नेपालको आत्मा : सनातन सभ्यता र राष्ट्रिय एकता
सारांश
- लेखले नेपालको इतिहास, धर्म र संस्कृतिको महत्वलाई प्रकाश पार्दै नेपालको पहिचानको बारेमा चर्चा गरेको छ।
- नेपालको प्राचीन सभ्यताले ज्ञान, ध्यान र जीवन जिउने सही तरिका सिकाएको छ, जहाँ हिन्दू, बौद्ध र किरात धर्मको जरा रहेको छ।
- लेखले नेपालको गौरवशाली इतिहास, धार्मिक सहिष्णुता, र विविधतामा एकताको महत्वलाई जोड दिँदै भविष्यको लागि सनातन धर्मको संरक्षणको कुरा गर्दछ।
नेपालको भविष्य कस्तो बनाउने भनेर सोच्नुअघि हामीले 'नेपाल के हो ?' र 'हामी नेपाली को हौँ ?' भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। नेपाल भनेको नक्सामा देखिने एउटा जमिनको टुक्रा मात्र होइन; यो त दक्षिण एसियाकै सबैभन्दा पुरानो र सधैँ स्वतन्त्र रहेको गौरवशाली राष्ट्र हो। यो हाम्रो इतिहास, धर्म र प्राचीन सभ्यताको जग पनि हो।
यो पवित्र भूमिले हजारौँ वर्षदेखि ज्ञान, ध्यान र जीवन जिउने सही तरिकालाई जोगाएर राखेको छ। यही भूमिबाटै संसारलाई बाटो देखाउने सनातन धर्म, बुद्ध दर्शन, किरात संस्कृति र प्रकृतिलाई पुज्ने परम्पराहरूको जन्म भएको हो। संसारकै महान् धर्म र संस्कारहरू मानिने हिन्दू र बौद्ध धर्मको जरा यही माटोमा छ। शान्ति र दयाका प्रतीक भगवान् बुद्ध जन्मिएको लुम्बिनी यहीँ छ, जसले आज पनि संसारभरि शान्तिको सन्देश फैलाइरहेको छ।
यस पवित्र भूमिमा कालान्तरमा किरात धर्म र संस्कृति पनि मजबुत रूपमा विकसित भयो, जसले आदिवासी पहिचानमा आधारित धार्मिक र सांस्कृतिक विविधता ल्यायो। प्राचीन समयदेखि नै नेपाली जीवनशैलीमा प्रकृतिपूजाको ठुलो महत्त्व रहँदै आएको छ। रूख, नदी, हिमाल र सूर्यको पूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन, जीवनसँग जोडिएको गहिरो सोच र अनुभूति हो। नेपाली सभ्यताले मानिस र प्रकृतिबिचको सम्बन्ध सन्तुलित राख्ने ज्ञान र संयम सिकाएको छ, जुन कुरा आज पनि विश्वका धेरै सभ्यताले सिक्न खोजिरहेका छन्।
नेपालको गौरवशाली इतिहास जनकपुरको चर्चा नगरी पूरा हुँदैन। मिथिलाको राजधानी जनकपुर राजा जनक र देवी सीताको जन्मभूमि हो। यसले रामायणकालीन परम्परालाई नेपाली संस्कृति र जीवनसँग जोडेको छ। त्यस्तै, हिमाली क्षेत्रमा अवस्थित सगरमाथा—विश्वकै सबैभन्दा अग्लो शिखर—ले नेपालको पहिचानलाई केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि विश्वसामु उचालिदिएको छ। यी सबै पक्षले नेपाललाई शान्ति, आस्था र चेतनाको भूमि बनाएका छन्।
सदियौँदेखि ऋषि-मुनिहरूको तपोभूमि रहँदै आएको नेपालले वैदिक साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ। महर्षि वेदव्यासले यही हिमालयका गुफाहरूमा वेदको सङ्ग्रह र सम्पादन गरे, महाभारत लेखे र पुराणहरूको रचना गरे। त्यसैले नेपाल केवल ऐतिहासिक देश मात्र होइन, सनातन सभ्यताको एक महत्त्वपूर्ण आधार पनि हो। हिन्दू, बौद्ध र किरात धर्म-संस्कृतिबिचको सहअस्तित्व र आपसी समझदारीले नेपाली समाजलाई आत्मिक रूपमा एकतामा बाँधेको छ। धर्मका अभ्यास फरक भए पनि नेपालीहरूको आस्था, परम्परा र सांस्कृतिक आधार मूलतः एउटै रहँदै आएको छ।
आधुनिक नेपाल निर्माणसँगै पछिल्लो कालखण्डमा इस्लाम र इसाई धर्मका अनुयायीहरू पनि नेपालमा आए। नेपाल अधिराज्यको एकीकरणको अभियानमा सानै सङ्ख्यामा भए पनि मुस्लिम समुदायले योगदान गरेको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हतियार र बारुद बनाउनका निम्ति बनारसबाट केही मुस्लिम कालीगढहरू झिकाएको इतिहासमा उल्लेख छ। मल्लकालीन समयमा इसाई धर्मावलम्बी पादरीहरू काठमाडौँ उपत्यकामा आएर धर्मान्तरणको कार्यमा संलग्न रहेको पाइन्छ। पछि पृथ्वीनारायण शाहले सनातन धर्म र संस्कृति विपरीत गतिविधि गरेका कारण पादरीहरूलाई देश निकाला गरेका थिए। सन् १९५० को दशकपछि भने शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी इसाई मिसनरीहरूलाई नेपालमा प्रोत्साहित गरिएको थियो।
प्राचीनकालदेखि धार्मिक सहिष्णुता र सहअस्तित्व नेपाली संस्कृतिको विशेषता रहँदै आएको छ। यहाँ विभिन्न जाति, धर्म, भाषा, वर्ग र सम्प्रदायको सह-अस्तित्व केवल सम्भावना होइन, यथार्थ हो। विविधताभित्रको एकता नेपाली राष्ट्रको परिचय हो। "एकं सत् विप्राः बहुधा वदन्ति"—सत्य एउटै छ, तर विद्वान्हरूले सत्य प्राप्तिको मार्गहरू विविध छन् भन्दछन्। यो भनाइ वैदिक दर्शनको आधारभूत मान्यता हो। यो मान्यता आधुनिक बहुलवादको दार्शनिक स्रोत हो।
नेपाली समाजको मूल जीवनदर्शन यो प्राचीन श्लोकमा प्रतिबिम्बित हुन्छ:
"सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत।"
अर्थात्, सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले कल्याण देखून्, कसैले पनि दुःख भोग्न नपरोस्। यो मन्त्र केवल धार्मिक होइन, राज्यदर्शनको आधार हो। जनताको हित, समाजमा शान्ति, जीवन र सम्पत्तिको सुरक्षा, र वातावरणको संरक्षण—यी राज्यका दायित्व हुन् भन्ने विश्वास वैदिक युगदेखि नै रहँदै आएको छ। यो मान्यता आधुनिक विश्वले स्वीकार गरेको सामाजिक न्याय र समानताको सिद्धान्त हो।
पश्चिमी राष्ट्रदर्शनले धर्मलाई राजनीति वा राज्यबाट अलग गर्ने "धर्मनिरपेक्षता" को अवधारणा प्रस्तुत गरे पनि, पूर्वीय परम्पराले धर्म र राजनीतिलाई एकाकार मानेको छ। अधर्म (अन्याय), विधर्म (संस्कारविपरीत चिन्तन) वा धर्मनिरपेक्षता नेपालीपन होइन। परम्परादेखि नेपालमा चलिआएका पर्व, चाड, सांस्कृतिक अभ्यास, जीवनशैली र कानुनी नैतिकतासम्ममा धर्मको गहिरो प्रभाव छ।
नेपाली जनताको राष्ट्रिय एकता कुनै राजनीतिक व्यवस्थाको उपज होइन, यो सनातन धर्म, संस्कृति र साझा परम्परामा आधारित भावनात्मक एकता हो। चाहे हामी हिमाल, पहाड वा तराईमा बसौँ, हाम्रा साझा भगवान् छन्। एउटै देवीदेवता, परम्परा र मूल्यबाट गाँसिएका छौँ। पूजाविधि फरक हुन सक्छ, तर परमसत्यको भाव एउटै छ। यही भावले नेपालीलाई आत्मिक, सांस्कृतिक र राष्ट्रिय भावनामा बाँधेको छ। यो नै नेपालको आत्मा वा मौलिक नेपालीपन हो।
प्राचीनकालमा वर्तमान नेपाली भूखण्डमा कायम रहेका धर्म-संस्कृति एवं मूल्य-मान्यताले एउटा छुट्टै सभ्यताको प्रत्याभूति गराएका थिए। भारतवर्षमा विकसित कतिपय सभ्यता र संस्कारजन्य पद्धतिको स्रोत पनि हिमवत्खण्ड र मानसखण्ड नै थियो। विशेष गरी काठमाडौँ उपत्यका—काठमाडौँ, भक्तपुर र पाटन—ले कला, शिल्प, व्यापार र ज्ञानको केन्द्रका रूपमा परिचय बनायो। बौद्ध स्तूपहरू स्वयम्भूनाथ, बौद्धनाथ र बहु-तले मन्दिरहरू नेपाली वास्तुकलाका विश्वप्रसिद्ध उदाहरण हुन्। यी सबैले नेपाललाई केवल धार्मिक भूमि मात्र नभई विशिष्ट ‘सभ्यता राष्ट्र’ को पहिचान दिएका छन्। नेपाल केवल भूगोल मात्र होइन—यो सनातन सभ्यताको जीवन्त प्रतीक हो, आध्यात्मिकताको केन्द्र हो र मानवताको साझा सन्देश बोकेको पवित्र भूमि हो।
इतिहासकारहरूले राजा मानदेव (इ.सं. ४६४–५०५) को शासनकाललाई नेपालको सुव्यवस्थित राज्य सञ्चालन र सांस्कृतिक समृद्धिको महत्त्वपूर्ण युग मान्दछन्। चाँगुनारायणको शिलालेख यस युगको प्रमाण हो। त्यस समयमा राज्य सुदृढ, नीति सुसङ्गत र संस्कृति समुन्नत रहेको प्रमाणित हुन्छ।
नेपालको अन्तर्राष्ट्रिय हैसियत पनि ऐतिहासिक दृष्टिले उच्च रहँदै आएको छ। उदाहरणका लागि, ७औँ शताब्दीमा राजकुमारी भृकुटी र तिब्बती सम्राट स्रङ्चन गम्पोबिचको विवाह सम्बन्धले नेपाल र तिब्बतबिचको राजनीतिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनायो। भृकुटीलाई तिब्बतमा करुणामयी देवीका रूपमा सम्मान गरिन्छ। यस सम्बन्धले बौद्ध दर्शन र कला तिब्बतमा स्थान पायो र नेपाल तिब्बत–चीनको सांस्कृतिक पुल बन्यो।
त्यस्तै, अरनिको (१२४५–१३०६) जस्तो प्रतिभाशाली शिल्पीले चीनमा गएर नेपाली शैलीको बहु-तले मन्दिर निर्माण शैलीलाई चिनाउँदै पूर्वी एसियाको वास्तुकलामा ठुलो प्रभाव पारे। नेपालले आफ्नो कलाका माध्यमबाट विश्वका सभ्यतालाई प्रेरणा दिएको छ।
नेपालको इतिहास केवल सामरिक साहस वा सांस्कृतिक शिल्पमा सीमित छैन, यो दार्शनिक गहिराइ, धार्मिक सहिष्णुता र आध्यात्मिक सन्तुलनको परम्परा हो। प्राचीन अभिलेख, पौराणिक आख्यान, ताम्रपत्र वा शिलालेखहरूमा सञ्चित कथाहरू नेपाली सभ्यताको आत्मा हुन्। आज पनि ती सम्पदाहरू—मन्दिर, दरबार, मूर्तिकलाहरू—हाम्रो गौरवशाली अतीतको साक्षी बनेर उभिएका छन्। तर यो सम्पदा केवल विगतको धरोहर होइन; यो जीवित परम्परा हो, जसले आज पनि नेपाली राष्ट्रिय पहिचान, वैचारिक चेतना र अन्तर्राष्ट्रिय छविलाई सम्हालिरहेको छ।
नेपालका लागि शासन प्रणालीको वैकल्पिक दर्शन र समग्र राष्ट्रनिर्माणको एक सुस्पष्ट मार्गचित्र खोज्ने सिलसिलामा सनातन धर्मको संरक्षण र प्रवर्द्धन, त्यससँग गाँसिएको शाश्वत सांस्कृतिक सम्पदा, परम्परा र सभ्यतागत जीवनदृष्टिको निरन्तरताको सुनिश्चितता महत्त्वपूर्ण आधारस्तम्भ हुनुपर्दछ। यो जिम्मेवारी केवल राज्यको एकल कर्तव्य होइन; यो सम्पूर्ण नागरिक समाज, समुदाय, संस्था र प्रत्येक सचेत व्यक्तिको साझा उत्तरदायित्व हो। सनातन धर्मको सारभूत तत्त्वमा समन्वय, सहिष्णुता, आध्यात्मिक गहिराइ र नैतिक जीवनपद्धतिको अभ्यास निहित छ—जसले २१औँ शताब्दीको सुशासनका लागि नैतिक आधारका रूपमा काम गर्न सक्छ।
राप्रपाका पूर्वअध्यक्ष थापाको पुस्तक संवर्द्धनवादबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण