बलात्कारपछि किशोरीको हत्यामा संलग्न आफन्त नै, ‘टाइगर’ले पत्ता लगायो हत्यारा !
सारांश
- सिन्धुपाल्चोकमा १६ वर्षीया किशोरीको हत्या उनकै आफन्तहरूबाट भएको पुष्टि भएको छ।
- प्रहरी अनुसन्धानले घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको छ, जसमा बलात्कार र हत्याको आरोप लागेको छ।
- घटनास्थलमा कुकुरको प्रयोग र अभियुक्तको बयानले घटनाको रहस्य खोलेको थियो, जसले सामूहिक बलात्कार र हत्याको पुष्टि गर्यो।
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्या उनकै आफन्तहरूबाट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।
असार १० मा राति ९ बजेतिर घरबाट बोलाएर आरोपीहरूले घरभन्दा ४ सय मिटर माथिको मकैबारीमा बलात्कार गरेर हत्या गरेका हुन् । हत्या गरेपछि छ्यादिखोला जङ्गलमा भिरालो ठाउँबाट शव फ्याकेर आरोपीहरू घर फर्केको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
परिवारका सदस्यहरूले निशाको शव भिरमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरे । सिन्धुपाल्चोकका एसपी कार्कीले अनुसन्धानमा सहयोग लिन काठमाडौँबाट कुकुर झिकाए । कुकुर घटनास्थलमा पुगुन्जेलसम्म हत्यामा संलग्नहरू घटनास्थल वरिपरि घुमिरहे । हत्यामा संलग्न मध्येका निमा तेन्जिङ तामाङले अनुसन्धान अधिकृतहरूलाई हत्या गरिएको मकैबारी र शव फ्याकेको ठाउँ देखाउँदै भने, ‘मकैबारीमा हत्या गरेर भिरबाट फालेको हुनुपर्छ ।’
घटनाको ‘काल्पनिक व्याख्या’ गरेपछि अनुसन्धान अधिकृतहरूले उनलाई शङ्का गरेर निगरानी गरिरहे । काठमाडौँबाट कुकुर झिकाएपछि निमाले घरबाट कपडा फेरेर निस्किए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘तालिम प्राप्त कुकुर मगाएपछि निमा कपडा फेरेर निस्किए ।’
नेपाल प्रहरी केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेत दुई वटा तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगे । तालिम प्राप्त ‘टाइगर’ र ‘रोज’लाई सिन्धुपाल्चोक पठाइएको केनाइन कार्यालयका एसपी डा. रामचन्द्र सत्यालले रातोपाटीलाई बताए ।
जर्मन सेफर्ड जातको टाइगर निमाको घर वरिपरि घुम्न थाल्यो । उनलाई गाउँमा नविन भनेर चिन्छन् । निमाले अघिल्लो रात लगाएको कपडा घरको एउटा कुनामा राखेका रहेछन् । त्यसपछि अनुसन्धान अधिकृतहरूले निमालाई पक्राउ गरे । त्यसअघि घटनाको काल्पनिक व्याख्या गर्ने निमाले वास्तविकता खुलाउँदै भने, ‘५ जना मिलेर हत्या गरेका हौँ ।’
निशाको हत्यामा संलग्न आरोपीलाई सङ्केत गर्ने ‘टाइगर’ ३ वर्ष देखी अपराध अनुसन्धानमा संलग्न छ । निमाको बयानको आधारमा अरू ४ जनालाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
मृतक किशोरी पदम बहादुरकी छोरी हुन् । हत्यामा संलग्न आरोपीहरू उनका आफन्त पर्छन् । अनुसन्धानमा संलग्न अधिकृतहरू भन्छन्, ‘निमा सबैभन्दा नजिकको आफन्त पर्छन् ।’
मृतको घरभन्दा केही तल मार्मिङमा उनीहरूको घर छ । गाउँको विद्यालय नजिकै खानेपानी आयोजनाको काम गरेर साँझ ४ जना पदमको घरमा पुग्छन् । नामग्याल शेर्पाले आफ्नो मोबाइल चार्ज गर्न भनेर निशालाई दिन्छन् । घरमा निशाकी दिदी रिया र भिनाजु थिए । बुवा पदम घरमा थिएनन् ।
मोबाइल दिँदै नामग्यालले भनेका थिए, ‘चार्ज गरेर टिकटक हेर्नु ।’ गाउँमा बिजुली थिएन । तर, पदम बहादुरको घरमा चार्ज गर्ने ब्याट्री थियो । मदिरा सेवन गरेपछि आरोपी दावा तामाङ आएर निशालाई बोलाएर घटनास्थलमा लगेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘माथिसम्म जाउँ भनेर बोलाएर लगेको दावाले स्वीकार गरेका छन् ।’
तिनै दावाले सुरुमा किशोरीलाई बलात्कार गरे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘त्यसपछि घाँटी थिचेर हत्या गरेको देखिन्छ ।’ घाँटीमा सल पनि बेरेको भेटिएको छ ।
किशोरीको बाहिरी कपडा मकैबारीमा र केही पर भित्री कपडा भेटिएको छ । मृतक कक्षा ७ मा मार्मिङ माबिमा पढ्दै थिइन् ।
उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको छ । आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण