सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ०३ वैशाख २०८१, २१ : ५३
सोमबार, ०३ वैशाख २०८१

आज २०८१ वैशाख ३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सुदूरपश्चिम प्रकरणले सत्ता गठबन्धनमा खटपट, सिस्ने खोला–नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’, चैत २७ को प्रदर्शनमा घाइते राप्रपा नेताको मृत्यु, आयोगको प्रतिवेदन कार्यान्वयनमा लागि अख्तियारलाई शिक्षा मन्त्रालयको पत्र, सन्दीप लामिछाने प्रकरण : गौशाला २६ को निवेदन माग्ने आदेश, जसपाले सार्वजनिक गर्‍यो महाधिवेशन कार्यतालिका, जथाभावी विदेश नजान आफ्ना सांसदलाई ओलीको चेतावनी लगायत छन् ।

१. सुदूरपश्चिम प्रकरणले सत्ता गठबन्धनमा खटपट
सुदूरपश्चिम प्रदेशको सरकार गठन सम्बन्धमा सत्ता गठबन्धनभित्र खटपट बढ्न थालेको छ । सत्ता गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्य गरेसँगै खटपट बढेको हो ।

२. सिस्ने खोला–नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
सिस्ने खोला–नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

३. चैत २७ को प्रदर्शनमा घाइते राप्रपा नेताको मृत्यु
राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको मृत्यु भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

४. आयोगको प्रतिवेदन कार्यान्वयनमा लागि अख्तियारलाई शिक्षा मन्त्रालयको पत्र
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेका ४३ जनामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । 

५. सन्दीप लामिछाने प्रकरण : गौशाला २६ को निवेदन माग्ने आदेश
उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा ‘गौशाला २६’ ले जन्मदर्ताको प्रतिलिपि पाउनको लागि गाउँपालिकामा दिएको निवेदनको सक्कल प्रति माग्ने आदेश दिएको छ । तादी गाउँपालिकाले २०७९ असार १४ मा पीडितको निवेदनको आधारमा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो ।

६. जसपाले सार्वजनिक गर्‍यो महाधिवेशन कार्यतालिका
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

७. जथाभावी विदेश नजान आफ्ना सांसदलाई ओलीको चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान उनले निर्देशन दिएका हुन् ।

८. नेपाल ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’को सेमिफाइनलमा 
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार खेलिएको दोस्रो खेलमा कतारले मलेसियालाई चार विकेटले हराएपछि नेपाल समूहगत चरणको आफ्नो अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको हो । 

९. मुख्यमन्त्री नियुक्तिका लागि समन्वय गर्न कांग्रेसले खटायो प्रतिनिधि
सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ हुन थालेपछि कांग्रेसले दबाब दिने भएको छ । सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्तिको बारेमा प्रदेश प्रमुख नजिर मियाँसँग समन्वय गर्न जिम्मेवारी तोकेको हो ।

१०. पूर्वसांसद साहमाथि आक्रमण
सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप