बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : राष्ट्रियसभा निर्वाचनमा ५२ उम्मेदवार मैदानमा, कांग्रेसमा असन्तुष्टि

सोमबार, २३ पुस २०८०, २० : ५२
सोमबार, २३ पुस २०८०

आज २०८० पुस २३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्रियसभाका १९ सिटमा ५२ उम्मेदवार, कांग्रेसमा उम्मेदवारी चयनको विषयलाई लिएर असन्तुष्टि, उम्मेदवार छनोटको विषयमा हुम्ला माओवादी असन्तुष्ट, विवाहेत्तर सम्बन्धका कारण हत्या !, प्राधिकरणविरुद्ध हड्तालमा उत्रिए बुटवल–भैरहवाका उद्योगी, एक वर्षमा पनि पूरा भएन एक किलोमिटर सडक कालोपत्र, कोशीमा सभामुख चयन गर्ने तयारी लगायत छन् ।

१. राष्ट्रियसभाका १९ सिटमा ५२ उम्मेदवार
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत १९ सिटका लागि ५२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । सोमबार निर्धारित समयभित्र ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

२. कांग्रेसमा उम्मेदवारी चयनको विषयलाई लिएर असन्तुष्टि
राष्ट्रियसभा निर्वाचन अन्तर्गत उम्मेदवारी चयनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका अतिरिक्त अन्य नेताले समेत उम्मेदवारी चयन प्रक्रियामा प्रश्न उठाएका छन् । 

३. उम्मेदवार छनोटको विषयमा हुम्ला माओवादी असन्तुष्ट
राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटलाई लिएर नेकपा (माओवादी केन्द्र) हुम्लामा असन्तुष्टि देखिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दलित कोटाबाट कालिकोटका विष्णुबहादुर विकलाई टिकट दिएपछि हुम्लामा असन्तुष्टि चुलिएको हो । 

४. विवाहेत्तर सम्बन्धका कारण हत्या !
चितवनको भरतपुरमा गत मङ्सिर ६ गते बोरामा पोका पारेर फालिएका दुई शवको बारेमा प्रहरीले बल्ल वास्तविकता पत्ता लगाएको छ । प्रहरीका अनुसार मृतक दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्यामा भारतीय नागरिक नै संलग्न रहेको र आरोपितले आफ्नी पत्नीको विवाहेत्तर सम्बन्धका कारण दुई जनाको हत्या गरेको प्रहरीको भनाइ छ ।  

५. प्राधिकरणविरुद्ध हड्तालमा उत्रिए बुटवल–भैरहवाका उद्योगी
बुटवल–भैरहवा क्षेत्रका दर्जन उद्योग नेपाल विद्युत् प्राधिकरणका विरुद्ध हड्तालमा उत्रिएका छन् । प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउने भन्दै देशभरका २३ उद्योगको बिजुली काटिसकेको छ । प्राधिकरणको उक्त ‘एक्सन’को विरोधमा बुटवल–भैरहवाका उद्योगी आफ्नो उद्योग नै बन्द गरेर हड्तालमा उत्रिएका हुन् ।

६. एक वर्षमा पनि पूरा भएन एक किलोमिटर सडक कालोपत्र
बारा–पर्सा औद्योगिक करिडोरको ६ लेनसँग जोडिएको सिमरा टेलिकमदेखि विमानस्थलको उत्तरतर्फ हुँदै विशेष आर्थिक क्षेत्र सेज जाने पहुँच मार्गको एक किलोमिटर कालोपत्रको काम एक वर्षमा पनि सम्पन्न हुने सकेको छैन । संघीय सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ५० करोडको प्याकेजभित्र नालासहित एक किलोमिटर सडक कालोपत्र गर्ने योजनामा उल्लेख छ ।

७. कोशीमा सभामुख चयन गर्ने तयारी
कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया टुङ्ग्याउन दलहरूले तयारी गरेका छन् । यद्यपि प्रमुख प्रतिपक्षी दल एमालेले भने अझै उक्त प्रक्रियालाई टार्ने सङ्केत गरेको छ । सत्ता गठबन्धनका एक नेताले दिएको जानकारी अनुसार मंगलबार दिनभर लगाएर भए पनि सभामुख चयन प्रक्रिया टुङ्ग्याउन लागिएको हो ।

८. नेप्से ३६ अङ्क बढ्यो 
सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथि वृद्धि भएको छ । अघिल्लो दिन २६ अङ्कले घटेको बजारमा सोमबार नेप्से सूचक ३६.५७ अङ्कले बढ्दै २०५९.४९ मा उक्लिएको हो ।

९. कर्णालीको लगानी सम्मेलन चर्चामै सीमित
कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलनबारे अझै अन्योल व्याप्त छ । अहिलेसम्म लगानी सम्मेलनको तयारीका लागि सरकारले ध्यान नै दिएको देखिँदैन ।

१०. मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन
आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ । आरती साहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले पत्र च्यातेर प्रदर्शन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप