शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
विश्वकप क्वार्टरफाइनल

एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा

बिहीबार, २५ असार २०८३, २१ : ००
बिहीबार, २५ असार २०८३

सारांश

  • विश्वकप २०२६ को क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।
  • फ्रान्स सात गोल र दुई असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका किलियन एमबाप्पेको नेतृत्वमा मैदानमा उत्रिनेछ।
  • मोरक्कोका स्ट्राइकर इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण फ्रान्सविरुद्ध मैदानमा उत्रिने छैनन्।

बोस्टन ।  विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुवात उपाधिका बलिया दाबेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्तबाट हुँदैछ।

दुई पटकको विश्व च्याम्पियन तथा २०२२ संस्करणको उपविजेता फ्रान्स उत्तर अमेरिकामा भइरहेको यस विश्वकपको सबैभन्दा सन्तुलित र सशक्त टोलीका रूपमा देखिएको छ। खेलेका पाँचवटै खेल जित्दै उसले १४ गोल गरिसकेको छ भने केवल दुई गोल मात्र खाएको छ।

सात गोल र दुई असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका किलियन एमबाप्पेको नेतृत्वमा फ्रान्स मैदानमा उत्रिनेछ। उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बारकोला सम्मिलित 'लेस ब्लुज' (फ्रान्स) को आक्रमण पङ्क्ति प्रतियोगिताकै सबैभन्दा घातक मानिएको छ।

mbappe

तर, तेस्रो विश्वकप उपाधितर्फको यात्रामा उनीहरूको आगामी चुनौती सजिलो छैन। फ्रान्सको सामना इस्माइल साइबारी र ब्राहिम डियाजको नेतृत्वमा रहेको मोरक्कोसँग हुँदैछ। नेदरल्यान्ड्सलाई नकआउट चरणमा स्तब्ध बनाएको एटलस लायन्स (मोरक्को) अब अर्को युरोपेली महाशक्तिलाई पनि हराउने लक्ष्यमा छ।

अब मोरक्को केवल चुनौती दिने टोली मात्र रहेन, ऊ वास्तविक उपाधि दाबेदार बनिसकेको छ। मोरक्को लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्न चाहन्छ।

  • फ्रान्स र मोरक्को क्वार्टरफाइनलसम्म कसरी पुगे?

फ्रान्सले समूह ‘आई’ मा नौ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। उसले नर्वे, सेनेगल र इराकलाई हरायो। त्यसपछि राउन्ड अफ ३२ मा स्विडेनलाई ३–० ले पराजित गर्‍यो भने अन्तिम १६ को कठिन खेलमा पाराग्वेलाई १–० ले हरायो।

यता, मोरक्को समूह ‘सी’ मा सात अंकसहित दोस्रो स्थानमा रह्यो। उसले स्कटल्यान्ड र हैटीलाई हरायो भने ब्राजिलसँग बराबरी खेल्यो। नकआउट चरणको राउन्ड अफ ३२ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पाखा लगायो। त्यसपछि अन्तिम १६ मा क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो।

  • चुनौती दिने मात्र होइन, उपाधिकै दाबेदार

चार वर्षअघि कतार विश्वकपमा स्पेन र पोर्चुगललाई हराउँदै सेमिफाइनल पुगेपछि मोरक्कोलाई सबैले ‘आश्चर्यजनक टोली’ को रूपमा हेरेका थिए। त्यतिबेला मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेको थियो।

तर, त्यसयता एटलस लायन्सले अफ्रिकी फुटबलमा मात्र होइन, विश्व फुटबलमै आफ्नो प्रभाव विस्तार गरेको छ।

morocco-2

सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एएफकोन) जित्नुका साथै लगातार ३४ खेलसम्म अपराजित रहेको मोरक्को हाल विश्व वरीयताको छैटौं स्थानमा छ। अब उनीहरू नतिजा उलटफेर गर्ने लक्ष्यमा मात्र सीमित छैनन्, विश्वकपको उपाधि नै उचाल्ने दाउमा छन्।

केवल चार महिनाअघि टोली सम्हालेका प्रशिक्षक मोहम्मद ओहबी भन्छन्, ‘हामी अब कसैका लागि आश्चर्यजनक टोली रहेनौं। यसमा हामीलाई गर्व छ।’ उनले थपे, ‘मलाई लाग्छ, यो केवल सुरुवात मात्र हो। आगामी धेरै वर्षसम्म हामी यस्तै प्रदर्शन गरिरहनेमा आशावादी छौं।’

विश्वस्तरीय विङ्गर ब्राहिम डियाजले चार असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। स्ट्राइकर इस्माइल साइबारी तीन गोलसहित टोलीका शीर्ष गोलकर्ता हुन्। सुफियान रहिमी र अज्जेदिन उनाहीले पनि दुई–दुई गोल गरेका छन्।

तर, क्वार्टरफाइनलअघि मोरक्कोलाई ठूलो धक्का लागेको छ। समूह चरणका तीनवटै खेलमा गोल गरेका तथा नेदरल्यान्ड्सविरुद्ध निर्णायक पेनाल्टी प्रहार गरेका साइबारी ह्यामस्ट्रिङ चोटका कारण फ्रान्सविरुद्ध मैदानमा उत्रिने छैनन्।

  • जितका फरक–फरक शैली देखाउँदै फ्रान्स

पाँच खेलमा एमबाप्पेले गरेको सात गोलले फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार बनाएको छ। साथै, उनी एकभन्दा बढी पटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्ने दौडमा सबैभन्दा अगाडि छन्।

तर, पाराग्वेविरुद्धको खेल सजिलो थिएन। कडा र शारीरिक खेल खेलेको पाराग्वेविरुद्ध फ्रान्सले निकै संघर्ष गर्नुपरेको थियो। त्यो खेल आकर्षक नभए पनि फ्रान्सले आफूलाई आवश्यक जित निकाल्यो। यसले प्रशिक्षक डिडिएर डेसाम्प्सको टोलीमा प्रतिभा मात्र नभई कठिन परिस्थितिमा पनि जित निकाल्न सक्ने मानसिक क्षमता रहेको प्रमाणित गर्‍यो।

france

सहायक प्रशिक्षक गाइ स्टेफानले भने, ‘प्रतियोगिताको यस चरणमा यस्तो कठिन खेल खेल्नु हाम्रो लागि निकै उपयोगी भयो। खेलाडीहरूले कठिन परिस्थितिमा के गर्न सक्छन् भन्ने यसले उत्तर दिएको छ।’

उनले अगाडि भने, ‘त्यस दिन खेलमाथिको नियन्त्रण गुमाउनु सामान्य जस्तै थियो। तर, कसैले नियन्त्रण गुमाएनन्। युवा भए पनि उनीहरूले परिपक्वता देखाए।’

स्टेफानका अनुसार मोरक्को पाराग्वेभन्दा बिल्कुलै फरक चुनौती हुनेछ। ‘उनीहरू निकै व्यवस्थित र संगठित टोली हुन्। रक्षापङ्क्तिबाट आक्रमणमा रूपान्तरण हुने उनीहरूको शैली पनि उत्कृष्ट छ,’ उनले भने, ‘दायाँ र बायाँ दुवै किनारामा व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडीहरू छन्। निस्सन्देह यो उच्चस्तरको टोली हो।’

  • सम्भावित नतिजा

अप्टा सुपरकम्प्युटरका अनुसार फ्रान्सले निर्धारित समयमा जित्ने सम्भावना ६१.७ प्रतिशत छ। मोरक्कोले जित्ने सम्भावना १६.२ प्रतिशत छ भने खेल अतिरिक्त समयमा जाने सम्भावना २२.१ प्रतिशत रहेको छ।

morocco

  • विजेताले सेमिफाइनलमा कसको सामना गर्नेछ?

यस खेलको विजेताले जुलाई १४ मा अमेरिकाको टेक्सासस्थित डलासमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकसँग खेल्नेछ।

  • हेड–टु–हेड

फ्रान्स र मोरक्कोबीच पछिल्लोपटक सन् २०२२ को विश्वकप सेमिफाइनलमा भेट भएको थियो। त्यस खेलमा फ्रान्स २–० ले विजयी भएको थियो। हालसम्म यी दुई टोलीबीच कुल ६ खेल भएका छन्। जसमा फ्रान्सले ४ जित निकालेको छ भने २ खेल बराबरीमा टुंगिएका छन्। हालसम्म मोरक्कोले फ्रान्सलाई हराउन सकेको छैन।

टोली समाचार

मोरक्कोका स्ट्राइकर इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण टिमबाट बाहिरिएका छन्। उनको स्थानमा सुफियान रहिमीले सुरुवाती टोलीमा अवसर पाउने सम्भावना छ।

यता, फ्रान्सका मिडफिल्डर ओरेलियन चुआमेनी एडक्टर मांसपेशीको चोटका कारण खेल्ने–नखेल्ने टुंगो लागेको छैन। फ्रान्सका माइकल ओलिसे, ब्राड्ली बारकोला र मानु कोनेले एक–एक पहेँलो कार्ड पाएका छन्। मोरक्कोविरुद्ध फेरि कार्ड पाएमा उनीहरू सेमिफाइनलका लागि निलम्बित हुनेछन्।

brahim-diaz

सम्भावित सुरुवाती टोली

  • फ्रान्स (४–२–३–१): मेन्यान (गोलरक्षक); कुन्डे, उपामेकानो, सालिबा, डिन्ये; कोने, राबियो; डेम्बेले, ओलिसे, बारकोला; एमबाप्पे।
  • मोरक्को (४–२–३–१): बुनु (गोलरक्षक); हाकिमी, डिओप, रियाद, माजराउई; एल अयनाउई, बुआद्दी; ब्राहिम डियाज, उनाही, एल खान्नुस; रहिमी।

खेल विवरण

  • खेल: फ्रान्सविरुद्ध मोरक्को
  • प्रतियोगिता: फिफा विश्वकप २०२६ – क्वार्टरफाइनल
  • स्थान: बोस्टन स्टेडियम, फक्सबरो, म्यासाचुसेट्स, संयुक्त राज्य अमेरिका
  • समय: नेपाली समयअनुसार शुक्रबार बिहान १:४५ बजे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप