मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रचण्डको बोली फेरियो, बालेनले रास्वपालाई मासिक १८ हजार बुझाउनुपर्ने

बिहीबार, ०३ वैशाख २०८३, २२ : ००
बिहीबार, ०३ वैशाख २०८३

आज मिति २०८३ साल वैशाख महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–

१. विषयगत समिति

प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध हुने भएका छन् । समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन् ।

२. बालेनले १८ हजार बुझाउनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ । यसअनुसार प्रधानमन्त्री बालेन शाहले १८ हजार लेबी बुझाउनुपर्ने भएको छ ।

३. कांग्रेस मुद्दा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा  राखिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको पक्षबाट बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि सुनुवाइ राखिएको हो ।

आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।

४. कांग्रेस निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीतिक विषयसहित ८ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने पनि कांग्रेसले जनाएको छ ।

 

५. दीपक खड्कालाई अदालतको राहत

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्दा कानुनले तोकेको उचित विधि र प्रक्रिया पूरा नभएको ठहर गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्कालाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

६. राप्रपा राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ। वैशाख दोस्रो साताभित्र सम्पन्न गर्ने गरी राप्रपाको केन्द्रीय सचिवालयले सबै प्रदेशमा समीक्षा बैठकको तयारी सुरु गरेको हो।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमितिहरूसँगको परामर्शमा बैठकको मिति तय भइरहेको जानकारी दिएका हुन् ।

 

७. फेरियो प्रचण्डको बोली

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जाने एजेन्डा आफ्नो नभएको जिकिर गरेका छन् ।

भदौमा भएको जेनजी आन्दोलनको क्रममा धेरै मिहेनत गरेर संविधान बचाएको दाबी गर्दै आएका प्रचण्डले बोली फेरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले अघिल्ला अभिव्यक्ति सच्याएका हुन् ।

बैठकमा जेनजी आन्दोलनपछि पार्टीको पक्षमा माहोल नहुँदा नहुँदै निर्वाचनमा किन गएको भनेर नेतृत्वको आलोचना भएको थियो । फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपाले जम्मा १७ सिट जितेको छ । पार्टीको प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुनले मात्र जितेका थिए । प्रचण्डले पहिलेका अभिव्यक्ति सच्याउँदै आफ्नो कारण नभई राष्ट्रिपति रामचन्द्र पौडेलका कारण निर्वाचनमा जान बाध्य भएको बताएका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

८. डिजेल महँगो

डिजेलको भाउ पेट्रोलको भन्दा माथि पुगेको छ । नेपाल आयल निगमले बुधबार समायोजन गरेको नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम २१९ रुपैयाँ कायम हुँदा डिजेलको मूल्य भने २३७ रुपैयाँ पुगेको छ  ।

यसरी डिजेलको भाउले पेट्रोललाई उछिनेको घटना सम्भवतः पहिलोपटक हो । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्याय आफूलाई डिजेल महँगो भएको अहिलेसम्म थाहा नभएको बताउँछन् ।

९. निष्क्रिय खाता

१० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेको खातामा झण्डै पौने १८ अर्ब रुपैयाँ निक्षेप रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म निष्क्रिय खातामा १७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यस्तो खाताको सङ्ख्या ३६ लाख ४५ हजार ५९३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

१०. विभागको एक्सन

संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा अनावश्यक विषउ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

थप समाचार

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप