सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष समाचार

मङ्गलबार, ०८ फागुन २०८०, २० : ४७
मङ्गलबार, ०८ फागुन २०८०

आज मिति २०८० साल फागुन महिनाको ८ गते मंगबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • एमाले केन्द्रीय कमिटी बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका हुन् ।

 

  • कांग्रेस महासमिति बैठक

नेपाली  कांग्रेसको महासमिति बैठक दोस्रो दिन मंगलबार ललितपुरको गोदावरीमा जारी रह्यो । मंगलबारको बैठकमा पाँच प्रतिवेदन पेस भएका छन् । जसमा पार्टी सभापति शेर बहादुर देउवाले नरुचाएको २०८४ को निर्वाचनमा गठबन्धन नगर्नेदेखि सरकारमा रहेका मन्त्रीहरूको आलोचनासम्म समेटिएका छन् ।

 

  • गौतमबुद्ध साझेदारी वनमा भ्रष्टाचार

कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भेटिएको छ ।

 

  • अफ्रिकन स्वाइन फिभर

नेपालमा पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारणले करिब १४ लाख घरपालुवा बङ्गुर र जङ्गली बँदेल उच्च जोखिममा रहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ । नेपालका करिब ४ लाख किसान परिवारले गर्दै आएको बङ्गुर पालन पेशा नै अहिले सङ्कटग्रस्त अवस्थामा पुगेको परिषद्ले जनाएको हो । 

 

  •  एकीकृत प्रवेश परीक्षाको नतिजा

चिकित्सा शिक्षा आयोगले लिएको स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजामा चलखेलका आशङ्का गरिएको छ । शैक्षिक सत्र २०८०/०८१ का लागि विभिन्न शैक्षिक कार्यक्रममा भर्नाका लागि आयोगले २०८० माघ २० देखि २२ सम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो । जसको नतिजा माघ २४ गत प्रकाशित गरिएको थियो ।

 

  • दश वर्षमा ह्वात्तै बढ्यो सार्वजनिक ऋण

 मुलुक भुक्तानी दायित्वमा फसेको सरकारले बताएको छ । अघिल्ला सरकारका पालामा सार्वजनिक ऋणको नाममा लिइएका ठुला आर्थिक सहायताको दायित्व बढ्दै जाँदा सरकारमाथि ठुलो आर्थिक भार बढेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका हुन् । 

 

  • बजेट दुरुपयोग

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको जीतपुर गढीमाई चोकदेखि पूर्वतर्फको सडक निर्माणमा ठेकेदारको चरम लापरबाहीका कारण स्थानीयले सास्ती भोगेका छन् । संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ५० करोडको योजनामा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक कालोपत्रेको काममा ढिलासुस्ती भएको हो ।

  • ट्रंक/डेडिकेटेड महसुल विवाद

सरकारले ट्रंक तथा डेडिकेटेड लाइनको विवाद छानबिन गर्न गठन गरेको न्यायिक समितिको म्याद थप गरेको छ । समितिले छानबिन गरेर प्रतिवेदन/राय तयार गर्न थप डेढ महिनाको समय माग गरे पनि मन्त्रिपरिषद्को बैठकले एक महिना मात्र समय थप गरेको हो । यससँगै, न्यायिक समितिसँग उद्योगी र विद्युत् प्राधिकरणबिचको विवादबारे छानबिन गर्न कूल ५९ दिन हुनेछ ।

  • मकैमा आत्मनिर्भर हुन कति सहज ?

पछिल्लो समय मकैको माग बढ्दो छ । तर स्वदेशी उत्पादनले आन्तरिक माग करिब ३ महिनामात्रै धान्ने गरेको छ । बाँकी नौ महिनाका लागि आयातित मकैमा निर्भर हुनु परेको छ ।

  • समाजवादी मोर्चा

 राष्ट्रिय मुद्दामा बेखबर रहेको चार दलीय समाजवादी मोर्चाको नेतृत्व ८ महिनापछि फेरिएको छ । आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय सुविधानगरमा बसेको मोर्चाको बैठकले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेतृत्व हस्तान्तरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप