शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

महत्त्वपूर्ण प्रतियोगिताअघि दीपेन्द्रको चोटले थपियो नेपाली टोलीमा चिन्ता

सोमबार, १३ कात्तिक २०८०, १६ : ०८
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोटको महत्त्वपूर्ण खेलअघि आफ्ना अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी अप्रत्याशित रूपमा घाइते हुन पुगेपछि नेपाली टोली दबाबमा परेको छ । अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले छनोट प्रतियोगिताको सबै खेल गुमाउने सम्भावना पनि बढेको छ । 

टी—२० विश्वकपको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेल अहिले नेपालमा भइरहेको छ । आठ राष्ट्र सहभागी यो प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप खेल्ने अवसर पाउने छन् । 

छनोट प्रतियोगितामा सोमबार नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम थियो । सिंगापुरविरुद्धको खेल सुरु हुनुअघि नै अभ्यासका क्रममा २३ वर्षीय दीपेन्द्र घाइते भएका थिए । 

उनको बायाँ खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको बताइएको छ । उनलाई तत्काल उपचारका अस्पताल लगिएको थियो । उनको लिगामेन्टमा समस्या देखिएको बताइएको छ । उपचारपछि वैशाखी टेकेर उनी पुनः सिंगापुरविरुद्धको खेल हेर्न कीर्तिपुर क्रिकेट मैदान पुगेका थिए । 

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्र नेपालका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । त्यसैले महत्त्वपूर्ण प्रतियोगिताअघि उनी घाइते भएपछि नेपाली टोलीमा चिन्ता थपिएको छ । सोमबार सिंगापुरविरुद्धको खेलमा दीपेन्द्रको स्थानमा विवेक यादवलाई खेलाइएको थियो ।

दीपेन्द्रको अनुपस्थितिमा नेपालले उक्त खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो । जारी छनोट प्रतियोगितामा नेपालले मंगलबार मलेसियासँग आफ्नो दोस्रो खेल खेल्नेछ । दीपेन्द्रलाई पूर्ण रूपमा स्वस्थ हुन केही समय लाग्नेछ ।

तर, जारी छनोट प्रतियोगिता एक सातामै सकिने भएकाले दीपेन्द्र खेलमा फर्कने सम्भावना निकै कम रहेको बताइएको छ । यद्यपि, फाइनल खेलअघि नै दीपेन्द्र खेलमा फर्कने झिनो सम्भावना भने कायमै रहेको नेपाल क्रिकेट संघ स्रोतले जनाएको छ । 

दायाँहाते ब्याट्सम्यान दीपेन्द्र नेपालको तर्फबाट टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने खेलाडी पनि हुन् । उनले ५२ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको ४६ पालीमा कुल एक हजार तीन सय ४४ रन बनाएका छन् ।

टी—२० क्रिकेटमा उनले एक शतक र सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । उनले टी—२० अन्तर्राष्ट्रिय खेलमा अविजित एक सय १० रन बनाएका छन् । 

यसैगरी टोलीलाई आवश्यकता पर्दा उनी कुशल बलरको भूमिका पनि निर्वाह गर्न सक्छन् । यी अनुभवी खेलाडीले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५ विकेट पनि लिइसकेका छन् । टी—२० मा उनले दुई पटक चार विकेट लिएका छन् । टी—२० मा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १८ रन दिएर चार विकेट हो ।

यसका अतिरिक्त उनी टोलीका कुशल फिल्डर पनि हुन् । उनले टी—२० क्रिकेटमा २२ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २६ वटा क्याच पनि लिइसकेका छन् । त्यसैले पनि अन्तिम चरणको विश्वकप छनोटअघि उनी घाइते हुँदा टोलीमा चिन्ता थपिएको छ । 

हालै घरेलु मैदानमा सम्पन्न हङ्कङ र यूएई सम्मिलित त्रिकोणात्मक टी—२० शृङ्खलामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो शृङ्खलाको यूएईविरुद्धको पहिलो खेलमा उनले अविजित ३४ रन बनाएका थिए । हङ्कङविरुद्धको खेलमा ५७ र यूएईविरुद्धको दोस्रो खेलमा अविजित ४० रन बनाएका थिए । उनले यूएईविरुद्धको फाइनल खेलमा पनि २० जोडेका थिए । यद्यपि, उक्त शृङ्खलाको फाइनलमा नेपाली टोली यूएईसँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप