मेडिकलको आवरणमा हतियार ‘किनबेच’
सारांश
- काठमाडौंको पिंगलास्थानमा रहेको एक मेडिकलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा दाजुभाइ सुरेशकुमार राम र दिनेशकुमार राम छन्, जसले मेडिकल दर्ता नगरी सञ्चालन गरेका थिए।
- प्रहरीले उनीहरूको डेराबाट पेस्तोल र म्यागजिन बरामद गरेको छ, र उनीहरूले हतियार किनबेच गर्ने आशंका छ।
काठमाडौँ । काठमाडौँको पिंगलास्थानस्थित तिलगंगा आँखा अस्पताल नजिकै एउटा मेडिकल छ, ‘गान्धिर मेडिकल ।’ मेडिकल बाहिर बोर्ड राखिएको छ, ‘औषधी पसल ।’ सो औषधी पसलका संचालकद्वय सुरेशकुमार राम र दिनेशकुमार राम असार १६ मा पक्राउ परे । प्रहरी वृत्त गौशालाबाट खटिएको सादा पोसाकको टोलीले उनीहरूको साथबाट एक थान चिनियाँ पेस्तोल र दुई थान म्यागजिन बरामद गरेको हो ।
महोत्तरी घर भएका आरोपीद्वय २९ वर्षीय सुरेशकुमार राम र २५ वर्षीय दिनेशकुमार राम सहोदर दाजुभाइ हुन् । उनीहरूले सञ्चालन गरेको औषधी पसल दर्ता नै नरहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘सो फार्मेसी औषधी व्यवस्था विभागमा दर्ता नै नगरीकन सञ्चालन गरेको भेटिएको छ ।’
दाइ सुरेशकुमार रामले आफूलाई मेडिकलको विद्यार्थी भएको प्रहरीलाई बताएका छन् । औषधी पसलमा बस्दै आएका दिनेशकुमार रामले चाहिँ फार्मेसी पढेका होइनन् । दिनेशले ओभरसियर पढेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
फार्मेसीभन्दा पछाडि उनीहरू बस्ने डेरामा किटक्याटको बट्टाभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको थियो । सो पेस्तोल भाइ दिनेशले भारतबाट ल्याएको प्रहरीको आशङ्का छ । उनी एक महिनाअघि भारत गएर फर्केको खुलेको छ । तर, दुवै दाजुभाइले प्रहरीसँग भनेका छन्, ‘पेस्तोल हाम्रो होइन ।’
पेस्तोलसहित उनीहरूको डेरामा रेडियो सेट पनि भेटिएको छ । उनीहरूले गान्धिर यादवसँग मिलेर मेडिकल सञ्चालन गरेको र पेस्तोल उनैले ल्याएको हुनसक्ने प्रहरीलाई बताएका छन् । मधेस प्रदेश घर भएका गान्धिर अहिले जापानमा छन् । जापान जानुअघि सँगै बस्ने गान्धिरलाई दोष लगाएर उनीहरू पन्छिन खोलेका छन् । अर्को मानिसलाई बेच्ने उद्देश्यले उनीहरूले पेस्तोल खाटमुनी लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
फार्मेसीको आवरणमा उनीहरूले हतियार ‘किनबेच’ को काम गर्ने गरेको अनुसन्धान अधिकृतहरू आशङ्का गर्छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘उनीहरूले यसअघि पनि हतियारको काम गरेको हाम्रो आशङ्का छ, हामी अनुसन्धान गर्दैछौँ ।’
गौशाला प्रहरीले यसअघि जेठ २९ मा चाबहिलस्थित गोपीकृष्ण हल नजिकैको औषधी पसलमा छापा मारेर अवैध औषधी र सञ्चालकलाई पक्राउ गरेको थियो । गोपीकृष्ण हलसँगै सञ्चालित ‘यु डाक्टर सर्भिस’ दर्ता बिना नै सञ्चालन गरेको भेटिएको थियो । त्यसबेला पक्राउ परेकी आरती जैसवाल सहित दुई जनालाई औषधी व्यवस्था विभागले कारबाही नै नगरी रिहा गरेको छ ।
‘यु डाक्टर सर्भिस’ मा औषधीबारे जनकारी नै नभएको व्यक्तिलाई औषधी बेच्ने जिम्मा दिएर राखेको र चिकित्सकको सिफारिस बिनाको औषधी बेचेको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण