शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, ०७ माघ २०८०, २० : ५०
आइतबार, ०७ माघ २०८०

आज २०८० माघ ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा छानबिनका फाइल संसदीय समितिबिच खोसाखोस, रवि लामिछाने मुछिएको फाइल सीआईबीले झिकायो, मधेसी दल किन गर्दैछन् आन्दोलन ?, राष्ट्रपतिलाई सभामुखको ‘स्मरण पत्र’, न्याय परिषदमा तानिएका न्यायाधीश भट्टराईले दिए राजीनामा, पूर्वराजा हेटौंडामा; स्वागतद्वार सम्बन्धमा बागमती सरकारका गृहमन्त्रीको आपत्ति, अखिल क्रान्तिकारीका अध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी, उमेरले ७० कटेकाहरु नै राजनीतिको केन्द्रमा लगायत छन् ।

१. छानबिनका फाइल संसदीय समितिबिच खोसाखोस
नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस( र टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारको छानबिनका नाममा क्षेत्राधिकारको ख्यालै नगरी संसदीय समितिहरू होडबाजीमा उत्रेको पाइएको छ । यसअघिका भ्रष्टाचार काण्डमा भने संसदीय समितिहरूमा यस्तो प्रतिस्पर्धा हुँदैनथ्यो । यही बेथितिका बिच आइतबार सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।

२. रवि लामिछाने मुछिएको फाइल सीआईबीले झिकायो
ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

३. मधेसी दल किन गर्दैछन् आन्दोलन ?
मधेसी दलका रुपमा स्थापित जसपा नेपाल, जनमत पार्टीले तराई मधेसमा आन्दोलनको तयारी गरिरहेका छन् । लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोसमेत आन्दोलनको तयारीमा जुटेका छन्, यद्यपि लोसपाले आन्दोलन गर्ने औपचारिक निर्णय गरेको छैन । सरकारमा सामेल दलहरु नै विभिन्न मुद्दा उठाएर आन्दोलनमा उत्रिने तयारी गर्नुले विभिन्न प्रश्न उब्जाएका छन् ।

४. राष्ट्रपतिलाई सभामुखको ‘स्मरण पत्र’
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् । यसअघि महासचिव नियुक्तिका लागि पठाइएको सिफारिस के भइरहेको छ भन्दै सभामुख घिमिरेले ‘स्मरण पत्र’ पठाएका हुन् । 

५. न्याय परिषदमा तानिएका न्यायाधीश भट्टराईले दिए राजीनामा
जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । लामो समयदेखि न्याय परिषदमा तानिएका न्यायाधीश भट्टराईले अन्ततः माघ ५ गते शुक्रबार राजीनामा बुझाएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै उनले न्याय परिषदमार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन् ।

६. पूर्वराजा हेटौंडामा; स्वागतद्वार सम्बन्धमा बागमती सरकारका गृहमन्त्रीको आपत्ति
मकवानपुरको हेटौँडा भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र प्रचार सामग्रीमा सरकारले आपत्ति जनाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा संविधान विपरीत पूर्वराजाको स्वागतमा ब्यानर र गेट बनाइएको भन्दै प्रहरीले सच्याउन लगाएको हो ।

७. अखिल क्रान्तिकारीका अध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
१५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । सुर्खेत प्रहरीका अनुसार कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट शुक्रबार पक्राउ अनुमति पाएको हो ।

८. कांग्रेस महासमिति बैठकको तयारी कहाँ पुग्यो ?
नेपाली कांग्रेसको महासमिति बैठक ठिक एक महिनापछि हुँदैछ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक हुन लागेको हो । ०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्दैछ ।

९. उमेरले ७० कटेकाहरु नै राजनीतिको केन्द्रमा
उमेरले ७० वर्ष कटेका नेताहरु नै यतिबेला देशको राजनीतिको केन्द्रमा रहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले पनि आफ्नो पार्टीको कार्यकारी भूमिकामा छन् ।

१०. निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा नेविसंघको प्रदर्शन
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आइतबार सो संगठनका नेता कार्यकर्ताले निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर मै पुगेर विरोध प्रदर्शन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप