महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । आत्मदाह प्रयास गर्नुअघि काठमाडौँ महानगर प्रहरी बलबाट ड्युटीमा खटिएकी एक जना महिला प्रहरीसँग ‘ह्वील लक’ को विषयमा चर्को विवाद भएको भेटिएको छ ।
गणेश राइड सेयरिङ एपमार्फत राइड गर्दै आएका थिए । उनले चलाएको बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएपछि गणेशले प्रतिवाद गरेको भिडियो कुराकानीमा सुनिन्छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतका अनुसार गणेशले सडकभन्दा बाहिरतर्फ उँचो भागमा राख्दा पनि किन लक गरेको भनेर प्रश्न गरेका छन् । नगर प्रहरीलाई उनले आफ्नो मात्र मोटरसाइकलमा लगाएर अरूकोमा किन लक नलगाएको भनेर प्रश्न गरेका छन् ।
विवाद बढ्दै जाँदा गणेशले प्रश्न गरेका छन्, ‘मान्छेलाई हेप्छ ?’ त्यसपछि महिला प्रहरीले भनेकी छन्, ‘यो मोबाइल फुटाएको चाहिँ कसले उ गर्छ ?’ गणेशले आफूले ती महिला प्रहरीको मोबाइल फुटाएको तथ्य अस्वीकार गर्दै प्रतिवाद गर्छन्, ‘मैले फुटाएको हो ?’
मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएर भक्तपुर बस्ने गणेश विवाद हुँदा हेलमेट लगाएर मोटरसाइकलसँगै बसेका थिए । विवाद बढ्दै जाँदा मोटरसाइकलमा बसेका उनलाई महिला प्रहरीले थप प्रश्न गर्छिन्, ‘भनेको नमान्ने ? मेरो मोबाइल झारेर किने भागेको ?’
गणेश प्रतिवाद गर्दै भन्छन्, ‘कहाँ रोक्या त्यो मैले भन्नु नँ ? किन लक लगाएको त अनि ?’ त्यसपछि महिला प्रहरीले चर्को स्वरमा प्रश्न गर्छिन्, ‘नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाएर के गर्ने ? माला लगाउने ?’
यस्तो छ संवाद :
महानगर प्रहरी : जसले भनेको मान्दैन उसलाई लाइदिन्छु ।
गणेश : मान्छेलाई हेप्छ ?
महानगर प्रहरी : यो मोबाइल फुटाएको चाहिँ कसले उ गर्छ ?
गणेश : मैले फुटाएको हो ?
महानगर प्रहरी : किन फालेको मेरो मोबाइल ? मोबाइल फुटाएको उ गर्नुपर्यो अनि ।
गणेश : आफैँ आएपछि फुट्दैन ? बाइक माथि छ तल लक लगाउन आउने ?
महानगर : कहाँ जानुहुन्छ जानु ? किन भागिराको ? भनेको नमान्ने ? मेरो मोबाइल झारेर किने भागेको ?
गणेश : कहाँ रोक्या त्यो मैले भन्नु नँ ? किन लक लगाएको त अनि ?
महानगर प्रहरी : नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाएर के गर्ने ? माला लगाउने ?
महानगर प्रहरी : खोल्न मिल्दैन भनेँ त मैले ?
गणेश : बाइकमा बस्दा पनि लक लगाउँछ ?
गणेशले ह्वील लक खोलिदिन आग्रह गरे । तर, महानगर प्रहरीले जरिवाना रकम बुझाएपछि मात्रै ह्वील लक निकालिदिने जिकिर गरे । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार त्यसपछि गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए । अनि, आगो लगाए ।
अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । गणेश बिहीबार बिहान ५ बजे बालाजुस्थित दाइको डेराबाट राइड सेयरिङ एपमार्फत राइड गर्न निस्केका थिए । पत्नी र छोरासहित भक्तपुर बस्ने भए पनि उनी गएराति दाइको डेरामा बसेर काममा निस्केको पारिवारिक सदस्यहरूले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण