क्रिकेटमा ब्राजिलको चमत्कार : एकै खेलाडीले लिइन् ९ विकेट, ५ बलमा ५ विकेटको विश्व कीर्तिमान
सारांश
- ब्राजिलकी बलर लाउरा कार्डोसोले लेसोथो विरुद्धको खेलमा ९ विकेट लिएर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक विश्व कीर्तिमान कायम गरेकी छिन्।
- कार्डोसोले लगातार ५ बलमा ५ विकेट लिँदै टी-२० क्रिकेटमा नयाँ कीर्तिमान रच्न सफल भएकी हुन्।
- ब्राजिलले लेसोथोलाई १८९ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
काठमाडौँ । फुटबलको देश भनेर चिनिने ब्राजिलले क्रिकेटको मैदानमा सबैलाई अचम्मित पार्दै ऐतिहासिक विश्व कीर्तिमान कायम गरेको छ। बोत्स्वानामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा लेसोथो विरुद्धको खेलमा ब्राजिलकी बलर लाउरा कार्डोसोले एक्लै ९ विकेट लिएर नयाँ इतिहास रचेकी हुन्।
यो पुरुष वा महिला दुवैतर्फको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै उत्कृष्ट बलिङ तथ्याङ्क हो। २१ वर्षीया दाहिने हाते मध्यम गतिकी बलर कार्डोसोले आफ्नो स्पेलको क्रममा लगातार ५ बलमा ५ विकेट लिएर अर्को दुर्लभ सफलता समेत हात पारिन्।
उनले आफ्नो पहिलो ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरिन् र दोस्रो ओभरको सुरुवाती दुई बलमा पनि विकेट लिँदै विपक्षी टोलीको ब्याटिङ लाइनअप ध्वस्त पारिन्। कार्डोसोले ३ ओभर बलिङ गर्दै मात्र ४ रन खर्चेर ९ विकेट लिएपछि लेसोथोको टोली मात्र १३ रनमा समेटियो। यदि तेस्रो ओभरपछि कप्तानले बलिङ परिवर्तन नगरेको भए उनीसँग १० वटै विकेट लिने अवसर समेत थियो।
यसअघि टी–२० महिला क्रिकेटमा एकै खेलमा ७ विकेट लिएको रेकर्ड इन्डोनेसियाकी रोहमालियाको नाममा थियो, जसलाई कार्डोसोले उछिनेकी छिन्। त्यस्तै लगातार ४ बलमा ४ विकेट लिएको पुरानो रेकर्डलाई तोड्दै उनले लगातार ५ बलमा विकेट लिने पहिलो खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा लेखाइन्।
टस जितेर पहिले ब्याटिङ गरेको ब्राजिलले २० ओभरमा २०२ रन बनाएको थियो, जसमा विकेटकिपर मोनिक मचाडोले ६९ रनको योगदान दिइन् । १८९ रनको विशाल अन्तरले खेल जित्दै ब्राजिलले प्रतियोगितामा लगातार पाँचौँ जित दर्ता गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण