तनावका बाबजुद अमेरिका–इरान सम्झौताको आशा
सारांश
- अमेरिका र इरानबीच तनावका बाबजुद कूटनीतिक वार्ताको सम्भावना बढेपछि एसियाली सेयर बजारमा उछाल आएको छ।
- सम्भावित सम्झौताको आशाले कच्चा तेल र अमेरिकी डलरको मूल्यमा गिरावट देखिएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अघि बढाउने प्रयास गरिरहेको दाबी गरेका छन्।
वासिङ्टन डिसी । सप्ताहन्तमा शान्ति वार्ता विफल भएर अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गरे पनि दुवै देशबिच सम्झौताका लागि कूटनीतिक पहल जारी रहेको समाचार बाहिरिएपछि मङ्गलबार एसियाली सेयर बजारमा उछाल आएको छ। सम्भावित सम्झौताको आशामा कच्चा तेल र सुरक्षित लगानी मानिने अमेरिकी डलरको मूल्य घटेको हो।
रोयटर्सलाई उद्धृत गर्दै स्रोतहरूले जनाएअनुसार दुवै पक्षले वार्ताको ढोका खुला राखेका छन्। एक अमेरिकी अधिकारीले सम्झौतामा पुग्ने प्रयासमा सकारात्मक प्रगति भइरहेको बताए। यसको प्रत्यक्ष प्रभावले सुरुवाती कारोबारमा जापान बाहिरको एसिया–प्रशान्त क्षेत्रको बृहत् सेयर सूचकाङ्क (एमएससीआई) १ प्रतिशतले बढ्यो।
त्यस्तै, जापानको निक्की र दक्षिण कोरियाको कोस्पी सूचकाङ्क दुवै २ प्रतिशतभन्दा बढीले बढे। वालस्ट्रिटमा रातभर देखिएको वृद्धिलाई पछ्याउँदै नास्डाक फ्युचर्स ०.१३ प्रतिशतले बढ्यो भने एसएन्डपी ५०० फ्युचर्स स्थिर रह्यो। युरोस्टक्स ५० फ्युचर्स ०.६३ प्रतिशत र ड्याक्स फ्युचर्स ०.७७ प्रतिशतले बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानले बिहान फोन गरेको र उनीहरू सम्झौता गर्न चाहिरहेको दाबी गरे।
साक्सोकी प्रमुख लगानी रणनीतिकार चारु चनानाले बजारले समाधानभन्दा पनि आशाको व्यापार गरिरहेको बताइन्। सप्ताहन्तको विफल वार्ताले तत्काल कुनै सम्झौता नदिए पनि कूटनीतिको ढोका बन्द नगरेको र अहिलेका लागि सेयर बजारलाई माथि धकेल्न यति नै पर्याप्त भएको उनको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानले बिहान फोन गरेको र उनीहरू सम्झौता गर्न चाहिरहेको दाबी गरे। यद्यपि, रोयटर्सले यस दाबीको तत्काल पुष्टि भने गर्न सकेको छैन।
अर्कोतर्फ, तेहरानलाई दबाब दिने उद्देश्यले अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरु गरेको छ। ट्रम्पले वासिङ्टनले इरानी जहाजहरू र त्यस्तो नाकाबन्दीमा शुल्क तिर्ने जुनसुकै जहाजलाई रोक्ने चेतावनी दिएका छन्। साथै, नाकाबन्दी नजिक जाने इरानका कुनै पनि फास्ट-अट्याक जहाजहरूलाई नष्ट गरिने उनले बताए।
आईजीका बजार विश्लेषक टोनी सिकामोरले अमेरिकाले आफ्नो ट्रम्प कार्ड प्रयोग गरेको बताए। अमेरिकाले स्थल सेना नपठाइकनै जलमार्ग खुला गर्न इरानलाई दबाब दिएको र यसले इरानीहरूलाई पुनः विचार गर्न बाध्य बनाएको उनको विश्लेषण छ।
सम्भावित सम्झौताको आशाले आपूर्ति अवरोधको चिन्तालाई उछिनेपछि कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। ब्रेन्ट क्रुड फ्युचर्स २.७ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.६६ डलरमा झरेको छ भने अमेरिकी क्रुड फ्युचर्स ३ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ९६.१३ डलरमा कारोबार भइरहेको छ।
बजारमा जोखिम मोल्ने उत्साह बढेपछि विश्वको रिजर्भ मुद्राको रूपमा रहेको अमेरिकी डलरको माग घटेको छ। जसका कारण मङ्गलबार डलरको भाउ अन्य प्रमुख मुद्राहरूको तुलनामा साढे एक महिनाकै न्यून विन्दु ९८.३२८ मा झर्यो। यसले गर्दा युरो ०.०५ प्रतिशतले बढेर १.१७६४ डलर पुग्यो भने स्टर्लिङ पाउन्ड छ साताभन्दा बढीको उच्च विन्दु १.३५१४ डलर पुग्यो।
कमनवेल्थ बैंक अफ अस्ट्रेलियाका रणनीतिकार जोसेफ क्यापुरसोले अमेरिका र इरान सम्झौताको बाटोमा हिँड्न थालेको बताए। तर, विश्वव्यापी आर्थिक परिदृश्य अझै बिग्रँदै गएको र सेयर तथा क्रेडिट बजारहरू फेरि खस्किने उच्च जोखिम रहेको उनले औँल्याए। त्यसो भएमा डलरको मूल्य अन्य सबै मुद्राको तुलनामा बढ्न सक्ने उनको बुझाइ छ।
अमेरिकी ट्रेजरी यिल्ड (प्रतिफल) मा भने खासै परिवर्तन देखिएको छैन। दुई वर्षे यिल्ड ३.७७२२ प्रतिशत र १० वर्षे बेन्चमार्क यिल्ड ४.२८५४ प्रतिशतमा कायम छ। ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिले निम्त्याएको मुद्रास्फीतिको दबाबका कारण प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने सम्भावनाका लागि लगानीकर्ताहरू तयार हुन थालेका छन्।
युद्धअघि ब्याजदर घट्ने वा लामो समय स्थिर रहने अपेक्षा विपरीत अहिले अवस्था उल्टिएको छ। अन्य बजारको अवस्था हेर्दा, स्पट गोल्डको मूल्य ०.७ प्रतिशतले बढेर प्रतिऔँस ४,७७१.८१ डलर पुगेको छ। त्यसैगरी, चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन १.५ प्रतिशतले बढेर करिब ७४,३१२ डलरमा कारोबार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण