मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

राप्रपालाई सहयोग गर्ने लिखित सहमति काँग्रेसले भङ्ग गरेको राप्रपाको आरोप

शनिबार, १७ वैशाख २०७९, १७ : २६
शनिबार, १७ वैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली काँग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् । राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा काँग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएर पनि अहिले सहमति भङ्ग गरी धोका दिएको जनाइएको छ ।

१४ मङ्सिर ०७६ मा सम्पन्न प्रदेश सभा उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेँललाई राप्रपाले सहयोग गरेको र उक्त सहयोग गरेबापत चाँगुनारायण नगरपालिकामा राप्रपाले नगर प्रमुखसहित चार वडा र नेपाली काँग्रेसलाई उपप्रमुखसहित पाँच वडा बाँडफाँट गरी निर्वाचनमा सहभागी गराउने लिखित सहमति भएको थियो । ८ मङ्सिर ०७६ मा दुई पार्टीबीच भएको सहमतिलाई नेपाली काँग्रेसले एकतर्फी भङ्ग गरेको राप्रपाको आरोप छ ।
 
राप्रपाले सहमतिपत्र पनि सार्वजनिक गरेको छ। सहमतिपत्रमा दुवै दलका केन्द्रीय प्रतिनिधिसहित सात जनाले हस्ताक्षर गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि र राप्रपाकोबाट उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेतलगायतले हस्ताक्षर गरेका छन् ।
 राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमा समेत छलफल भए पनि त्यसको कार्यान्वयन जिल्ला तहबाटै नभएको बताए । उनले ती सहमतिलाई राप्रपाले अक्षरश पालना गरेको तर काँग्रेसले सबै बुँदा पालना नगरेको समेत बताए । उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए तत्कालीन समयमा काँग्रेसका भडेँल जित्नै नसक्ने ठोकुवा गरे ।

राप्रपा पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले काँग्रेसमाथि गरेको लगानीको ब्याजसहित तिर्नुपर्ने बेलामा दिएको धोखाले काँग्रेसलाई नै हानी पुग्ने बताए । उनले पार्टीले धोका दिए पनि काँग्रेस समर्थक मतदाताहरूले धोका नदिने दाबी गरे ।

कार्यक्रममा राप्रपाका सह महामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले काँग्रेसको नियतमा खोट रहेको बताए । काँग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सो सहमति पार्टीले भङ्ग गरेकोले काँग्रेस कार्यकर्ता र समर्थकहरूलाई सहमतिपत्र देखाएर धोका दिने काँग्रेसलाई मत नदिएर सहयोग गर्न आग्रह गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप