बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, २९ पुस २०८०, २० : ५०
आइतबार, २९ पुस २०८०

आज २०८० पुस २९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा माघ २ देखि १२ सम्म राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लाग्ने, माओवादी केन्द्रको प्रस्तावित विधानमा के–के छन् व्यवस्था ?, मेलम्चीको पानी काठमाडौँमा सोमबारदेखि वितरण हुने, भक्का दिवस मनाइयो, के हो भक्का संस्कृति ?, रामबहादुर बम्जन र उनका अनुयायीले वन क्षेत्रमा बनाएको संरचना हटाउन पहल, चित्रबहादुर केसीका दुई अलग रुप, नेप्से ३१ अङ्कले बढ्यो लगायत छन् ।

१. माघ २ देखि १२ सम्म राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लाग्ने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता माघ २ देखि १२ गतेसम्म लाग्ने जनाएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट मौन अवधि लागु हुने पनि आयोगले जनाएको छ ।

२. माओवादी केन्द्रको प्रस्तावित विधानमा के–के छन् व्यवस्था ?

नेकपा माओवादी केन्द्रको प्रस्तावित विधानमा नियमित, विशेष र आकस्मिक गरी तीन प्रकारका बैठकको प्रस्ताव गरिएको छ । पार्टीको प्रस्तावित विधानमा केन्द्रीय समितिको बैठक कम्तीमा ६ महिनामा एक पटक, पोलिटब्यूरो बैठक चार महिनामा एक पटक बस्ने प्रस्ताव गरिएको छ ।

३. मेलम्चीको पानी काठमाडौँमा सोमबारदेखि वितरण हुने

वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरण पुनः शुभारम्भ गर्ने भएका छन् ।

४. भक्का दिवस मनाइयो, के हो भक्का संस्कृति ?

कोच राजवंशी समुदायको संस्कृतिको रूपमा विकास भइरहेको भक्का दिवस आज झापामा भव्य रूपमा मनाइएको छ । २०७४ साल पुस २९ गतेबाट कोचिला गाभुर फ्रन्टले सुरु गरेको भक्का दिवसको यो सातौँ संस्करण हो । भक्का दिवसकै अवसरमा झापाको भद्रपुर नगरपालिका, कचनकवल र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका छन् । 

५. रामबहादुर बम्जन र उनका अनुयायीले वन क्षेत्रमा बनाएको संरचना हटाउन पहल

‘तपस्वी’ भनिएका रामबहादुर बम्जन र उनका अनुयायीले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र बनाएका संरचना हटाउन निकुञ्जले पहल सुरु गरेको छ । तत्कालीन जिल्ला वन कार्यालयको क्षेत्रधिकारभित्र रहेको हलखोरिया र आसपासको क्षेत्रमा २०६२ जेठदेखि रामबहादुर बम्जन र उनका अनुयायीले भौतिक संरचना बनाएर भोगचलन गर्दै आएका थिए ।

६. चित्रबहादुर केसीका दुई अलग रुप

तुलनात्मक रूपमा नेपालको राजनीतिमा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी ‘इमान र निष्ठा’को राजनीति गर्ने नेता भनेर चिनिन्छन् । तर तिनै केसी नेतृत्वको पार्टी पद प्राप्तिका लागि कतिसम्म मरिहत्ते गर्छ भन्ने कुरा सो पार्टीको पछिल्लो प्रस्तावले पुष्टि गरेको छ । जनमोर्चाले राष्ट्रियसभामा मनोनीततर्फबाट पदपूर्ति हुने एक सिटका लागि दुर्गा पौडेलको नाम सिफारिस गरेको छ । तर कुनै बेला वामदेवलाई मनोनीत गर्दा चुनाव हारेकालाई ल्याइएको भन्दै असन्तुष्टि जनाउने केसी अहिले आफ्नै पार्टीकी पराजित नेतृलाई मनोनीत गराउन भने जोडबल गरिरहेका छन् ।

७. माघे सङ्क्रान्तिका लागि तरुल, चाकु किन्नेहरुको भिड

माघे सङ्क्रान्तिका लागि तरुल, चाकु किन्न बजारमा भिड लाग्ने गरेको छ । तरुल, चाकु जस्ता परिकार माघे सङ्क्रान्तिमा खाने प्रचलन छ । 

८. नेप्से ३१ अङ्कले बढ्यो 

सेयर बजार परिसूचक नेप्सेमा आइतबार ३१ अंकमाथि वृद्धि भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षापछि केही दिन उचालिएको सेयर बजार त्यसपछि भने सुस्त बनेको थियो । तर, आइतबार पुनः नेप्से सूचक ३१ अङ्कमाथिले बढ्दै २१२० अङ्कमा उक्लिएको हो ।

९. न्यायाधीश पत्नीद्वारा सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास

सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

१०. एनसेल छानबिन समितिका संयोजक बेलायत पुगेर फर्किए

एनसेलको सेयर बिक्री प्रकरणबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिका संयोजक बेलायत पुगेर फर्किएका छन् । मलेसियन कम्पनी आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई न्यून मूल्यमा कम्पनीको ८० प्रतिशत सेयर बेचेपछि यसबारे छानबिन गर्न गठित समितिका संयोजक नै बेलायत पुगेर फर्किएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप