मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेसँगको एकताबारे के भन्छन् नेकपाका नेता ?

सोमबार, ०४ जेठ २०८३, १४ : ००
सोमबार, ०४ जेठ २०८३

सारांश

  • एमालेसहितको वाम एकता आवश्यक भए पनि तत्काल सम्भावना नभएको नेकपाका नेता अग्निप्रसाद सापकोटाले स्पष्ट पारेका छन् ।
  • पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउँदै आगामी मंसिरमा हुने महाधिवेशनबाट एकतालाई पूर्णता दिइने निर्णय बैठकले गरेको थियो ।
  • एमालेभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर आन्तरिक विवाद बढिरहेको र ठोस निर्णय आउनेमा नेताहरू विश्वस्त नभएको स्रोतले बताएको छ ।

काठमाडौँ । ठुला वामपन्थी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको एकताबारे चर्चा चुलिएको छ । गत फागुनमा भएको चुनावमा यी दुवै वामपन्थी दल नराम्ररी पराजित भएका थिए । पराजित भएसँगै पार्टी एकताबारे चर्चा सुरु हुन थालेको हो ।

नेकपाका नेता अग्निप्रसाद सापकोटा यस्तो चर्चा नीतिगत मात्र भएको बताउँछन् । वामपन्थीबिचको एकता आवश्यक भए पनि तत्काल सम्भावना नभएको उनले स्पष्ट पारे ।

‘नीतिगत र सैद्धान्तिक तरिकाबाट अनौपचारिक कुराकानी भइरहेको छ । बाहिर हल्ला चलेजस्तो अहिले नै एकता हुने गरी कुनै छलफल भएको छैन’, रातोपाटीसँग सापकोटाले भने, ‘हामी स्वार्थप्रेरित एकताको पक्षमा छैनौँ, गुणात्मक एकताको पक्षमा छौँ । पार्टीको नीतिगत निर्णय पनि त्यही हो ।’

अहिलेको समय वामपन्थीले गुमाएको विश्वास आर्जन गर्ने, आन्तरिक एकतालाई सुदृढ गरी बलियो पार्टी निर्माण गरी एकता भएमात्र त्यो दीर्घकालीन हुने सापकोटाको भनाइ छ ।

‘विगतका कमजोरीबाट शिक्षा लिएर भविष्यमा फेरि त्यो दुर्घटना नदोहोरिने विश्वास आम कार्यकर्ता र जनतालाई दिलाउन सक्नुपर्छ । औचित्य र आवश्यकताबारे विश्वास आर्जन नगरी एकता गरिहाल्दैमा गुमेको विश्वास आर्जन हुने म देख्दिनँ । यद्यपि वामपन्थीबिच एकता अपरिहार्य छ,’ उनले भने ।

निर्वाचनमा २५ वटा वामपन्थी घटक मिलेर जाँदासमेत २५ सिट पनि जित्न नसक्दा नेकपाको नेतृत्वप्रति चौतर्फी प्रश्न उठेको छ । निर्वाचनमा पार्टीलाई ठुलो धक्का लागेपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १९ गते पहिलो पटक केन्द्रीय संयोजन समिति बैठक बोलाएका थिए । नौ दिनसम्म लगातार बसेको बैठकमा चुनावी हारको समीक्षा, नेतृत्वको कमजोरी र पार्टीको भावी कार्यक्रम सम्बन्धमा ठुलो बहस भयो ।

वैशाख १५ गते सम्पन्न बैठकले नेताहरूको कार्यविभाजन सहित मंसिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने गर्ने निर्णय गर्‍यो । तर पार्टीभित्र देखिएको असन्तुष्टिलाई हल गर्न बैठक असफल देखिएको छ ।

छैटौँ वरीयतामा नपरेपछि केन्द्रीय संयोजन समितिका सदस्य डा. भीम रावल बैठकमै जान छोडेका छन् । वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम पनि कार्य विभाजनप्रति सन्तुष्ट देखिएका छैनन् । सबै पार्टी समितिमा कम्तीमा ५० प्रतिशत युवा सहभागी हुनुपर्ने माग राखेका तेस्रो तहका नेताहरू बैठकका निर्णयलाई लिएर नेतृत्वको आलोचना गरिरहेका छन् । बैठकले वामपन्थीबिच बृहत् एकता र ध्रुवीकरण गर्ने नीतिगत निर्णय गरेको थियो ।

पार्टीको तत्कालीन कार्ययोजनाको रुपरेखा अन्तर्गत पहिलो बुँदामा आन्तरिक एकतालाई वैचारिक, सैद्धान्तिक, सांगठनिक र सांस्कृतिक स्पष्टसहित पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउँदै आगामी मंसिरमा हुने महाधिवेशनबाट एकतालाई पूर्णता दिइने निर्णय बैठकले गरेको थियो ।

तेस्रो बुँदामा पार्टी पुनर्गठनको प्रक्रियासँगै सिङ्गो कम्युनिस्ट एकता र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको थियो । ‘पार्टी पुनर्गठनको उपरोक्त प्रक्रियासँगै सिङ्गो कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको लागि विशेष पहल गरिनेछ’, निर्णयमा भनिएको छ ।

नेकपाको आधिकारिक निर्णय अनुसार पनि आगामी मंसिर यता एमालेसँग एकता हुने सम्भावना देखिँदैन । यद्यपि प्रचण्ड निकट एक नेताका अनुसार एमालेका अध्यक्ष केपी ओली र प्रचण्डबिच बारम्बार फोन सम्पर्क भइरहेको छ । तर दुई नेताबिच प्रत्यक्ष भेटेर कुराकानी नभएको ती नेताले जिकिर गरे ।

‘पार्टी नेतृत्वले एउटा राष्ट्रिय पार्टीका अध्यक्षसँग कुराकानी नगर्ने भन्ने हुँदैन । ओलीजीसँग मात्र होइन, सबै पार्टीका नेताहरूसँग कुराकानी भइराखेको छ । तर एकताकै लागि भनेर प्रचण्ड र ओलीबिच प्रत्यक्ष भेटघाट भएको छैन,’ ती नेताले भने, ‘अनौपचारिक रुपमा नेताहरूबिच नीतिगत छलफल भइरहेका छन् । वार्ता टोली नै बनाएर वा प्रचण्डले नै खटाएर कसैसँग कुराकानी भएको छैन ।’

प्रवक्ता प्रकाश ज्वालाले पनि तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नभएको बताएका छन् । संयोजक प्रचण्डले पनि एकताको विषयमा नीतिगत कुरामात्र गरेको उनको दाबी छ । ‘नेतृत्व तहमा अनौपचारिक फोनमार्फत कुराकानी भए होलान् । प्रत्यक्ष रूपमा भेटघाट गरेर एकताको विषयमा कुनै छलफल भएको छैन । यसको मतलब वामपन्थीबिच एकता नहुने भन्ने छैन । सिङ्गो कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने पार्टीको निर्णय अनुसार नै हाम्रो संयोजकले बोल्नुभएको छ’, ज्वालाले भने ।

जेठ २ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चारकर्मीसँग कुराकानीको क्रममा प्रचण्डले आफ्नै पार्टीलाई पुनर्गठित गर्ने र महाधिवेशनसम्म लगेर विचार, राजनीति, संगठन हरेक दृष्टिकोणले नयाँ पार्टी बनाउने निर्णय गरेको सुनाएका थिए । पछिल्लो निर्वाचनमा कम्युनिस्ट आन्दोलनले ठुलो धक्का खाएकाले एकता अवश्यक ठानेर नै एकताको विषयमा पार्टीले नीतिगत निर्णय लिएको उनले स्पष्ट पारेका थिए । अबको वामपन्थी एकता एमालेसहितको हुन आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

स्रोतका अनुसार एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संगठन विभाग प्रमुख वर्षमान पुन सक्रिय देखिएका छन् । उनीहरू चुनावी परिणामको समीक्षा, अर्को वर्ष हुने स्थानीय तह, प्रदेश सभा सदस्य निर्वाचन र प्रदेश सत्ता समीकरणको विषयमा एमालेका नेताहरूसँग चरणबद्ध छलफलमा जुटेका छन् । यद्यपि दुवै पक्ष निष्कर्षमा पुगेको छैन । नेतृत्व परिवर्तनको विषयलाई लिएर एमाले आफैँ आन्तरिक विवादमा फसेकाले तत्काल एकताको पक्षमा ठोस निर्णय आउनेमा नेताहरू विश्वस्त देखिँदैनन् ।

‘नारायणकाजी र वर्षमानजी एमालेसहित अन्य वावपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउने विषयमा छलफल गरिरहनुभएको छ, तर ठोस निर्णय आएको छैन’, स्रोतले भन्यो, ‘दुवै पार्टीभित्र विवाद बढिरहेको छ । खासगरी एमालेभित्र नेतृत्व परिवर्तनको कसरतले आन्तरिक विवाद बढिराखेको छ । सायद आज बस्ने सचिवालय बैठकले केही निर्णय गर्ला ।’

वामपन्थीबिच एकताको विषयलाई लिएर नेकपाका पूर्वनेता हरिबोल गजुरेलले हाँस्यास्पद संज्ञा दिए । गजुरेलले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत हासिल गरेपछि आलोपालो प्रधानमन्त्री हुने गोप्य सहमतिका कारण अन्ततः देश र कम्युनिस्ट आन्दोलन दुवै दुर्घटनामा परेको आरोप लगाए । वास्तविक समस्या समाधानका लागि असफल नेतृत्वले आत्मालोचना सहित राजीनामा दिनुपर्ने उनको सुझाव छ ।   

‘अहिले पार्टी र जनताबाट अलगथलग परेकाहरू फेरि एकताका नाममा कार्यकर्ता र जनतालाई भ्रमित गर्न खोजिरहेका छन् । वास्तविक समाधान भनेको असफल नेतृत्वले आत्मालोचना र प्रायश्चितको भावसहित राजीनामा गर्नु तथा सबै पार्टीभित्रका सापेक्षिक क्रान्तिकारी शक्तिहरूले बृहत् वाम ध्रुवीकरण र सिद्धान्तनिष्ठ पार्टी एकताका लागि अघि बढ्नु हो । कुबाटो होइन, क्रान्तिकारी एकताको मूलबाटो समातौँ’, गजुरेलले भने ।

जेनजी आन्दोलनको क्रममा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार र प्रतिनिधि सभा विघटन भएपछि गत वर्ष फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन भएको थियो । अघिल्लो निर्वाचनमा २८ लाख लोकप्रिय मत ल्याएको एमाले १४ लाख ५५ लाख मतसहित २५ सिटमा खुम्चिएको थियो । अघिल्लो पटक ११ लाख ७५ हजार मत ल्याएको साविक माओवादी केन्द्र समेतको गठबन्धनले यसपटक आठ लाख ११ हजार मत सहित १७ सिट प्राप्त गरेको छ ।

नेतृत्वकै कारण पार्टीलाई ठुलो धक्का लागेको निष्कर्षसहित आफ्नै क्याम्पका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत नेताहरू नेतृत्वबाट हटाउन सक्रिय देखिएपछि एमाले अध्यक्ष ओली अप्ठ्यारोमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप