मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?

सोमबार, ०४ साउन २०८३, ११ : ३४
सोमबार, ०४ साउन २०८३

सारांश

  • विश्वकप फुटबलको फाइनल खेल चलिरहेका बेला प्रतिकूल मौसमका कारण रूख ढलेर विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
  • पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा रूख ढली विद्युत् प्रसारण प्रणालीमा अवरोध सिर्जना हुँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा विद्युत् आपूर्ति प्रभावित भएको थियो ।
  • प्राधिकरणले विश्वकप फुटबलको फाइनल खेलमा विद्युत् सेवा उपलब्ध गराउन उच्च सतर्कता अपनाएको र अप्रत्याशित घटनाबाट उपभोक्तामा परेको असुविधाप्रति क्षमायाचना मागेको छ ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेको समयमा  प्रतिकूल मौसमका कारण रूख ढलेर विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध भएको बताएको छ । सोमबार बिहान प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । 

प्राधिकरणले भनेको छ : ‘आज बिहान विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेको समयमा, करिब १:५४ बजे पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा प्रतिकूल मौसमका कारण रूख ढली विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध सिर्जना हुन पुग्यो। यसका कारण प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ हुन गई काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा केही समयका लागि विद्युत् आपूर्ति प्रभावित भएको थियो।’ 

प्राधिकरणले विश्वकप फुटबलको फाइनल खेलमा  विद्युत् सेवा उपलब्ध गराउन उच्च सतर्कता अपनाएको  समेत जनाएको छ । सोही अनुरूप, सम्पूर्ण सबस्टेशनहरू, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई ‘हाइ अलर्ट’ मा राखिएको तर निरन्तर वर्षाका कारण उत्पन्न उक्त अप्रत्याशित प्राकृतिक विपत्तिले प्रणालीमा अवरोध सिर्जना गरेको प्राधिकरणले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल सक्रिय भई वैकल्पिक व्यवस्था मार्फत विद्युत् प्रणालीलाई यथाशीघ्र पुनः सुचारु गरिएको समेत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले अप्रत्याशित घटनाबाट विश्वकप फुटबल हेरिरहेका खेलप्रेमी महानुभावहरू तथा सम्पूर्ण उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत मागेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप