काठमाडौँ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन भएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।
तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनमा २ जनाले ज्यान गुमाएका छन् । यसैगरी प्रदर्शनकारीले एकीकृत समाजवादीको कार्यालयका साथै केही घरमा आगजनी र तोडफोड गरेका छन् । स्थिति नियन्त्रणबाहिर गएसँगै तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् ।
गणतन्त्र पक्षधरको आन्दोलन भने शान्तपूर्ण रुपमा सम्पन्न भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ, ‘अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यू आदेशको निरन्तरता स्वरुप मिति २०८१।१२।१५ गते रातीको १० बजेदेखि मिति २०८१।१२।१६ गते विहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।’
शुक्रबार व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै प्रशासनले अपराह्न ४ः२५देखि कर्फ्यु आदेश जारी गरेको हो ।
काठमाडौँ । आज मिति २०८१ चैत महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु
दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि परीक्षामा अबरोध नगर्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै परीक्षा अत्यन्त महत्वपूर्ण विषय भएकोले यसलाई गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरेका हुन् ।
परीक्षामा कुनै पनि प्रकारको असर पर्न नदिन शिक्षा मन्त्रालयले सबैमा अनुरोध गरेको हो । यतिबेला एसईई तथा स्नातक तहका परीक्षा संचालन भइरहेका छन् । ५ लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित भई एसईई दिइरहेका छन्। आजको प्रदर्शनका कारण काठमाडौँमा परीक्षा दिएर घर फर्किने विद्यार्थी समस्या परेका थिए।
त्यस्तै विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित भई परीक्षा सञ्चालन भइरहेको छ। लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्वपूर्ण कडीका रुपमा रहेको परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सप्पूर्ण नागरिकको कर्तव्य रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौँ । शान्तिपूर्ण आन्दोलनका नाममा आज भएको हिंसात्मक घटनाको नेपाली कांग्रेसले निन्दा गरेको छ । संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई कांग्रेसले सदैव सम्मान गर्ने तर हिंसात्मक घटनाको कहिल्यै समर्थन गर्न नसक्ने जनाएको छ ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एक विज्ञप्ति जारी गर्दै आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । साथै विज्ञप्तिमा हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कानूनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गरिएको छ ।
नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव छ भन्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं, विज्ञप्तिमा भनिएको छ, ‘हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेसले सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील गरेको छ ।
काठमाडौँ । गृह मन्त्रालयले शुक्रवार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीले ठुलो संयमता अपनाएर ठुलो मानवीय क्षति हुनबाट जोगिएको जनाएको छ ।
गृह मन्त्रालयले शुक्रवार साँझ गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले सुरक्षाकर्मीको संयमताका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको बताएका हुन् ।
उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरू दुर्गा प्रसाईँको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए ।
काठमाडौँ । शुक्रबार दिउँसो १२ बजे तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यक्रम शुरु भैसकेको थियो । सिनामंगल र कोटेश्वरपट्टिबाट राजावादीहरू प्रदर्शन क्षेत्रमा जम्मा हुँदै थिए ।
पश्चिमबाट जाने भिड नियन्त्रणका लागि नयाँ बानेश्वरमै सुरक्षाकर्मीले बार लगाएका थिए । तीनकुनेदेखि नयाँ बानेश्वरसम्म चार तहको सुरक्षा घेरा सशस्त्र र नेपाल प्रहरीको थियो । तीनकुने पुलवारि प्रदर्शनकारीलाई आउन नदिने उद्देश्यले पहिलो तहमा पारी नै सशस्त्र प्रहरी खटाइएको थियो ।
करिब साढे १२ बजे कोटेश्वरबाट गणतन्त्रविरुद्ध नारा लगाउँदै प्रदर्शनकारी तीनकुने प्रवेश गरे । उक्त भिडसँगै आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ उक्त क्षेत्रमा आउन लागेको हल्ला फैलियो । प्रसाईँ आउन लागेको खबरसँगै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरे ।
काठमाडौँ । समाजवादी प्रेस संगठनले शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।
संगठनका महासचिव रोहित दाहालले शुक्रबार राति विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंका विभिन्न स्थानमा मच्चाएको अराजकता, उद्दण्डता र हिंसामा परी एक जना होनाहार पत्रकारको निधन भएको उल्लेख गरेका छन् ।
पूर्वराजावादीहरुले काठमाडौँको तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको थियो । उक्त घटनाबाट सिङ्गो संगठन मर्माहत भएको भन्दै समाजवादी प्रेस संगठनले पत्रकार सुरेज रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादी समूहको प्रदर्शन स्थलमा भेटिएको शव पत्रकार सुरेश रजकको पुष्टि भएको छ । शुक्रवार दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको थियो । शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । रजकसँगै तीनकुनेको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका हुन् । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
काठमाडौं । काठमाडौंको तीनकुने स्थित राजावादीको प्रदर्शन स्थलमा एकजना घाइतेको उद्धार गरिएको छ । प्रदर्शनकारीलाई तितरबितर बनाएपछि एकजना घाइते अवस्थामा भेटिएका पुरुषको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘एकजना घाइतेको उद्धार गरिएको छ ।’
यसअघि दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले रातोपाटीलाई बताए । उनले भने, ‘पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौं ।’
काठमाडौँ । व्यवस्था विरोधी राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले आज प्रदर्शनका क्रममा भएको सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शुक्रबार साँझ रातोपाटीसँग कुरागर्दै उनले सरकारले नै प्रदर्शनकारीलाई उत्तेजित बनाउँदा अप्रिय अवस्था निम्तिएको दाबी गरे ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुनेमा भएको नागरिकहरुको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरि दमन, अश्रुग्यास प्रहार, लाठीचार्ज गरेको उनले जिकिर गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलेको छ ।
शुक्रबार संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले गाडी जलाएका हुन । भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएको परियारले रातोपाटीलाई जानकारी दिए ।
उनले कफ्यु छली भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरुले गाडी रोकेर जलाएको बताए । परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।
काठमाडौं । सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ ।
राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचार जलाएको जनाए । उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारले लापरवाही गरेको बताए ।
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादी समूहको प्रदर्शन स्थलमा एकजनाको शव फेला परेको छ ।
शुक्रवार दिउँसो आगजनी भएको घर नजिकै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले रातोपाटीलाई बताए । उनले भने, पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौं ।’
यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
काठमाडौं । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालयमा परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘आज भएका सवै घटनामा खेदजनक छन् ।’
प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । सुरक्षाकर्मीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । कानुन हातमा लिनेलाई नियन्त्रणमा लिएर कारवाही गरिने सहसचिव रिजालले जानकारी दिए । उनले भने, ‘यो घटनाबाट कोही आतंकित हुनुपर्दैन् ।’
काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।
मन्त्रालयले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको दावी पनि गरेका छन् ।
नेपालले विज्ञप्तिमा भनेका छन्– ‘राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारीहरुद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ ।’ उनले ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमामात्र सीमित रहेको अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित हुने भनेका छन् । तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन ह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटी तर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेपछि गणतन्त्रको विरुद्ध नाराबाजी गरिरहेका छन् ।
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नर्कतिर गएको बताएका छन् । समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार गरेको जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष कांग्रेससँगको गठबन्धनका क्रममा ओली र आफूबिच भएको स्वर्ग र नर्कको प्रसङ्ग कोट्याउँदै प्रचण्डले ओली नर्क गएको र आफू स्वर्गतिर जान प्रेरित गरेकाले त्यस अर्थमा केपी ओलीलाई धन्यवाद दिए ।
‘अघि माधवजीले स्वर्ग र नर्कको कुरा गर्नुभयो । तर बुझाई त्यो होइन । उनी नर्कतिर गए मलाई र हाम्रो आन्दोलनलाई जनतातिर फर्काउन प्रेरित गरे त्यस अर्थमा केपी ओलीलाई धन्यवाद छ’ प्रचण्डको भनाइ छ । प्रचण्डले ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने भन्दै अहिले पनि उनले उल्टाउल्टो गरिरहेको बताए । उनले कुलमानलाई हटाउनु ओली प्रवृत्ति भएको भन्दै कुशासन र सुशासनको लडाई भइरहेको बताए ।
प्रचण्डले गणतन्त्र र शान्ति सम्झौतामा सँगै हिँडेका दलहरूलाई छातीमा हात राखेर आत्मसमीक्षा गर्न सुझाव दिए । ‘म यो मञ्चबाट फेरि पनि आत्मसमीक्षा गर्न, हामी कहाँ पुगियो ? जनतामा किन आक्रोश पैदा भएको छ ? र आफूलाई लोकतान्त्रिक मूल्यमान्यतातिर फर्कन आह्वान गर्दछु ।’
काठमाडौँ । शुक्रबार तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन् । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् ।
प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो । यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए ।
उनीहरुले सम्बोधन गर्ने तय भएपन एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो । यससँगै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने भएपनि राजावादी नेतृत्व तयहका नेताहरुले मैदान छाडे । त्यसपछि आन्दोलनकारी नेतृत्वहीन बन्न पुगेर झडप थप उग्र बन्न पुगेको एक प्रत्यक्षदर्शीले बताए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले एमाले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गरेको बताएकी छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकारले भ्रष्टाचारी र कालो बजारीयालाई संरक्षण र संविधान कार्यान्वयनको विपक्षमा गतिविधि गरिरहेको बताएकी हुन् ।
‘अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्’, भुसालले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाउ ।’ उनले सरकारको काम कारबाहीबाट जनता आक्रोशित बनेको र यही रवैयाका कारण यतिवेला मुलुकमा पूर्व दरवारीया र पूर्व पञ्चहरू सल्वलाउन पुगेको बताइन् ।
नेतृ भुसालले लाखौँ नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र र संविधानविपरित राजतन्त्र फर्कने र जनता रैती बन्न तयार नरहेको दाबी गरिन् । उनले पूर्वराजालाई दल खोलेर राजनीतिमा आउन चुनौती समेत दिइन् ।
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनसभा सम्पन्न गरेको छ । ‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ !’ भन्ने नाराका साथ मोर्चाले जनसभाको गरेको हो ।
जनासभाअघि, विभिन्न स्थानबाट र्यालीसहित मोर्चाका नेता–कार्यकर्ता प्रदर्शनीमार्गस्थित कार्यक्रम स्थलमा पुगेका थिए ।