शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इरान युद्ध

‘ट्रम्पले दया नदेखाएको भए इरान खरानी हुन्थ्यो’

इरानले अन्ततः युद्ध विरामको भिख माग्यो : पिट हेगसेथ
बुधबार, २५ चैत २०८२, २० : २४
बुधबार, २५ चैत २०८२

सारांश

  • अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको सैन्य क्षमता ध्वस्त भइसकेको र अब त्यो अमेरिकाका लागि खतरा नरहेको घोषणा गरेका छन्।
  • राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक र सैन्य रणनीतिका कारण इरान युद्ध विराम गर्न बाध्य भएको उनले बताएका छन्।
  • इरानले आणविक हतियार त्याग्नुपर्ने र अमेरिकी सर्तहरू पालना नगरे पुनः आक्रमणको सामना गर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ।

काठमाडौँ ।  अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरान अब अमेरिकाका लागि खतरा नरहेको घोषणा गरेका छन्। पछिल्लो ४७ वर्षदेखि अमेरिकालाई चुनौती दिँदै आएको इरानले अन्ततः ‘युद्ध विरामको भिख मागेको’ दाबी गर्दै उनले अमेरिकी सेनाले ऐतिहासिक जित हात पारेको बताएका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री हेगसेथले विश्व शान्तिका लागि आजको दिन निकै ठुलो भएको बताउँदै इरानको सैन्य क्षमता आगामी कैयौँ वर्षका लागि काम नलाग्ने गरी ध्वस्त बनाइएको जिकिर गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै हेगसेथले यो ऐतिहासिक क्षण ट्रम्पकै कारण सम्भव भएको बताए ।

‘अपरेसन एपिक प्युरी’ लाई ऐतिहासिक र जबर्जस्त कारबाहीको संज्ञा दिँदै उनले अमेरिकी सेनाले इरानको सैन्य शक्तिलाई पूर्ण रूपमा सखाप पारेको दाबी गरे। उनका अनुसार अमेरिकाले इरानको नौसेना र वायुसेनालाई आफ्नो सैन्य लक्ष्यअनुसार नै निमिट्यान्न पारेको छ र अहिले इरानको आकाशमा अमेरिकाको नियन्त्रण छ ।

इरानले अत्यधिक दबाब झेल्न नसकेर युद्ध विराम स्वीकार गरेको हेगसेथको भनाइ छ। यदि वासिङ्टनको सर्त नमानेको भए इरानका ऊर्जा केन्द्र, पुल र तेल तथा ऊर्जा पूर्वाधारहरू अमेरिकाको अर्को निसानामा पर्ने उनले चेतावनी दिए । 

ट्रम्पसँग इरानको सम्पूर्ण अर्थतन्त्र केही मिनेटमै ध्वस्त पार्न सक्ने शक्ति भए पनि उनले ‘दया देखाएर’ त्यसो नगरेको रक्षामन्त्री हेगसेथले दाबी गरे। पूर्वाधार ध्वस्त भएको भए इरानलाई पुनर्निर्माण गर्न दशौँ वर्ष लाग्ने र त्यो कुरा इरानको नेतृत्वले बुझेर नै सम्झौता गर्नु उपयुक्त ठानेको उनले बताए ।

युद्धको सुरुवातमा मारिएका तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित अमेरिका र इजरायलको सैन्य अभियानमा थुप्रै उच्च इरानी अधिकारीहरू मारिएको उनले पुष्टि गरे। अहिले इरानको नेतृत्वमा नयाँ अनुहारहरू आएको र उनीहरूले अमेरिकासँग वार्ता गर्नुको अर्थ बुझेर नयाँ हिसाबकिताब गरिरहेको हेगसेथले बताए। 

इरानले आणविक हतियार राख्न नपाउने कुरामा अमेरिका सुरुदेखि नै प्रस्ट रहेको भन्दै उनले इरानले आफूसँग भएको प्रशोधित युरेनियम स्वेच्छाले सुम्पिनुपर्ने बताए। त्यसो नगरे अमेरिकाले सन् २०२५ मा इजरायलसँग मिलेर इरानका आणविक केन्द्रहरूमा गरेको ‘मिडनाइट ह्यामर’ जस्तै अर्को कारबाही गर्ने चेतावनी उनले दिए ।

पश्चिम एसियामा अमेरिकी सेनाको उपस्थितिबारे सोधिएको प्रश्नमा हेगसेथले अमेरिकी सेना कहीँ पनि नजाने प्रस्ट पारे। युद्ध विरामको सर्त इरानले पालना गरे/नगरेको सुनिश्चित गर्न र इरानलाई सम्झौताको टेबलमा ल्याउन अमेरिकी सेना त्यहीँ तैनाथ रहने उनले बताए । 

सेना सतर्क अवस्थामा रहने र आवश्यक परे जुनसुकै बेला पुनः आक्रमण सुरु गर्न तयार रहेको उनको भनाइ छ। युद्ध विरामको सर्तअनुसार नै इरानले हर्मुज जलडमरुमा पानीजहाजहरू निर्बाध रूपमा आवतजावत गर्न दिने उनले स्पष्ट पारे ।

सम्बोधनका क्रममा हेगसेथले इजरायललाई अमेरिकाको बहादुर, इच्छुक र सक्षम सहयोगीको संज्ञा दिए। उनले विश्वका अन्य ‘तथाकथित’ अमेरिकी सहयोगी राष्ट्रहरूले इजरायलबाट केही कुरा सिक्नुपर्ने व्यङ्ग्यात्मक टिप्पणी समेत गरे । 

आफ्नो मन्त्रालयले अहिलेको लागि आफ्नो काम पूरा गरेको तर इरानले हरेक सर्त मानेको सुनिश्चित गर्न अमेरिका सधैँ तयार रहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप