बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दिल्ली प्रहरीका २० जवान हिमाचल प्रहरीको नियन्त्रणमा

बुधबार, १३ फागुन २०८२, २१ : ५२
बुधबार, १३ फागुन २०८२

सारांश

  • हिमाचल प्रदेश प्रहरीले दिल्ली प्रहरीका २० जना जवानलाई नियन्त्रणमा लिएको छ, किनभने उनीहरूले कानुनी प्रक्रियाको उल्लङ्घन गरेका थिए।
  • दिल्ली प्रहरीले युवा कांग्रेसका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा हिमाचल प्रहरीले हस्तक्षेप गरेको थियो, जसले गर्दा दुई राज्यबीच तनाव बढेको छ।
  • मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले दिल्ली प्रहरीको कार्यको निन्दा गर्दै यसलाई संवैधानिक प्रक्रियाको विरुद्ध भएको बताएका छन्।

काठमाडाैँ। भारतको हिमाचल प्रदेश प्रहरीले दिल्ली प्रहरीका करिब २० जना जवानलाई नियन्त्रणमा लिएको छ। अर्को राज्यमा गएर कसैलाई पक्राउ गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रिया र पूर्व सूचना बिना नै छापा मारेको भन्दै हिमाचल प्रहरीले दिल्ली प्रहरीको टोलीलाई सोलन जिल्लामा रोकेर नियन्त्रणमा लिएको हो।

दिल्ली प्रहरीको टोलीले इन्डिया एआई इम्प्याक्ट समिट २०२६ मा शर्ट खोलेर प्रदर्शन गर्ने युवा कांग्रेसका तीन कार्यकर्तालाई सिमलाको रोहडुबाट पक्राउ गरी लैजान खोजेको थियो। अन्तर–राज्यीय गिरफ्तारीका लागि स्थानीय प्रहरीलाई अनिवार्य रूपमा जानकारी दिनुपर्ने कानुनी प्रावधान भए पनि दिल्ली प्रहरीले त्यसको उल्लंघन गरेको हिमाचल प्रहरीको ठहर छ।

यसअघि हिमाचलका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खू आफैँ उपस्थित रहेको हिमाचल सदनमा पनि दिल्ली प्रहरीले मध्यरातमा छापामारेको भन्दै उनले कडा आपत्ति जनाएका छन्। मुख्यमन्त्री सुक्खूले बिना वारेन्ट गरिएको उक्त छापा संवैधानिक प्रक्रियाको विरुद्ध र दुर्भाग्यपूर्ण भएको भन्दै निन्दा गरेका छन्।

मुख्यमन्त्री सुक्खूका अनुसार हिमाचल सदनमा उनी स्वयं रहेको अवस्थामा आवासीय आयुक्तलाई समेत जानकारी नदिई प्रहरी परिचालन गरिएको थियो। यो घटनाले दुई राज्यका प्रहरी प्रशासनबिच गम्भीर तनाव उत्पन्न गराएको छ। दिल्ली प्रहरीले भने गत फेब्रुअरी २० मा दिल्लीको भारत मण्डपममा आयोजित सम्मेलनका दौरान लुगा खोलेर विरोध प्रदर्शन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।

उक्त प्रदर्शनका क्रममा युवा कांग्रेसका कार्यकर्ताहरूले भारत–अमेरिका व्यापार सम्झौता र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। यस प्रकरणमा अहिलेसम्म भारतीय युवा कांग्रेसका राष्ट्रिय अध्यक्ष उदय भानु चिब सहित आठ जनाभन्दा बढी सदस्यहरू पक्राउ परिसकेका छन्।

हिमाचल प्रहरीले नियन्त्रणमा लिएका दिल्ली प्रहरीका जवानहरूका बारेमा थप अनुसन्धान र कानुनी परामर्श भइरहेको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप