क्रेनले उठाइएका गाडीहरु जरिवाना तिराएर छाडियो, ‘किन पार्किङ गरेको’ भनी सोधपुछ नै भएन
सारांश
- विभिन्न सञ्चारमाध्यम र नेताको निवासअगाडि शंकास्पद रूपमा राखिएका गाडीलाई सामान्य जरिवाना तिराएर छाडिएको छ।
- अनुसन्धान भइरहेको भनिए पनि गाडी धनीसँग किन पार्किङ गरेको भन्ने सोधपुछ नगरिएको पाइएको छ।
- नेपाल पत्रकार महासंघले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ।
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारमाध्यम र नेताको निवास अगाडि सोमबार शङ्कास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाले दिनभर चर्चा पाएको छ । नेपाल पत्रकार महासंघ लगायतका सङ्घ–संस्थाले यसबारे गम्भीर छानबिन गर्न माग गरे पनि उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्रेन प्रयोग गरेर उठाएका ती गाडीहरूलाई सामान्य जरिवाना तिराएर साँझ फिर्ता गरेको छ । तर, दिनभर यस विषयमा गम्भीर अनुसन्धान भइरहेको भनिए पनि साँझ गाडी लिन आउनेसँग ‘किन अनधिकृत पार्किङ गरेको?’ भनेर सामान्य सोधपुछ समेत नगरिएको पाइएको छ ।
सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालय टेलिभिजन, नेपाली कांग्रेसका सभापति गगन थापाको निवासको गेट र अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडि सवारीसाधनहरू बेवारिसे रूपमा छाडिएका थिए । बिहान गाडी छाडेर हिँडेकाहरू क्रेनले गाडी उठाएर रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुर्याएको सूचना पाएपछि साँझ कार्यालय पुगेका थिए । उनीहरू अनधिकृत रूपमा पार्किङ गरेको कसुरमा जरिवानाको चिट काटेर आफ्ना गाडी लिई फर्किएका छन् ।
अनधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए । उनले अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थलमा सवारी पार्किङ गरेको कसुरमा जरिवाना गरेर छाडिएको जानकारी दिए । शङ्कास्पद रूपमा पार्किङ गरेर हिँड्नेहरूलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गराइएको भए पनि ती गाडीहरू त्यहाँ किन राखिएका थिए भन्ने कुरा अनुसन्धानको दायरामा परेको छैन ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृत भन्छन्, ‘सञ्चारमाध्यमको गेटमा किन पार्किङ गरेको भनेर हामिले सोधेनौं ।’

यता नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडिया हाउस र पत्रकारका गाडीलाई दिनभर बन्धक बनाउने सवारीसाधनलाई सामान्य ५ सय रुपैयाँ जरिवाना मात्रै गराएर छाडिएकोमा कडा आपत्ति जनाउँदै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले यस घटनाबारे अनुसन्धान भइरहेको बताए पनि मुख्य प्रमाणका रूपमा रहेका गाडीहरू नै सवारीधनीलाई फिर्ता गरिएपछि अब हुने छानबिन र अनुसन्धानको प्रभावकारितामाथि सरोकारवालाहरूले आशङ्का व्यक्त गरेका छन् ।
पार्क गरिएका सवारी साधनमध्ये अनामनगरस्थित भाटभटेनी अगाडि अनधिकृत रूपमा राखिएको बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी निराजन पराजुलीले साँझ ६ः३० बजे जिम्मा लिएर गएका छन् । त्यसैगरी यातायात व्यवस्था विभागको रेकर्ड अनुसार अनलाइनखबरको गेटमा राखिएको बा. १२ च ८५४५ नम्बरको कार काठमाडौँका सुनिल पौडेलको नाममा दर्ता रहेको भेटिएको छ भने कान्तिपुर पब्लिकेशन अगाडि राखिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा दर्ता रहेको र बैंकबाट ऋण लिएर एसटी मोटर्सले प्रयोग गर्दै आएको खुलेको छ। त्यस्तै हिमालय टेलिभिजनको गेटमा राखिएको बा. १० च १२५५ नम्बरको कार धुम्बाराहीस्थित डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको छ ।

सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यी ५ वटा शङ्कास्पद गाडीबाहेक पार्किङ निषेध गरिएको ठाउँमा सवारी पार्क गर्ने अन्य ९ वटा सवारी साधनका चालकलाई पनि कारबाही गरेको छ। ट्राफिक नियम अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई ५ सय, दोस्रो पटक परेकालाई १ हजार र तेस्रो पटक परेकालाई १५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण