बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अश्मी श्रेष्ठको मतदान अनुभव : निर्वाचन आयोगको गैरजिम्मेवारीले खोसियो मताधिकार

बिहीबार, २१ फागुन २०८२, १९ : ०८
बिहीबार, २१ फागुन २०८२

सारांश

  • पूर्व मिस नेपाल अश्मी श्रेष्ठले निर्वाचनमा मतदान गर्न नपाएकोमा निराशा व्यक्त गरिन्।
  • उनले निर्वाचन आयोगको प्राविधिक त्रुटि र कर्मचारीको गलत सूचनाका कारण मतदानबाट वञ्चित हुनुपरेको बताइन्।
  • आयोगले सुरुमा फरक सूचना दिएर पछि नागरिकलाई नै दोषी देखाएकोमा श्रेष्ठले दुःख व्यक्त गरिन्।

काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठले यस पटकको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न नपाएकोमा गहिरो निराशा र आक्रोश व्यक्त गरेकी छिन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो भोगाइ सार्वजनिक गर्दै उनले निर्वाचन आयोगको प्राविधिक त्रुटि र कर्मचारीको गलत सूचनाका कारण आफू मतदानबाट वञ्चित हुनुपरेको बताएकी हुन् ।

चितवनबाट नागरिकता जारी भए पनि हालको बसाइँसराइको आधारमा उनले बानेश्वरको रत्न राज्य विद्यालयलाई मतदान केन्द्र रोज्दै अनलाइन फारम भरेकी थिइन्। त्यसपश्चात् उनले बानेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर बायोमेट्रिक्स र आवश्यक कागजात बुझाउने प्रक्रिया समेत पूरा गरेकी थिइन् । 

निर्वाचनको केही दिनअघि नागरिक एपमा आफ्नो मतदान केन्द्र चितवन नै देखिएपछि उनी अन्योलमा परेकी थिइन्। उक्त अलमल मेटाउन उनले निर्वाचन आयोगको टोल–फ्री नम्बर ११०२ मा सम्पर्क गर्दा त्यहाँका अधिकारीले बानेश्वरमै नाम दर्ता भएको र नागरिकता बोकेर गए मतदान गर्न पाउने भन्दै ढुक्क पारेका थिए। आयोगकै कर्मचारीको आश्वासनमा विश्वास गर्दै उनी मतदानका लागि बसाइँसराइको प्रमाणपत्र र नागरिकता बोकेर उत्साहका साथ केन्द्र पुगिन्, तर त्यहाँको मतदाता सूचीमा उनको नाम नै फेला परेन ।

मतदान केन्द्रबाट नाम नभेटिएपछि पुनः आयोगको हटलाइनमा सम्पर्क गर्दा उनले पहिलेको भन्दा बिल्कुलै फरक र गैरजिम्मेवार जवाफ पाइन्। यसपटक कर्मचारीले उल्टै उनकै गल्ती देखाउँदै नागरिकताको आधारमा केन्द्र तय भएको र यसमा आयोगको कुनै दोष नरहेको दाबी गरे।

सुरुमा एउटा सूचना दिएर अन्तिम समयमा आएर नागरिकलाई नै दोषी देखाउने आयोगको यो शैलीले आफूलाई मर्माहत बनाएको श्रेष्ठले उल्लेख गरेकी छिन्। यदि समयमै सही जानकारी दिएको भए आफू चितवन पुगेरै भए पनि मतदान गर्ने तयारीमा रहेको तर गलत सूचनाले आफ्नो एउटा महत्त्वपूर्ण अवसर सधैँका लागि खोसिएको उनले बताएकी छिन् ।

परिवर्तनको पक्षमा मत हाल्ने ठुलो धोको बोकेर केन्द्र पुगेकी उनी रित्तो हात घर फर्किनु पर्दाको पीडालाई उनले एउटा नागरिकमाथिको अन्यायका रूपमा चित्रण गरेकी छिन् ।

asmi s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप