आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०७ चैत २०८०, २१ : ३४
बुधबार, ०७ चैत २०८०

आज २०८० चैत ७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • गिरिजाप्रसाद कोइराला १४औँ स्मृति दिवस

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिएको छ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । 

  • प्रदेश सरकार

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई २०८० कार्तिक १ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत दिनु अघि भनेका थिए, ‘संविधान मिचेर ढाकछोप गर्न हामी एकपछि अर्को गल्ती दोहो¥याउँदै छौँ । संविधान र कानुनका प्रावधानलाई मिच्ने काम भएको छ.... । संविधानको धाराको प्रयोग गर्दै गर्दा हामी कहाँ पुग्छौँ । यसको गणितीय अवस्थालाई हामीले कुनै ख्याल गरेनौँ... । उपधारा ५ मा नपुर्याउँ है, घाँटीमा घण्टी झुण्डिन सक्छ भनेको थिएँ । त्यो धाराको प्रयोग कसरी गर्ने भन्ने विषयमा हामीले हेक्का राख्न सकेनौँ ।’

बागमती प्रदेश राजनीतिक अस्थिरताको भुमरीमा फस्ने खतरा देखिएको छ । अहिलेको सत्ता समीकरण अनुसार बागमती प्रदेशमा कुनै पनि पक्षले सहज बहुमत जुटाउन नसक्ने अवस्था देखिएका कारण कोशी मोडलकै पुनरावृत्ति हुने खतरा बढ्दै गएको छ ।

  • निकुञ्जमा नजर

 ‘देशको मेरुदण्ड’ नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई पत्राचार गरेर यस सम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको पत्र पाएलगत्तै वन्यजन्तु विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई पत्र पठाउँदै ५ दिनभित्र जवाफ माग गरेको हो ।

  • आईपीएल काउन्टडाउन

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यसै महिना सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७औँ संस्करण हो । 

  • प्रसूति तथा स्त्री रोग अस्पताल

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकले पाठेघरको शल्यक्रिया गर्दा मूत्रनली काटिदिएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ । गोदावरी नगरपालिका–३, कैलालीकी ४२ वर्षीय कमलादेवी कैनीकी छोरीले उपचारमा लापरबाही भएको भन्दै दिएको उजुरीको प्रारम्भिक छानबिन सकिएको छ । प्रारम्भिक प्रतिवेदनबारे काउन्सिल बोर्डको पूर्ण बैठकबाट निर्णय हुन बाँकी छ । निर्णय नभएसम्म छानबिनको प्रारम्भिक प्रतिवेदनबारे केही बताउन नमिल्ने काउन्सिलका रजिष्ट्रार डाक्टर सतिश कुमार देवले रातोपाटीलाई बताए ।

  •  ‘एकता’को अन्तर्य

संघीय संसदमा प्रतिपक्षी भूमिकामा रहेको नेपाली कांग्रेसभित्र ‘एकता’ देखिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे सिङ्गो कांग्रेसमा एउटै मत सुनिन्छ । फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनाउनुलाई ‘राजनीतिक बेइमानी’ भन्नेमा कांग्रेस एकमत छ । 

  • उपनिर्वाचन

आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ र प्रदेश सभातर्फ बझाङ १ (क) मा हुने उपनिर्वाचनको मिति नजिकिएसँगै प्रमुखसहित विभिन्न राजनीतिक दल आ–आफ्नो रणनीतिसहित तयारीमा जुटेका छन् । उक्त निर्वाचनमा भाग लिन कांग्रेस, एमाले, माओवादी, रास्वपासहित २० वटा दल निर्वाचन आयोगमा दर्ता भैसकेका छन् । आयोगमा दल दर्तासँगै सबैजसो दलहरू उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् ।

  • बोआओ विवाद

चीनमा हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’मा नेपालबाट कसले प्रतिनिधित्व गर्ने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन । चैत १३ र १४ गते हुने सम्मेलनमा सहभागी हुन चीनले नेपाललाई निम्ता पठाइसकेको छ । चीनले सो सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिताको अपेक्षा गरेको छ । त्यसका लागि चीनले आवश्यक प्रयाससमेत गरिरहेको छ ।

  • शालिन मृत्यु प्रकरण

 चितनवको रत्ननगरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालिन पोखरेलको मृत्युबारे यतिबेला विभिन्न कोणबाट बहस भइरहेको छ । उनको मृत्युको विषयमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दायर भइसकेको छ ।

  • बाबुरामलाई बाह्र प्रश्न

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरूलाई आफूले कारबाही नगर्ने बताएका छन् । अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले त्यसबारे जानकारी गराएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप