाट पूर्व मन्त्री तथा केन्द्रीय सदस्य पदम गिरी मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका मनहरी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कृष्ण बहादुर विक पनि उम्मेदवार छन् । यस्तै राप्रपाका दुर्गा बहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपानेले मनोनयन दर्ता गराए ।
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सकिएको छ ।
प्राप्त विवरण अनुसार दुवै क्षेत्रमा २७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले उम्मेदवारी दिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हरि राज अधिकारी उम्मेदवार बनेका छन् ।
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट विष्णुकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा (एमाले) बाट ध्रुव कुमार शाही चुनावी मैदानमा उत्रिएका छन् ।
काठमाडौँ । धादिङ–२ मा एमालेको उम्मेदवारी दर्तामा अनौठो दृश्य देखिएको छ । केन्द्रले दिएको टिकट हाइज्याक भएको भन्दै नेता धनबहादुर घले समर्थितले प्रतिरोध गरेर आफैँ उम्मेदवारी दिएका हुन् ।
केन्द्रले सुरुमा उक्त क्षेत्रबाट घलेलाई उम्मेदवार बनाउने निर्णय गर्दै सूची सार्वजनिक गरेको थियो । त्यही अनुसार उनलाई टिकट समेत दिइसकिएको थियो ।
तर, सोमबार केन्द्रले नाम संशोधन गर्दै चन्द्र रिजाललाई उम्मेदवार बनाउने भनेपछि घले समर्थित युवाले पार्टी कार्यालयमा तालाबन्दी नै गरे ।
पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरण अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका हुन् ।
यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट तिल बहादुर महत क्षेत्रीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसका ओम प्रकाश पुन उम्मेदवार भएका छन् । नेपाली कम्युनिष्ट पार्टी गणेशमान महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रुनकुमारी महतोले उम्मेदवारी दिएकी छिन् ।
जनकपुरधाम । नेकपा एमालेबाट महोत्तरी क्षेत्र नम्बर ४ मा एकल सिफारिस भएका पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएनन् ।
आफ्ना क्षेत्रका जनताको सुझावलाई सम्मान गर्दै उनले स्वेच्छिक रूपमा उम्मेदवारी नदिएर निलम अधिकारीलाई अगाडि सारेका हुन् ।
रातोपाटीसँग कुरा गर्दै यादवले जनताले आफूलाई पाँच वर्षका लागि जिताएर पठाएको र अधुरा काम पहिले पूरा गर्न सुझाव दिएको बताए। 'जनताले हामीले तपाईंलाई पाँच वर्षका लागि जिताएर पठाएका छौं, अधुरा काम पहिले पूरा गर्नुस् भन्दै सुझाव दिएका छन्,' यादवले भने, 'जनताको यही भावना र क्षेत्रीय सल्लाहलाई सम्मान गर्दै मैले स्वेच्छिक रूपमा उम्मेदवारी नदिएको हुँ ।'
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा कांंग्रेसका २ जना आधिकारिक उम्मेदवारले मनोनयन गरेका छन् ।
गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले सभापति गगनकुमार थापाकै हस्ताक्षर भएको टिकट देखाएर मनोनयन गराएका हुन् । स्रोतका अनुसार थापाले पहिलै आलेलाई टिकट दिएर पठाएका थिए । पछि घिमिरेले पनि टिकट पाएका हुन् ।
नवलपुर १ मा १९ जनाले उम्मेदवारी दिएका छन् । ४ जना स्वतन्त्र र १५ जना दलका उम्मेदवारहरु मैदानमा उत्रिएका हुन् । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट भागिरथ सापकोटाले उम्मेदवारी दिएका छन् ।
वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले पर्साको राजनीतिक सरगर्मी बढाएको छ ।
चार वटै निर्वाचन क्षेत्रमा परेको ‘हेभीवेट’ उम्मेदवारीले जिल्लाको राजनीतिक माहोल नै तताएको छ । पूर्वमन्त्रीहरू नै यो वर्ष पुनः उम्मेदवार बनेपछि जिल्लाको राजनीतिक माहोल चुनावमय बनिसकेको छ ।
पूर्वमन्त्रीहरू क्षेत्र नम्बर १ मा प्रदीप यादव, क्षेत्र नम्बर २ मा अजयकुमार चौरसिया, क्षेत्र नम्बर–३ मा सुरेन्द्रप्रसाद चौधरी र क्षेत्र नम्बर ४ मा रमेश रिजालले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई परम्परागत र नयाँ वैकल्पिक राजनीतिक दलहरूबिचको ‘जनमत सङ्ग्रह’ को रूपमा हेरिएको छ। ‘जेनजी विद्रोह’ को बलमा गत भदौ २४ गते जननिर्वाचित केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि उत्पन्न विशेष परिस्थितिमा यो निर्वाचन हुन लागेको हो।
निर्वाचन हुने/नहुने संशयका बिच मंगलबार देशभरका १६५ निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गगनकुमार थापाले विद्रोह गरी पार्टी नेतृत्व हत्याउँदै शेरबहादुर देउवाको विरासत अन्त्य गरेका छन्। गगनको विद्रोहलाई निर्वाचन आयोगले मान्यता दिएको छ।
आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका कार्यवाहक पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। काठमाडौँ–४ का स्थायी बासिन्दा थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाहीबाट उम्मेदवारी दिएका छन्। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ।
भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।
कालिकोट स्थायी घर भएका प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार सङ्घ नेपालका अध्यक्ष जैसीले पार्टी अध्यक्ष परिषद्का सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता लगत्तै जैसीले आफ्नो चुनाव चिन्ह ‘आँखा’ रहेको स्पष्ट पार्दै अब आँखा चिम्लेर होइन, आँखा खोलेर राजनीति गर्ने समय आएको उल्लेख गर्दै समस्या देख्ने र समाधान खोज्ने राजनीतिको आवश्यकता औँल्याएका छन् ।
नेपालगञ्ज । बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ । यही फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा पूर्वमन्त्री, पार्टीका जिल्ला सचिव र नगर उपप्रमुखसहित २२ जनाले मनोनयन दर्ता गराएको क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई तोकेको समयमा उम्मेदवारहरू दलबल र बाजागाजासहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।
यहाँ नेकपा एमालेबाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाली कांग्रेसबाट पार्टीका जिल्ला सचिव सुधांशु कोइराला र जनता समाजवादी पार्टी (नेपाल) बाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले मनोनयन दर्ता गराएका छन्।
पर्सा । नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा रूपेश कुमार पाण्डेले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पाण्डेले आफ्नो मुख्य उद्देश्य यस क्षेत्रको चौतर्फी विकास रहेको बताए ।
वीरगञ्ज । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सामा उल्लासपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार क्षेत्रका लागि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन एक सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
चार सिटका लागि १०९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीले जानकारी दिए ।
क्षेत्र नम्बर १ मा ३०, क्षेत्र नम्बर २ मा ३२, क्षेत्र नम्बर ३ मा २३ र क्षेत्र नम्बर ४ मा २४ जनाको उम्मेदवारी परेको हो । मुख्य दलहरूसँगै स्वतन्त्र उम्मेदवारी पनि चार वटै क्षेत्रमा परेको निवाचन कार्यालयले जनाएको छ ।